धरान । धरान–२० को कार्कीछाप कालीखोला सामुदायिक वन क्षेत्र अतिक्रमण गरी वर्षौदेखि केही मानिसले घर र गाईको गोठ बनाएको खुलेको छ ।

dharan-20-ban-atikraman2

वन क्षेत्रको झण्डै ५ कठ्ठा जमिन अतिक्रमण गरेर धरान–१६ मा स्थायी घर भएका ४ परिवारले घरटहरा र गाई गोठ बनाएको खुलेको हो । जंगलभित्र टहरा र गाई गोठ बनाएको पाइएपछि धरान तीनकुनेस्थित सेक्टर वन कार्यालयले सम्बन्धित सामुदायिक वनलाई पत्राचार गरेको थियो । त्यस्तै १५ दिनभित्र घरटहरा र गाई गोठ खाली गर्नु भन्दै घर टहरा बनाउने र गाई गोठ भएका व्यक्तिलाई सूचना जारी गरेको थियो । वैशाख २६ गते जारी गरेको सूचनाको हिजो (शुक्रबार) म्याद सकिएको छ । 

केही घर टहरा बनाउनेहरूले भने टहरा भत्काइरहेका छन् । जमिन अतिक्रमण गरेर उनीहरूले मकै लगाएका छन् । अतिक्रमण गरी बुद्धिमान तामाङ र छोरा दर्वसिंह तामाङ, दिलबहादुर राई र निमा दोर्जे तामाङले घरटहरा बनाएका हुन् । त्यसमध्ये बुद्धिमान र छोरा दर्वसिंहले घर भत्काउँदै गरेको पाइएको छ भने दिलबहादुर राई र निमा दोर्जेको भने घरटहरासहित गाई गोठ हालसम्म भत्काइएका छैन । ब्लाष्ट संवाददता त्यसक्षेत्रमा पुग्दा बुद्धिमानले घर भत्काइरहेको पाइएको थियो । गाई गोठ भने हालसम्म भत्किएको छैन । वीरबहादुरको घर धरान–१६ मा पनि पर्छ । उनले व्यवस्थित तरिकाले गाई गोठ वर्षौदेखि सञ्चालनमा ल्याइरहेका थिए । वनले वन ऐन २०५६ दफा ४९ खण्ड ‘ग’ र वन नियमावली २०५१ नियम ३१ को ख, ग र घ अनुसार अतिक्रमित क्षेत्र हटाउनको निर्देशन गरेको हो । 

dharan-20-ban-atikraman3

२०५६ सालदेखि नै संरक्षित गरिए पनि जिल्ला वन कार्यालयले २०७३ सालमा मात्रै सामुदायिक वनको रूपमा हस्तान्तरण गरेको वनका अध्यक्ष सम्फर तामाङले जानकारी दिए । ‘हामीले धेरैचोटि यो हटाउनुस् भनेर भन्यौ, हामीलाई टेर्दै टेरेनन्’ उनले फोनसम्पर्कमा भने, ‘उहिल्यैदेखि भोगचलन गरेको भन्दै अडान लिए ।’ उनका अनुसार सामुदायिक वनले पनि अतिक्रमण नगर्न भन्दै विभिन्न मितिमा पत्राचार गरिएको जानकारी दिए । तर, नटेरेपछि भने सेक्टर वन कार्यालय मातहत रहेको विष्णुपादुका सव डिभिजन कार्यालयले हटाउनका लागि सूचना जाहेर गरेको थियो । 

उक्त सूचना धरान उपमहागनरपालिका, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, धरान–१६ नम्बर वडा कार्यालय, धरान २० नम्बर वडा कार्यालय, सामुदायिक वन र इलाका प्रहरी कार्यालयमा बोदार्ध दिएको थियो । ‘अतिक्रमण गरेर गाई गोठ र टहरा बनाएको पाइएपछि पन्ध्रदिने सूचना जाहेर गरेका थियौं, त्यसको म्याद हिजो सकियो’ विष्णुपादुका सव डिभिजनका प्रमुख तथा रेञ्जर ईश्वरी बाँस्तोलाले भने, ‘केही घरहरू भत्काउन थालेका छन्, केही अझै अटेर गरेको पाइएको छ । सूचना पाउनुभयो, ख्याल गर्नुहोला भनेर भनिसकेका छौं । अटेर गरे प्रशासन लगाएर हटाउने छौं ।’

dharan-20-ban-atikraman

वन भित्र बनेकाे घर (राताे घेरामा) ।

तीन जना घर परिवारले ६ वटा टहरा बनाएका थिए । र, मकै पनि छरेका छन् । वीरबहादुरले तीन वटा गाई त्यसक्षेत्रमा पालेका छन् । यो वन २०५९ सालमा सामुदायिक वनको विधान बनेपछि नै स्थानीयले संरक्षित गर्दै आइरहेका थिए ।