धरान/ आख्यानकार शरण राईले पत्नी लक्ष्मी राई बितेपछि उनकै सम्झनामा ‘नौरङ्गी’ लघु कथा लेखे । जीवनमा सात रङ्को अनुभूति गरेका उनले पत्नीको निधनसँगै असह्य शोकको आठौं रङ्ग र जिजीविषाको अद्भूत रहस्यमयी अदृश्य नवौं रङ्ग पनि महसुस गरे । पत्नीको वियोगले छट्पटिएका कवि राईले त्यही रङ्गलाई नौरङ्गीको संज्ञा दिए ।

वियोगको त्यो प्रेम पत्नी लक्ष्मीको सम्झनामा उनले ‘तिमीले जन्माएका शाश्वत् माया प्रेम–स्याहार्नु छ’ कविता नै कृतिमा समर्पित गरेका छन् । जीवनको कयौं उकाली–ओरालीमा सँगै हिँडेका आख्यानकार राई जस्ता पात्र समाजमा असङ्ख्य छन् । वियोगपछि प्रेम झनै प्रगाढ हुने अनुभूति आख्यानकार राईको मात्रै हैन, धरान–३ की शान्ता अधिकारीको पनि छ ।

१८ वर्षको उमेरमा साविकको पाँचकन्या गाविसको ठिङ्गाबारीमा प्रेम अधिकारीसँगको ३८ वर्षे यात्रापछिको वियोगले उनलाई झनै भावुक बनाउने गरेको छ । ‘सँगै हुँदा बरू त्यतिधेरै याद नआउँदो रहेछ । तर, विछोड भएपछि चाहिँ उहाँको अभाव खट्किदो रहेछ’ उनले भनिन्, ‘उहाँ हुँदा दुःख प¥यो भने हुन्देउ न भनेर भन्नुहुन्थ्यो ।’ उनी दिदीको विश्वासमा विजयपुरको मन्दिरमा टीकोटालो गरेर प्रेम अधिकारीको जीवनमा प्रवेश गरेकी थिइन् ।

‘मनमा पिर प¥यो भने कसलाई सुनाउनु र त्यतिबेला चाहिँ धेरै मात्रामा सम्झन्छु’–उनी भन्छिन्, ‘मन भावुक हुँदोरहेछ । धोको पुगुञ्जेल रुन्छु ।’ साथसाथमा हुँदा समाजिक संरचनाले प्रेमको अनुभूति हुन नपाए पनि जब नजिकको मान्छे दैवको प्यारा हुन्छन् । तब माया र प्रेम जागृत हुन थाल्ने अनुभूति उनीहरूजस्ताको छ ।

यस्तै अनुभूति गर्नेमध्येमा विमल स्मृति पुस्तकालयका अध्यक्षसमेत रहेका धरान–१८ का पूर्णबहादुर गुरुङ । ४९ वर्ष श्रीमती सरस्वती गुरुङसँगै बिताएका उनलाई यो बेला भने झनै अभाव खट्किने गरेको सुनाउँछन् । ‘तु–तुमुमु नभई गयो, त्यही त होला नि प्रेम’ उनी भन्छन्, ‘अहिले दिनैजसो उसैको नाममा बत्ती बाल्छु । घाँसदाउरा, अर्मपर्म सँगै गरियो ।’ पत्नी सरस्वतीको मायाले घरिघरि उनलाई रुवाउने गरेको उनी सुनाउँछन् । ‘२०७३ सालमा अष्ट्रेलिया जाँदा चाहिँ श्रीमतीको अभाव साह्रै खट्कियो, त्यहाँ चाहिँ रोएँ’–उनी भन्छन्, ‘श्रीमती भनेको श्रीमती नै हो हजुर ।’

ब्रिटिस लाहुरे उनी लाहुरमा रहेका बेला पनि ५ वर्षसम्मसँगै बिताए । १६ वर्षे जागिरे जीवनमा उनीसँगको मायाको अभाव सदैव हुने गरेको थियो । त्यसपछि बाँकी जीवन श्रीमतीसँगै गुजार्दा उनले प्रेमको गहिरो अनुभूति गरेको स्मरण गर्छन् । तर, आख्यानकार शरण राईले समर्पित गरेको कविताको अंश ‘तिमीले जन्माएका शाश्वत् माया प्रेम स्याहार्नु छ’ भनेझै उनले जीवनमा मायाको अभाव महसुस गरिरहेका छन् ।

यो कविताको अंश जस्तै हविगत धरान–२ की नैनकला न्यौपानेको पनि छ । आइएसम्म अध्यायन गरेकी उनले विद्यार्थीकालमा प्रेमको अनुभूति गरिनन् । गरिन् त, श्रीमान्सँगको वैवाहिक जीवनपछि । तर, त्यो प्रेमको डोरी बीचमै टँुटेको छ । ७ वर्षदेखि उनी एक्लो भएकी छन् । एक्लो हुँदाको पीडाले उनलाई विगतमा श्रीमान्ले दिएको प्रेमलाई स्मृतिमा सजाएकी छन् । त्यही स्मृतिले कहिलेकाहीँ उनलाई रुवाउने गरेको छ । ‘हरेक कुरामा प्रोत्साहन गर्नुहुन्थ्यो, राजनीतिमा हिँड्न पनि उहाँले नै सिकाउनुभयो, बोल्न सक्ने भएँ’ उनी भन्छिन्, ‘तर, अहिले उहाँ नहुँदा भक्कानिन्छु । हुँदा भन्दा बितेपछि सम्झना आउँदो रहेछ ।’

उनको विचारमा ‘एकअर्कोलाई चिन्नु नै माया हो’ भन्ने लाग्छ । आफ्नो नजिकको साथी नहुँदा, आत्मिय ठानेको मान्छे नहुँदा कति कुरा गर्न पनि नसक्ने÷भन्न पनि नसक्ने हुँदो रहेछ भन्ने अनुभूति उनको छ । अहिले सुख, दुःख, हासो, रोदन साट्ने पात्रहरूको वियोगमा परेकाहरूले आख्यानकार राईले जस्तै आठौं र नवौं रङ्गको महसुस गर्दा हुन् ।