विराटनगर । अर्थमन्त्री डा.युवराज खतिवडाले व्यवसायीहरूले विभिन्न चार प्रकारको धारणा बनाएर ल्याएको कारणले सरकार अलमलमा परेको बताएका छन् । व्यवसायीहरूको कारणले गर्दा सरकार अल्मलमा परेको अर्थमन्त्री खतिवडाले बताएका हुन् ।

उद्योग सङ्गठन मोरङको आयोजनामा विराटनगरमा शुक्रबारदेखि शुरू भएको विराट एक्स्पोको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले व्यवसायीहरूलाई एउटै आवाज लिएर आउन आग्रह पनि गरे । खतिवडाले स्वदेशी उद्योगको संरक्षणमा सरकार लागिपरेको बताए । उनले नयाँ व्यवसायलाई समेटेर औद्योगिकीकरणमा लैजानुपर्नेमा जोड दिए । ‘नयाँ क्षेत्रमा पनि हामी जानुपर्दछ । जसले औद्योगिकीकरणले नयाँ स्वरूप लिन्छ’ अर्थमन्त्री खतिवडाले भने, ‘नयाँ स्वरूपमा सहयोग गर्न सरकार सधैँभरि लागिपर्नेछ ।’

सबैको जोडबलले औद्योगिक करिडोरको विषयलाई सरकारले अगाडि बढाएको अर्थमन्त्री खतिवडाले बताए । जमिन, विद्युत्, यातायात, ढल, पानी र सुरक्षालाई व्यवस्थित गरिन सरकारले औद्योगिक करिडोरको परिकल्पना गरेको उनले बताए ।

‘सरकारले सुनसरीको अमडुवामा क्रस बोर्डर इकोनोमिक जोन बनाउँदैछ’ उनले भने, ‘यसलाई आधार बनाएर यहाँको औद्योगिकीकरणको बाँकी प्रक्रिया सरकारले अगाडि बढाउनेछ ।’ अर्थमन्त्री खतिवडाले सुनसरी, मोरङ र झापाको तीन जिल्लाको अन्तर्राष्ट्रिय व्यापारको नाकाहरू पनि थप व्यवस्थित गरेर सरकार अगाडि बढ्ने बताए । अर्थमन्त्री खतिवडाले नेपालमा लगानीको वातावरण बन्दै गएको बताए । विदेशी र स्वदेश लगानीकर्ताहरूको पनि विश्वास बढ्दै गएको उनले बताए ।

चालू आर्थिक वर्षको ६ महिनामा मात्र दुई खर्बभन्दा बढी लगानीको प्रतिबद्धता पाएको अर्थमन्त्री खतिवडाले जानकारी दिए । उद्योग विभागमा दर्ता भएको उद्योगहरूको मात्र करिब ३० अर्बको लगानीको प्रतिबद्धता आएको उनले बताए ।

‘अहिले चार गुणाले नेपालमा लगानी गर्नेको सङ्ख्यामा वृद्धि आएको छ’ उनले भने, ‘नेपालमा लगानीकर्ताको विकास बढ्दै गएको छ ।’ कार्यक्रममा बोल्दै खतिवडाले स्रोत नभएको र तयार नभएको आयोजनाहरूमा सरकारले ठेक्का नलगाउने गरेको बताए । ‘स्रोत नभएको र प्रक्रिया नपुगेको योजनामा सरकारले ठेक्का लगाउँदैन’ उनले भने, ‘अब सरकारले सही ढङ्गले मात्र पैसाको परिचालन गर्दछ ।’ अहिले पछिल्लो माघ महिनापछि भुक्तानीको प्रक्रिया पनि अगाडि बढेको उनले बताए । जसको कारणले बैङ्किङ प्रणालीमा पनि तरलता बढ्दै गएको अर्थमन्त्री खतिवडाले बताए ।

बढेको तरलताले व्यवसायीहरूलाई सहयोग मिलेको उनको भनाइ थियो । करिब डेढ वर्षदेखि बैङ्कको ब्याजदर पनि स्थिर रहेको उनले बताए । ‘सेवा शुल्कको नाममा बढी पैसा बैङ्कहरूलाई तिर्नुपरेको छ’ उनले भने, ‘आफू पहिला गभनैर हुँदा सेवा शुल्कको विषयमा मापदण्ड कायम गरिदिएको थिएँ ।’ उक्त मापदण्ड कार्यान्वयनमा लैजाने अर्थमन्त्री खतिवडाले प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडले उद्योगी, व्यवसायीहरूलाई सरकारले ‘ज्वाइँ’ जस्तो व्यवहार गरेर काम गरिदिने गरेको बताए । व्यवसायीहरूको मनोबल उच्च बनाएर अहिले सरकारले काम गरिदिने गरेको राज्यमन्त्री दुगडले बताए ।

कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियत, नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष, शेखर गोल्छा, उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडालगायतले बोलेका थिए ।