धरान । धरान–११ बाट धरान प्रहरीले दुई जनालाई मेड इन क्यानडा लेखिएको एक थान बन्दुक, राइफल र त्यसमा लाग्ने गोली बरामद गरेको छ ।
शुक्रबार राति ९ बजेको समयमा धरान–११ को एक घरमा डेरा गरी बस्ने झापा अर्जुनधारा–७ स्थायी घर भएका प्रक्षितजङ्ग क्षेत्री र धरान–१३ का मुलुकसिंह लिम्बूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्याैपानेले जानकारी दिए ।
क्षेत्रीको कोठाबाट मेड इन क्यानडा लेखिएको १२ बोर बन्दुक १ थान फेला परेको थियो । उक्त बन्दुर मुलुकसिंहको रहेको खुलेकाले उनको कोठामा पनि तलासी लिँदा दशमलव २२ लङ राइफल र सोमा प्रयोग हुने म्यागजिन १ थान र २ राउण्ड गाेली बरामद गरेको हो । पक्राउ गरिएका उनीहरूलाई अनुसन्धान गरी आइतबार म्याद थप गरिएको छ । उनीहरूलाई मुलुकी अपराध संहित ऐन २०७४ को परिच्छेद ६ को दफा १३२ (१) अनुसार हातहतियार तथा खरखजानासम्बन्धी कसूरमा म्याद थप गरिएको डिएसपी न्याैपानेले जानकारी दिए ।
एक स्रोतका अनुसार मुलुकसिंहले मेड इन क्यानडा लेखिएको १२ बोर बन्दुक १५ हजार रुपैयाँमा बन्धकी राखेका थिए । लाइसेन्स प्राप्त हतियार भए पनि बन्धकी लगाएका कारणले उनलाई पनि पक्राउ गरिएको हो । अपराध संहिताकाे परिच्छेद ६ काे दफा १३२ काे १ मा 'कसैले कानून बमाेजिम प्राप्त गर्न, राख्न, भण्डारण गर्न, प्रयाेग गर्न वा लिएर हिँड्न सकिने हातहतियार इजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र प्राप्त गरेकाे भए पनि इजाजत पत्रकाे शर्त वा बन्देज विपरीत हुने गरी प्राप्त गर्न, राख्न, भण्डारण गर्न, प्रयाेग गर्न वा लिएर हिँड्न हुँदैन' भनेर स्पष्टसँग लेखेकाे छ ।
साेही दफाकाे उपदफा २ मा उपदफा (१) बमाेजिमका कसूर गर्ने वा गराउने व्यक्तिलाइ पाँच वर्षसम्म् कैद र पचास हजार रूपैयाँसम्म जरिवाना हुनेछ ।
४० वर्षीय मुलुकसिंह बेलायत सेनामा पनि केही समय कार्यरत रहेर फर्किएका व्यक्ति हुन् । उनी पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा समेत फसेको एक जानकार बताउँछन् । सोही कारण नै उनले १५ हजार रुपैयाँमा बन्धकी राखेको हुन सक्ने अनुमान गरिएको छ ।