यासोक / पहाडको टुप्पोमा सफा र सुन्दर पोखरी छ । दायाँ–बायाँ हरिया डाँडाकाँडाले घेरिएको छ । पोखरीको प्रवेशद्वारमा पूजाआजा गर्ने स्थान बनाइएको छ । वारिपारि लोभलाग्दो हिमशृङ्खलाले मानिसको मन लोभ्याउने गरेको छ । तेह्रथुम जिल्लाको छथर गाउँपालिका–१ मा रहेको मार्गापोखरीले पर्यटकको मन लोभ्याउने गरेको हो ।
डाँडामा रहेको पोखरीमा पानी आउने ठाउँ कतै छैन तर पोखरीभरि पानी छ । झाडीले घेरेको पोखरी सफा र सुन्दर देखिन्छ । विभिन्न दृश्य अवलोकन गर्न पर्यटकको प्रमुख गतव्य मार्गापोखरी बन्ने गरेको छ । झापा, मोरङ, सुनसरी, काठमाडौं र देश विदेशबाट समेत पोखरीको अवलोकन गर्न पर्यटकहरू आउने गरेका छन् । गाउँमा विपत्ति भयो भने पोखरीमा आएर पूजाआजा गर्नाले विपत्ति टर्ने धार्मिक जनविश्वास छ । खडेरी, बाढी–पहिरो जस्ता प्रकोप देखा पर्दा सामूहिक रूपमा पोखरीमा पूजाआजा गर्नाले दुःख–कष्ट नहुने धार्मिक जनविश्वास रहेको स्थानीयले जनाएका छन् ।
पोखरी आसपास पानीका मुहान नहुँदा पनि पोखरीभरि पानी जम्मा भएको हेर्न पाउँदा खुशी लागेको सुनसरी जिल्लाबाट मार्गापोखरी पुगेका सुनिल चौधरीले सुनाए । चिसो हावामा पहाडको दृश्य अवलोकन गर्दै पोखरीसम्म पुग्दा शरीर पनि फूर्तिलो भएको उनको अनुभव छ । पोखरीको पानीमा सेल्फी खिच्न र वारिपारिको दृश्यावलोकन गर्न पाउँदा खुशी लागेको उनले बताए । वरिपारि वनजङ्गल हुँदा पनि पोखरीमा पात पतिङ्गर जम्मा नहुँदा भने अचम्म लागेको चौधरीले सुनाए । पोखरीबाट कुम्भकर्ण, कञ्चनजङ्घा र सगरमाथा हिमशृङ्खला देख्न पाइने भएकाले हिमाल र पहाडको दृश्यसँगै पोखरीमा रमाउन पर्यटकहरू पुग्ने गरेका छन् ।
पोखरीसम्म पुग्नको लागि पाटी–पौवा, शौचालय र सिँढी निर्माण गरिएको छ । आन्तरिक तथा वाह्य पर्यटकहरूको प्रमुख गन्तव्यको रूपमा रहेको मार्गापोखरीलाई गाउँपालिकाले गुरुयोजनामा राखेर काम गर्दै आएको गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताए । ‘प्रदेश सरकारले पोखरी स्तरोन्नतिको काम गर्दै आएको छ । गाउँपालिकाले पोखरीको पानीलाई संरक्षण गर्दै आएको छ । ‘यसलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने लक्ष्य छ’ –अध्यक्ष लिम्बूले भने ।
गाउँपालिकाले पर्यटकीयस्थलको रूपमा मार्गापोखरीलाई लिएको छ । पोखरीलाई गाउँपालिकाको गुरुयोजनमा राखेर पर्यटकलाई आकर्षण गर्ने विभिन्न भौतिक पूर्वाधारको काम गर्दै आएको लिम्बूले बताए । मार्गापोखरी पदमार्गको लागि आर्थिक वर्ष २०७५÷०७६ मा प्रदेश १ को उद्योग वन तथा पर्यटन वातावरण मन्त्रालयले ११ लाख आठ हजार २ सय ८९ रुपैयाँ बजेटबाट काम गरेको थियो । त्यस्तै प्रदेश सरकारले २० लाख रुपैयाँ विनियोजन गरी क्रमागत रूपमा पूर्वाधार विकासको काम गर्दै आएको छ ।