• मिकाइल आलम

भण्टाबारी/ ‘लकडाउन गरिएको लामो समय हुँदा यस्तो अवस्थामा हामी खेलाडीलाई दिन बिताउन निकै गाह्रो भयो अभ्यास गर्न पाइएको छैन । जसका कारण फिटनेस लेभल मेण्टेन गर्न असमर्थ छु । यो वर्ष क्षेत्रीयदेखि राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने तालिका थियो । तर, कोरोनाको प्रभावले सबै चौपट छ’ इनरुवाका क्रिकेट खेलाडी सरोज बस्नेतले भने । उनले भनेजस्तै आम खेलाडीका खेलतालिका र अभ्यास कोरोना भाइरस (कोभिड–१९) को प्रभावका कारण भएको लकडाउनबाट प्रभावित छन् । रोग सर्ने डरले न त खेलाडीले खेल्न पाए, न त नगरपालिकाले बजेट नै खर्च गर्न सक्यो ?

हाल लकडाउन अलिक खुकुलो हुँदा अन्य गतिविधि सञ्चालनमा आए पनि खेलकुद ठप्पै छ । खेल र खेलाडीमा मात्र सीमित नभई दर्शकको समेत उपस्थिति रहने हुँदा त्यसबाट सङ्क्रमितको सङ्ख्या बढ्ने खतरा त्यतिकै रहन्छ । त्यसैले सरकारले खेलकुद गतिविधि गर्ने अनुमति दिएको छैन । सधैँ व्यस्त रहने खेलाडीहरू कोरोना भाइरसका कारण प्रतियोगिता तथा अभ्यास गर्न नपाउँदा खेउनीहरूको खेल जीवनदेखि पारिवारिक जीवनसमेत प्रभावित भएको छ ।

खेलकुदको माध्यमबाट इनरुवालाई चिनाउन इनरुवा नगरपालिकाले पछिल्लो तीन वर्षयता निकै राम्रा योजनाहरू ल्याएको छ । राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू इनरुवामै ल्याएर खेलकुदमार्फत् इनरुवाको थप नयाँ परिचय निर्माण र दक्ष खेलाडी उत्पादन गर्ने नगरको सपना पनि अब चकनाचुर भएको छ । स्थानीयस्तरबाट प्रदेश हुँदै राष्ट्र तथा अन्तर्राष्ट्रियस्तरमा इनरुवालाई चिनाउन खेलकुद निकै महत्वपूर्ण रहेको मेयर राजन मेहताको कथन छ ।

तर, पनि अहिलेको अवस्थामा इनरुवामा क्रिकेट अभ्यासको लागि नेट बक्स र नयाँ खेलाडीलाई आकर्षित गर्ने तथा खेलिरहेका खेलाडीलाई प्रोत्साहित गर्ने अनि पुराना खेलाडीलाई सम्मान गर्नेखालका कुनै पनि गतिविधि भएको पाइँदैन । इनरुवामा ठूला–ठूला प्रतियोगिता गरेर खेलाडी लाई प्लेटर्फमको वातावरण बनाइदिँदै गर्दा खेलाडी उत्पादनको लागि भौतिक पूर्वाधारमा पनि ध्यान दिनुपर्छ । कोरोना सङ्क्रमणको डरले खेलकुद नहुँदा सामाजिक सञ्जालमा दिन बिताइरहेका छन् खेलाडीहरूले । लकडाउनको प्रभावले आजित भएका क्रिकेट खेलाडी सोनु मण्डल भन्छन्, ‘न त कुनै खेलतालिकालाई पछ्याउनु पर्ने बाध्यता, न त खेल्नु पर्ने नै, बरु दिन कसरी बिताउने भन्ने समस्याले सताएको छ ।’

खेलकुदमा उदाउँदो इनरुवा
केहीवर्ष अघिसम्म इनरुवामा खासै खेलकुद प्रतियोगिता आयोजना हुँदैनथ्यो । वर्षमा एक–दुईपटक जिल्ला छनोट तथा कहिलेकाहीँ विद्यालयस्तरीय केही सीमित प्रतियोगिताबाहेक अरू प्रतियोगिता नहँुदा खेलाडीहरू निराश हुने गर्थे । महिनौंसम्म अभ्यास गरिए पनि आफूभित्र भएका प्रतिभा देखाउन नपाउँदा खेलाडीहरू निराश हुनु स्वभाविकै थियो ।

