वराहक्षेत्र । नेपाल सरकारको स्वास्थ्य बिमा बोर्डले दाबी रकम भुक्तानी नगर्दा सुनसरीको वराहक्षेत्रको चतरा अस्पतालका कर्मचारीले ६ महिनादेखि मासिक तलब पाउन सकेका छैनन्  ।

बोर्डले चतरा अस्पताललाई पाँच करोड रुपैयाँ हालसम्म भुक्तानी नगरेपछि चिकित्सक तथा कर्मचारीहरू तलब पाउनबाट बञ्चित बनेका हुन् । गत चैत महिनाबाट बोर्डले भुक्तानी रोकेको हो । अस्पतालले दाबी गरेको आर्थिक वर्ष २०८१/०८२ को भुक्तानी नपाउँदा ६५ जना चिकित्सक तथा कर्मचारीलाई तलब भुक्तानी दिन समस्या भएको अस्पतालका सूचना अधिकारी यम भण्डारीले जानकारी दिए । चिकित्सक र कर्मचारीको तलब करिब डेढ करोड रुपैयाँ र २ करोड रुपैयाँ औषधि आपूर्तिकर्तालाई दिन बाँकी रहेको सूचना अधिकारी भण्डारीले जानकारी दिए ।

बिहीबार चतरा अस्पताल परिसरमा भएको अस्पतालको वार्षिक ‘नीति तथा कार्यक्रम एवम् बजेट प्रस्तुतीकरण’ कार्यक्रममा अस्पताल व्यवस्थापन समिति तथा वडा २ का अध्यक्ष होमप्रसाद गौतम र उपाध्यक्ष प्रदीप बस्नेतले संयुक्तरूपमा आर्थिक वर्ष २०८२/०८३ का लागि ५० लाख रुपैयाँको आम्दानी तथा खर्चको विवरण प्रस्तुत गरे । आ.व. २०८०/०८१ को आम्दानीतर्फ ८ करोड २३ लाख ७३ हजार ५ सय २७ रुपैयाँ र खर्च ७ करोड १९ लाख ३९ हजार ४ सय ३४ रुपैयाँ रहेको उनले बताए । आर्थिक वर्षमा एक करोड चार लाख ३४ हजार ९३ रुपैयाँ बचत रहेको जनाएको छ । 

उनीहरूले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्थानीय सुनसरी–मोरङ सिँचाइ आयोजनाको जग्गामा निर्माणाधीन १५ शय्याको अस्पताल भवनको निर्माण, जग्गा प्राप्तिलगायतबारे जानकारी दिइयो । यस्तै उक्त अस्पतालमा मानसिक र नशा रोग विशेषज्ञ तथा मनोसामाजिक परामर्श सेवा, पाठेघरको क्यान्सर परीक्षण, विद्यालयमा आँखा र दाँत परीक्षण, सर्पदंश उपचार र दीर्घरोगी एवम् हिँड्डुल गर्न नसक्ने सेवाग्राहीलाई घरमा गएर स्वास्थ्य परीक्षण गरिनेलगायतको सेवा उपलब्ध गराइने जनाइएको छ । 

चतरा अस्पताललाई जेनेरेटर 

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले अस्पताललाई जेनेरेटर उपलब्ध गराइने बताए । बेलाबेलामा जाने विद्युत्ले अस्पतालको सेवामा बाधा पुग्ने गरेकोले अब सेवाग्राहीले त्यस्तो समस्या भोग्नु नपर्ने प्रमुख कार्कीले बताए । प्रमुख अतिथि कोशी प्रदेश सांसद् ममता योञ्जन तामाङले देशको पहिलो पूर्ण बिमायुक्त अस्पताल र  बिहानदेखि राति आठ बजेसम्म सेवा दिने चतरा अस्पताल गाउँले स्वास्थ्यको पर्याय बनेको भन्दै  खुसी व्यक्त गरिन् ।

कार्यक्रममा रक्तदान 

चतरा अस्पतालमा भएको रक्तदान कार्यक्रममा ५४ पिन्ट रगत सङ्कलन भएको छ । ६२ औँ रक्तदान दिवसको अवसरमा चतरा अस्पताल, नेपाल रेसक्रस सोसाइटी वराहक्षेत्र उपशाखा र उद्योग वाणिज्य सङ्घ चतराले शिविर आयोजना गरेको हो । कार्यक्रममा सांसद् ममता तामाङ, चिकित्सक, अस्पताल र नगरपालिकाको कर्मचारी, शिक्षक, विद्यार्थी, पत्रकार र रेडक्रस सदस्यले रगत दान गरेको रेडक्रस सोसाइटी वराहक्षेत्र उपशाखाका सभापति हरिकृष्ण भट्टराईले बताए । नेपाल रेसक्रस सोसाइटीको प्राविधिक सहयोगमा कार्यक्रम भएको थियो ।