धरान । धनकुटाको साँगुरीगढी–६ स्थित तीन वटा सामुदायिक वनमा लागेको डढेला नियन्त्रणमा लिनका लागि ‘फायरलाइन’ निर्माणका कारण नियन्त्रणमा अाएकाे छ । 

तीन दिनको अथक प्रयासपछि डढेलो नियन्त्रणमा लिइएको थियो । त्यसका लागि फायरलाइन एकमात्रै विकल्प बनेको थियो । जङ्गल क्षेत्रमा फायरलाइन आगो नियन्त्रणमा लिनकै लागि निर्माण गरिने गरिएको छ । ‘फायरलाइनको मुख्य उद्देश्य भनेकै जंगलमा आगो लाग्न नदिने हो’, वन कार्यालयका सहायक वन अधिकृत ज्ञानकुमार लामा भन्छन्, ‘कम्तीमा फायरलाइन १५ फिटको दूरी बीच बनाउनुपर्छ । पातहरु सधै सफा राख्नुपर्छ । आगो लाग्दै आउँदा त्यहाँबाट अर्को ब्लकमा जान नपाओस् भनेर नै फायरलाइन बनाइन्छ ।’

फायरलाइनको मद्दतले नै तीन दिनदेखि लागेको भीषण डढेलोलाई नियन्त्रणमा लिन सफल भएको छ । पाथीभरा वन उपभोक्ता समूहका अध्यक्ष भूवनबहादुर लिम्बू भन्छन्, ‘तीन दिनको अथक प्रयासपछि बल्ल नियन्त्रणमा लिन सफल भयौं । फायरलाइन नबनाएको भए अझै पनि नियन्त्रणमा लिन सकिँदैनथ्यो ।’ फायरलाइन कम्तीमा पनि ४ हेक्टरको फरकमा गरी बनाउने प्रावधान छ ।

फायरलाइनको अर्को उद्देश्य भनेको बारुणयन्त्र प्रवेशका लागि पनि हो । आगो लागेको खण्डमा बारुणयन्त्र सहज रूपमा प्रवेश गर्न सकोस् भनेर १५ फिटको बनाउनुपर्छ भन्ने रहेको लामा बताउँछन् । ‘कहिलेकाहीँ काउन्टर फायर गरेर पनि जोगाउन सकिन्छ’–उनले भने । काउन्टर फायरको अर्थ आगो फैलिँदै गरेको क्षेत्रतर्फ अर्कोतर्फबाट आगो लगाउने कार्य हो । जसले गर्दा आगो चाँडो नियन्त्रण हुन सक्ने लामा बताउँछन् ।