पुरानो नगरपालिका र जिल्लाको सदरमुकाम भए पनि इनरुवा नगर क्षेत्रमा खेलकुदको गतिविधि तीनवर्ष अगाडिसम्म शून्यप्रायः थियो । तर, हिजोआज भने अवस्था फरक छ । खेलकुद क्षेत्रको कथा बेग्लै छ । स्थानीय तह निर्वाचनदेखि इनरुवा नगरपालिकाको प्रत्यक्ष योजना, सहयोग र सहकार्यमा विभिन्न खेलका प्रतियोगिता हुने क्रम बढेको छ । फुटबलको प्रदेशस्तरीय प्रतियोगिता, क्रिकेटको प्रदेशस्तरीय प्रतियोगिता र सम्भवतः नेपाली क्रिकेट इतिहासमै पहिलोपटक रात्रिकालीन क्रिकेट प्रतियोगिता, गिरिजाप्रसाद स्मृति गोल्डकप, प्रदेशस्तरीय भलिबल जस्ता खेलकुद प्रतियोगिता इनरुवामा सफलतापूर्वक सम्पन्न भएका छन् । इनरुवा नगरक्षेत्रमा निष्क्रिय अवस्थामा रहेको बुद्धिचाल प्रतियोगिता पनि नगरपालिकाको सहयोग र सहकार्यमा सम्पन्न भए भने प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड, फुटबल, क्रिकेट, तेक्वान्दो, भलिबलसहितका नगर र वडास्तरीय प्रतियोगिताहरू उल्लेख्य मात्रामा सञ्चालन हुँदै आएका छन् ।

इनरुवामा खेलकुदका कार्यक्रम एकपछि अर्को चरणबद्ध रूपमा गर्न नगरपालिका र खेलाडीहरूलाई धौ–धौ परिरहेको थियो कोरोना कहरभन्दा पहिले । विगतको खेलकुदलाई सम्झँदा पनि खेलाडीको आङ नै सिरिङ्ग हुने अवस्था कोरोना कहरले खेलकुद क्षेत्रमा सिर्जना गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रतिनिधित्व गरिरहेका अधिकांश खेलाडीको सहभागितामा ५० ओभरको राष्ट्रियस्तरको मनमोहन मेमोरियल क्रिकेट प्रतियोगिता आयोजना भएको थियो भने नयाँ संरचनामा १० ओभरको डे र नाइट क्रिकेट प्रतियोगितासमेत सम्पन्न भयो । इनरुवा नगरपालिकाले खेलकुद क्षेत्रमा हालसम्म ७ करोड रुपैयाँ खर्च गरेको जनाएको छ ।

खेलकुद प्रतियोगिता मात्रै नभई इनरुवा नगरक्षेत्रमा खेलकुद पूर्वाधारमा समेत पहिलाको तुलनामा विकास र विस्तार हुँदै गएको छ । इनरुवा–१ स्थित जेलफिल्डमा कभर्डहल निर्माणको कार्य सकिएको छ भने साविक मधेशामा अर्काे बहुउद्देश्यीय कभर्डहल निर्माणको क्रममा रहेको इनरुवा नगरपालिकाका सूचना अधिकारी निरज पोखरेलले बताए । पोखरेलका अनुसार इनरुवा नगरपालिका वडा नं. ८ मा खेलकुद परिषद्को सहयोगमा खेलकुद ग्राम निर्माणकै क्रममा छ । एक वर्षअगाडि शिलान्यास गरिएको उक्त खेलकुद ग्राम बनेपछि धेरै खेलका खेलाडीहरूले एकैपटक अभ्यास गर्न पाउनेछन् । इनरुवामा निर्माण गरिएका नगर खेलकुद सञ्चालन तथा व्यवस्थापन समितिको भवनसमेत बनिसकेको छ । ‘प्रशस्त पूर्वाधार त बन्दैछन् तर खेल्न पाउने कुरा नै अब त सपनाजस्तो हुन लाग्यो’–इनरुवा नगरपालिका वडानम्बर ९ बबिया निवासी फुटबल खेलाडी सहिद आलम दुःखेसो गर्छन् ।

खेलकुदलाई प्रोत्साहन र व्यावसायीकरण गर्दै खेलाडी उत्पादन गर्न नियमित प्रतियोगिता हुनु आवश्यक भएको मनमोहन क्रिकेट सेण्टर प्रदेश नम्बर १ का अध्यक्ष विप्लव घोष बताउँछन् । नियमित प्रतियोगिताले खेलाडीभित्र भएका प्रतिभा बाहिर आउने उनको बुझाइ छ । बाटोघाटो, अस्पताल, यातायातको विकास मात्रै भएर समग्र विकास सम्भव नभएको इनरुवाका मेयर मेहताको भनाइ छ । खेलकुद, स्वास्थ्य र राष्ट्रकै लागि गहना समान भएकोले खेलकुदको विकासमा लागिपरेको नगरप्रमुख मेहता बताउँछन् । विभिन्न खेलकुदका प्रतियोगिताहरू सञ्चालन हुनु सकारात्मक भए पनि यसलाई बृहत् योजना बनाएर सम्भावनायुक्त खेलहरूको खोजी र प्रशिक्षक नियुक्त गरी नियमित प्रशिक्षण आवश्यक रहेको क्रिकेट प्रशिक्षक ताहिर हुसेन बताउँछन् ।

