उदयपुर/ व्यावसायिक बाख्रा पालनबाट उदयपुरका एक कृषकले मासिक करिब २० लाख कमाई गर्न थालेका छन् । त्रियुगा नगरपालिका–१४ नेपानेका रामकुमार राईले व्यावसायिक बाख्रा पालनबाट यतिबेला मासिक करिब २० लाख रुपैयाँ आम्दानी गर्दै आएका हुन् ।
करिब ८ वर्ष पहिलादेखि व्यावसायिक बाख्रा पालन शुरु गरेको राईले अहिले तीन खोरमा करिब एक सय ७६ वटा माउ बाख्रा रहेको उनले बताए । विशेष गरी बोका पाठा नै बिक्री वितरण गर्ने गरेकाले धेरै माउ बाख्रा पालेको हो । उक्त माउ बाख्राले वर्षमा करिब चार सय पाठापाठी उत्पादन गर्ने गरेको कृषक राईले बताए । सबै साथीभाइहरू विदेशिए पनि आफ्नै ठाउँमा केही गर्छु भन्ने हिम्मतका साथ २०६८ सालमा तीन लाख रुपैयाँले व्यावसायिक रूपमा बाख्रा पालन शुरु गरेको कृषक राईले बताए । गाउँघरमा १०–१५ वटा प्रायः सबैले बाख्रा पालन गर्ने गरे पनि व्यावसायिक रूपममा कसैले पनि बाख्रा पालन नगरेको उनले बताए । उनले भने ‘अर्काको भूमिमा रागत र पसिना बगाउनु भन्दा आफ्नै ठाउँमा बगाउँ भन्ने सोचले बाख्रा पालन शुरु गरेँ । अहिले राम्रै नतिजा पनि पाएँ ।’
रुपैयाँको सोचले शुरु गरेको व्यावसाय अहिले लाखमा पुगेको छ । सबै खर्च कटाएर पनि करिब १५ लाख त वार्षिक रूपमा बचत हुने गरेको कृषक राईले बताए । उनले भने ‘अहिले सबै परिवार मिलेर व्यावसायमा लागेका छौँ । खडेरीले बारीमा अन्नपात प्रयाप्त उत्पादन हुन छाडेपछि बाख्रालाई उन्नत जातको घाँसका लागि बोट बिरुवा लगाएको छु ।’ शुरुशुरुमा पशु रोग नियन्त्रण गर्ने ज्ञानको कमीले गर्दा धेरै बाख्रा मर्ने समस्या समाधान गर्नका निम्ति पशु भेटेनरी पढाइ नै अध्ययन गरेको कृषक राईले बताए । बाख्रा विरामी हँुदा सदरमुकाम धाउनुपर्ने बाध्यता र पशु डक्टरको प्रतिक्रिया सहन नसकी आफै भेटेनरी पढाइ पढेपछि व्यवसायलाई ठूलो टेवा पुगेको उनले बताए ।
यतिबेला गाउँमा कसैको पशुचौपाया बिरामी भए पनि आफैलाई बोलाउने गरेको कृषक राईले बताए । कुनै सोच नराखी उपचार गरि दिने गरेको उनले बताए । उनले भने ‘व्यावसायिक रूपमा बाख्रा पालन गरेकाले आपूm नभएको बेला बाख्रा बिरामी पर्दा उपचार गरी कुनै क्षति हुन नदिनको लागि श्रीमतीलाई समेत भेटेनरी शिक्षा पढाइ अध्ययन गराएको छु ।’ बाख्रालाई साना तिना रोग लाग्न नदिनका लागि समय समयमा पिपिआर, खोरेत लगायतका भ्याक्सिन र औषधी उपचार गर्ने गरेको कृषक राईले बताए । यस्ता साना तिना रोग नियन्त्रण गर्न सकियो भने पनि ठूलो रोग एक्कासी खासै नलाग्ने उनले बताए ।
सरकारले दिने अनुदानको लागि सम्बन्धित निकायमा धेरै धाएको भए पनि आश्वासन मात्रै दिने गरेको कृषक राईले दुखेसो पोखेका छन् । राज्यको कुनै सेवा सुविधा नलिईकन व्यक्तिगत लगानीमा व्यावसाय सञ्चालन गरिराखेको उनले बताए । आफ्नै ठाउँमा लाज र धाक नमानी हिम्मतका साथ कुनै व्यावसायिक कृषि कर्म गरेपनि खाडीको तातो घाममा रगत र पसिना बगाएर कमाएको भन्दा बढी आम्दानी हुने कृषक राईले बताए ।
परिवारसँगै बसेर मासिक एक लाख रुपैयाँ कमाउनका लागि घर परिवारसँग टाढिएर अर्काको भूमिमा दुःख गर्नु पर्दैन । दिन प्रतिदिन विदेशिने बढ्दो युवा शक्तिलाई राज्यले नियन्त्रण गर्दै यस्ता व्यावसायमा संलग्न मात्रै गराउन सके पनि आर्थिक स्तर उक्सने उनले बताए । सम्बन्धित निकायले व्यवसायीहरूलाई राज्यले दिएको सेवा सुविधा सहज ढङ्गले उपलब्ध गराई व्यवस्थित गरे मात्रै स्थानीय स्तरमा आर्थिक स्तर उक्सने प्रष्ट देखिन्छ ।