यासोक पाँचथर / जंगलको बीचमा सुन्दर पोखरी, पोखरी भरी पानी छ । पोखरीदेखि २ सय मिटर मुनि बाँझिएको खेतमा युवाहरु काम गरिरहेका भेटिन्छन् । खेतमा लटरम्म फलेका टमाटर, काउली, बन्दा, रायो र मुला जस्ता तरकारी बालीले हरियाली छाएको छ । खेतमा टमाटर गोडमेल गर्ने, हलो जोत्ने सागसब्जीमा पानी हाल्ने, सबै आ–आफ्नै काममा ब्यस्त हुन्छन् । ट्रर्नेल मुनी लटरम्म फलेका टमाटर गोडमेल गर्दै गरेको अवस्थमा भेटिए समुहका एक युवा तेजप्रकाश लावती ।
नेपाली सेनामा १८ वर्षसम्म देशको सेवा गरी अवकासप्राप्त लावती अहिले कृषि पेशामा ब्यस्त हुने गरेका छन । उनी जस्तै बिदेशबाट स्वदेशमै केही गर्ने सोचेर फर्किएका युवाहरु पनि कृषि कर्ममै रमाइरहेका छन । पाँचथरको कुम्मायक गाउँपालिका १ यासोकस्थित अप्लालुङ कृषि फर्ममा देखिएको दृश्य हो यो । बैदेशिक रोजगारीबाट फर्किएका युवाहरुले सामुहिक रुपमा कृषि फर्म दर्ता गरी कृषि कर्म गर्दै आएका छन । खाडीको मरुभूमिमा पसिना बगाउँने युवाहरु अहिले आफ्नै देशमा कृषि फर्मबाट मासिक लाखौं रुपैयाँ कमाउँदै आएका छन । नेपालमै मेहेनत गर्ने हो भने सुन फलाउँन सकिन्छ भन्ने गतिलो उदाहरण उनीहरुको कृषि फर्म बनेको छ । १० जना युवाहरुले सामुहिक रुपमा संचालन गरेको कृषि फर्म गाउँपालिकाकै नमुना कृषि फर्म हो ।
सुख्खाक्षेत्रको रुपमा रहेको उक्त स्थानमा गाउँपालिकाले लाखौं रुपैयाँ लगानी गरी पोखरी निर्माण गरेको छ । पोखरीमा जम्मा गरेको पानी कृषि फर्ममा प्रयोग हुदै आएको छ । गाउँपालिका र वडाले ट्रर्नेल र प्लाष्ट्रिक पोखरी निशुल्क दिएको छ । वडाले पनि हौसला दिएको छ । सबैले यसरी नै साथ दिने हो भने हामी जस्ता बेरोजगार युवाहरुले रोजगारी पाउँने थियौं ।– लावतीले भने । बाँझिएको ९ रोपनी खेतमा पसिना बगाएर कृषि कर्म गरेका युवाहरुले मासिक १ लाखदेखि डेढ लाख रुपैयाँ आम्दानी गर्दै आएको सुनाए । १० लाख रुपैयाँबाट लगानी गरेको कृषि फर्म संचालन भएको एक वर्ष भयो । उराठलाग्दो खेतमा युवाहरुको परिश्रमले अहिले हरियाली भएको छ ।
ध्न कमाउँने आशामा कम्मायक १ सफाबुङका गंगाप्रसाद लावती खाडीको देशमा पुगेका थिए । उराठलाग्दो देशमा पसिना बगाउँदा पनि बिदेश गएको ऋण तिर्न नसकेर स्वदेश फर्किएका उनी अहिले कृषि कर्मबाट राम्रो आम्दानी गर्दै आएका छन । समुहमा आम्दानी राम्रो भएपछि कृषि कर्ममा अन्य युवाहरु समेत लागि परेको उनले सुनाए । गाउँमा अरु युवाहरु पनि बिभिन्न व्यवसाय गर्दै आएका छन । ‘यदि गाउँमै बिदेशमा गर्ने श्रम गर्ने हो भने राम्रो आम्दानी गर्न सकिन्छ ।’– उनले भने । युवाहरुले नमुना व्यवसाय संचालन गरेको भन्दै वडा अध्यक्ष देबेन्द्रकुमार लावती पनि दंग छन । वडाका युवाहरलाई कृषि कर्म गर्नुपर्छ भन्ने सन्देश दिदै आएका उनले कृषि पेशा गर्ने कृषिकलाई वडा र गाउँपालिकाबाट गर्ने सहयोग गर्दै आएको बताउँछन् ।
‘मेहेनत गर्ने युवाले राज्यको सेवा सुविधा पाउँनु पर्छ । ति युवाको लागि गाउँपालिका र प्रदेश सरकारबाट थप सहयोग उपलब्ध गराउँने बिषयमा पहल गर्ने छु ।’–लावतीले भने । वडामा बैदेशिक रोजगारीबाट फर्किएका अन्य युवाहरुले पनि बंगुर र बाख्रा फर्म संचालन गरेर राम्रो आम्दानी गर्दै आएको लावतीले सुनाए । गाउँपालिकाको बेसी क्षेत्रमा कृषि र पशुपालनबाट किसानले राम्रो आम्दानी गर्दै आएका छन ।