धरान । धरानमा शुक्रबार राति मेड इन क्यानडा लेखिएको ‘१२ बोर बन्दुक’ धरौटमा लिने झापाका अर्जुनधारा नगरपालिका–७ स्थायी घर भएका धरान–११ मा डेरा गरी बस्ने प्रक्षितजङ्ग क्षेत्रीको ‘ब्याकराउण्ड हिस्ट्री’ धरान प्रहरीले खोतल्न थालेको छ ।

आइतबार सात दिनको म्याद थप गरिएका प्रक्षितजङ्गसहित धरान–१३ मा मुलुकसिंह लिम्बूले के कति कारणले धरौटमा राखेको र के कति कारणले लिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मुलुकसिंहले जम्मा १५ हजार रुपैयाँमा धरौट (ज्याकेटी) मा राखेका थिए । हालसम्मको अनुसन्धानमा धरौटमा लिने प्रक्षितजङ्ग सामान्य रूपमा डेरा गरी बस्ने मात्रै रहेको खुलेको छ । बयान लिने क्रममा काम गर्ने गरेको बताए पनि कामको प्रकृतिबारे यथेष्ट जानकारी नआएको एक प्रहरी अधिकारी बताउँछन् ।

प्रक्षितजङ्ग के गर्थे, उनको पारिवारिक पृष्ठभूमि के हो ? भन्ने विषयमा जानकारी लिने काम भइरहेको ती अधिकारीले जानकारी दिए । धरौटमा राख्ने मुलुकसिंहलाई काठमाडौंबाट फर्किने क्रममा चिनजान भएको प्रक्षितजङ्गले बयान दिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । मुलुकसिंहलाई पैसाको खाँचो परेका कारणले बन्दुक धरौटमा लिएको भनेर बयान दिएको डिएसपी न्यौपानेले बताए । मुलुकसिंह बेलायत आर्मीमा लागे पनि बीचमै जागिर छाडेर नेपाल आएका व्यक्ति हुन् । उनी बुबाआमासँग छुटिएर एक्लै बस्दै आएका थिए । उनी लागूऔषध दुव्र्यसनीमा फसेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । हालसम्म पनि प्रक्षितजङ्गको विगतको हिस्ट्री खुल्न सकेको छैन ।

हाल प्रक्षितजङ्गले धरौटमा लिएको बन्दुक र मुलुकसिंहको घरबाट नियन्त्रणमा लिइएको पोइन्ट टु टु राइफल, सोमा प्रयोग हुने म्यागजिन १ थान र २ राउण्ड गोली इजाजतप्राप्त हतियार हो÷होइन भन्ने विषयमा पनि छानबिन भइरहेको छ । इजाजतप्राप्त (लाइसेन्स) हतियार भए पनि कसैलाई धरौटमा दिन मिल्ने नेपालमा कानून बनेको छैन । कानूनी प्रक्रिया पु¥याएर बिक्री गर्न सक्ने व्यवस्था गरेको भए पनि कसैलाई धरौटमा लिने–दिने कानूनले व्यवस्था नरहेकाले उनीहरू कानूनका नजरमा आरोपित रहेको डिएसपी न्यौपाने बताउँछन् ।

मुलुकी अपराध (संहिता) २०७४ को परिच्छेद–६ को दफा १३२ (१) मा ‘कसैले कानून बमोजिम प्राप्त गर्न, राख्न, भण्डारण गर्न, प्रयोग गर्न वा लिएर हिँड्न सकिने हातहतियार इजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र प्राप्त गरेको भए पनि इजाजत पत्रको शर्त वा बन्देज विपरीत हुने गरी प्राप्त गर्न, राख्न, भण्डारण गर्न, प्रयोग गर्न वा लिएर हिँड्न हुँदैन’ भनेर स्पष्टसँग लेखेको छ ।