धरान । सुनसरीको रामधुनी नगरपालिका–३ स्थित कारागारनजिकै सामान्य विवादमा चक्कु प्रहार हुँदा एक जना घाइते भएका छन् ।

बुधबार साँझ सवा ६ बजेतिर २९ वर्षीय मनिष सोनार र ५९ वर्षीय विष्णु माझीबीच सामान्य भनाभन हुँदा विष्णुले मनिषमाथि चक्कु प्रहार गरेका थिए । मादक पदार्थ सेवन गरेका विष्णुले मनिषको बायाँ गाला र बायाँ कुममा धारिलो हतियार (चक्कु) प्रहार गरेका हुन् ।

घटनाको खबर पाउनेबित्तिकै प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनीबाट सइ किरण अधिकारीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरीले घाइते मनिषलाई उपचारका लागि रामधुनी मेडिकल हल झुम्कामा लगेको थियो । उनको अवस्था मध्यम् रहेको बताइएको छ । प्रहरीले चक्कु प्रहार गर्ने विष्णु माझीलाई तत्कालै नियन्त्रणमा लिई थप अनुसन्धानका लागि प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनीमा राखेको छ । घाइतेको उपचारपछि राति ११ बजे मनिष डिस्चार्ज भई घर फर्किएका छन् ।