धरान/ साहसिक पर्यटनका रूपमा लिइने प्याराग्लाइडिङका लागि धरान–४ को दानाबारी नजिकैको श्रीगाउँमा पर्ने गढी थुम्की नयाँ गन्तव्यका रूपमा विकास हुन थालेको छ ।

नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ सङ्घ प्रदेश नं. १ ले धरान ४ नं. वडाले उपलब्ध गराएको सरकारी जमिनमा प्याराग्लाइडिङको टेकअफ साइड निर्माण गरेपछि प्याराग्ल्याइडिङको नयाँ गन्तव्य थपिएको हो । केही वर्षअघि मात्र पूर्व भित्रिएको प्याराग्लाइडिङका लागि प्राइभेट कम्पनीहरूले धरानको रमिते डाँडा (चिण्डे) र भेडेटार नजिकको छोटी मोरङबाट उडान गर्दै आएका थिए भने प्राइभेट कम्पनीले नै उदयपुरको बेलकामा प्याराग्लाइडिङ प्रशिक्षण स्कुल चलाउँदै आएको छ ।

गढी थुम्कीको टेकअफ साइड नेपाली सेनाको सहयोगमा केही दिनअघि मात्र निर्माण गरिएको हो । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब अन्तर्गतको प्याराग्लाइडिङ टिमका २२ प्यारा पाइलटले मङ्गलबार गढी थुम्की (देवीथान)बाट उडान गरे । नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रम अन्तर्गत सेनाका खेलाडीहरूले बुधबारसम्म उडान गर्ने प्रमुख सेनानी अर्जुन बस्नेतले बताए । उनले भने, ‘नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्षलाई सहयोग गर्न हामीले यो ठाउँलाई बनाएर उडान गरेका हौं ।’

नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ सङ्घको प्रदेश नं. १ का अध्यक्ष भूपाल राईका अनुसार यो सङ्घको आधिकारिक टेकअफ साइड हो । यो स्थानबाट अन्य कम्पनीहरूले पनि वार्षिक शुल्क तिरेर उडान गर्न सक्नेछन् । अध्यक्ष राईले भने, ‘यो एक नम्बर प्रदेशको पर्यटनका लागि ठूलो उपलब्धि हो । यहाँ प्याराग्लाइडिङ शुरु भएपछि पर्यटनका अन्य कुराहरूको पनि विकास हुनेछ ।’

नेपालमा धेरै प्याराग्लाइडिङ गराइने स्थान पोखरा हो तर पोखरामा बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थलका कारण त्यहाँको प्याराग्लाइडिङलाई समस्या पर्ने भएकाले पनि धरानमा यसको सम्भावना राम्रो देखिएको व्यवसायीहरू बताउँछन् । धरानको रमिते डाँडा (चिण्डे)मा पनि हाइटेन्सन लाइनका कारण प्याराग्लाइडिङलाई असर पर्ने भएकाले दानाबारी सबभन्दा उपयुक्त रहेको व्यवसायीहरूको भनाइ छ ।

प्याराग्लाइडिङ व्यवसायी तथा धरान–१ का वडाध्यक्ष रोशन अधिकारी यो क्षेत्रबाट प्याराग्लाइडिङ हुँदा धरानको पर्यटनको विकास हुने बताउँछन् । उनी भन्छन्, ‘यहाँ आकाशे खेल मैदान तयार भयो अब यसलाई हामी धराने पर्यटनकर्मीले प्रचार र विकास गर्न सक्नुपर्छ ।’

स्थानीयलाई विकासको आशा
धरानबाट करिब १० किलोमिटर टाढा पर्ने देवीथान (गढी थुम्की) प्याराग्लाइडिङसँगै हाइकिङका लागि समेत उपयुक्त गन्तव्य हो । स्थानीयले वैशाख पूर्णिमामा पूजा गर्ने गढी मन्दिर यहीँ नजिकै छ ।

देवीथानबाट धरानको रमणीय दृश्यसँगै इटहरी, तरहरा, सप्तकोशी, भेडेटारलगायतका स्थान अवलोकन गर्न सकिन्छ । स्थानीय हर्दिया आधारभूत विद्यालयकी शिक्षिका भीमा राई भन्छिन्, ‘यहाँ भ्यूटावर, पिकनिक स्पट पनि बन्ने क्रममा छ, यहाँबाट हिमाल छर्लङ्ग देखिन्छ तर बाटोको स्तरोन्नति राम्रोसँग भए यो ठाउँको विकास हुन्थ्यो ।’

देवीथानसम्म धरानदेखि गाडी, टेम्पो वा मोटरसाइकलमा जान सकिन्छ । देवीथान वरिपरि श्रीगाउँ, हर्दिया, दानाबारीलगायतका गाउँ पर्छन् । यी गाउँमा मकै, कोदो, दाल, बेसार, सिस्नो, इस्कुस, धनियाँ प्रशस्त उत्पादन हुन्छ । तर पछिल्लो समय बाँदरले दुःख दिएपछि स्थानीयले धेरै खेती गर्न छाडेको स्थानीय जितबहादुर तामाङ बताउँछन् । गाउँमा बाख्रा र बङ्गुरपालन गर्ने क्रम बढिरहेको छ ।

गाउँका अधिकांश युवा वैदेशिक रोजगारीमा परदेशिएका छन् । केही युवा भने गाउँमै बसेर दुःख गरिरहेका छन् । यो क्षेत्रमा पर्यटक आउने सम्भावना देखेपछि स्थानीयहरू होमस्टे सञ्चालन गर्ने योजनामा छन् । जितबहादुर भन्छन्, ‘धरान नजिकै रहेर पनि पछि परेको यो ठाउँको विकास हुन्छ कि भन्ने आशा पलाएको छ ।’

pa