इनरुवा नगरपालिकाले प्रत्येक वर्ष वैशाखदेखि असार मसान्तसम्म क्रिकेट, फुटबल, भलिबलसहित एक दर्जन खेलकुद प्रतियोगिता आयोजना गर्दथ्यो । तर, कोभिड–१९ का कारण सबै खेलकुद प्रतियोगिता स्थगित भए यसपटक । आर्थिक वर्ष २०७६÷७७ मा खेलकुद क्षेत्रका लागि विनियोजन गरिएको करिब एक करोड रुपैयाँ गरिब, विपन्न तथा पिछडिएका वर्गलाई राहत वितरण गर्न, क्वारेण्टाइन व्यवस्थापन गर्न खर्च गरिएको इनरुवा नगरपालिकाको लेखा शाखाका प्रमुख अशोक मेहताले बताए । इनरुवामा खेलकुद प्रतियोगिताहरू नहुँदा १ सय ५० देखि २ सय खेलाडीसँगै दुई दर्जन प्रशिक्षक प्रभावित भए ।

खेल छाडेर वैदेशिक रोजगारमा
लकडाउनको अवधिमा खेलकुद प्रतियोगिता नहुँदा खेलाडीहरू बेरोजगार भए । जसका कारण खेलकुदमै जीवन व्यतित गर्न चाहेका खेलाडीहरूमा समाजिक तथा मनोवैज्ञानिक असर देखा पर्न थाल्यो । आगामी दिनमा खस्किएको इनरुवाको खेलकुदलाई माथि उठाउन स्थानीय निजी क्षेत्र र सामुदायिक सङ्घ–संस्था र निकायहरूसँग सहकार्य गर्नुपर्ने आवश्यकता रहेको खेलाडी बस्नेत बताउँछन् । नियमित प्रतियोगिता हुँदा आर्थिक समस्या नभए पनि लकडाउनको अवधिमा घरखर्च धान्न समस्या भएको फुटबल खेलाडी आलमको भनाइ छ ।

‘चारमहिना भयो कुनै प्रतियोगिता नखेलेको’ उनले भने, ‘नियमितरूपमा खेल खेल्दा केही न केही रुपैयाँ आउँथ्यो, जसले गर्दा घरपरिवार पाल्न सहज हुन्थ्यो तर, लकडाउनमा समस्या थपिएको छ । ऋण काढेर घरखर्च चलाएको छु ।’ एउटा खेलाडीका रूपमा समाजमा पहिचान बनाइसकेको हुँदा अन्य कामकाज गर्नसमेत असहज महसुस भएको आलम बताउँछन् । खेल क्षेत्रमा लागेर जीवन धान्न नसकिने भन्दै कतिपय राम्रा खेलाडीहरू वैदेशिक रोजगारीमा गएको र कतिपय जाने मनस्थिति बनाइसकेको बस्नेतको कथन छ । खेल क्षेत्रमै लागेर देशलाई चिनाउने प्रयत्नमा लागे पनि लकडाउनका कारण खेलकुद प्रतियोगिता नहुँदा र नियमित अभ्यास गर्न नपाउँदा खेलाडीहरूमा पारिवारिक, सामाजिक तथा मानसिक तनाव थपिएको तेक्वान्दो खेलाडी अनु राईको भनाइ छ ।

आगामी योजना
खेलाडीहरूलाई पनि यो समस्याबाट निकास चाहिएको छ तर उनीहरू खुलेर समस्या भन्न सक्दैनन् तर आफूहरू खेलाडीका समस्या बुझेर खेलप्रति जिम्मेवार हुँदै परिस्थिति सहज हुने बित्तिकै खेलकुद प्रतियोगिताका साथै खेलाडीहरूलाई शारीरिक र मानसिक रूपमा तयार गर्ने योजना ल्याउने मेयर मेहता बताउँछन् । लामो समयसम्म खेलकुद गतिविधि नहुँदा र घरमै बस्नुपर्दा खेलाडीमा मनोवैज्ञानिक असर देखिएको बारेमा आफू जानकार रहेको भन्दै मेहताले भने, ‘त्यस्ता समस्या निराकरण गर्न योजना बनाउँदै छु ।’

खेलकुदको विकासको बारेमा आफू पनि चिन्तित रहेको बताउँदै खेलकुदमा सोचेजस्तो रातारात परिवर्तन नहुने तर अहिले गरेको लगानीको भविष्यमा राम्रो प्रतिफल आउनेमा आशावादी बन्न आग्रह गर्छन् । ‘कुनै पनि देशले एकैपटकमा वल्र्डकप नै जित्छ भन्ने हुँदैन’ मेहताले भने, ‘क्रिकेटको जन्मदाता देश इङ्ल्याण्डलाई त वल्र्डकप ट्रफी जित्न ५ दशक लाग्यो, हामीले त भर्खरै शुरुवात गरेका हौं ।’ निराशालाई आशामा परिणत गरेर सकारात्मक सोच्दै घरमै भए पनि नियमित व्यायाम र खेलको बारेमा चिन्तित होइन, चिन्तन गरेर यो सङ्कटको समय बिताउन मेयर मेहताको खेलाडीलाई आग्रह छ ।

khel1