सिरहा । सिरहाको लहान–१९ कटहा गाउँका ४५ वर्षीय चमकलाल सदाको आफ्नै घरमा ई–रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागी ज्यान गएपछि उनको परिवारलाई राहत वितरण गरिएको छ ।
मृतक सदाका श्रीमती, ३ छोरी र १ छोराको भरणपोषणका लागि राहत वितरण गरिएको हो । मृतकको पाँचौं दिनमा लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरी पीडितको घरमा पुगी राहत उपलब्ध गराएका छन् । स्थानीय राम औतार महतोका अनुसार विद्युत् सर्ट भई दुर्घटना भएको हो । करिब ५० घर रहेको सदाको बस्तीमा मेयर चौधरी वडाध्यक्ष कमरुद्दीन राइनसहित स्थानीयको उपस्थितिमा पुगेका थिए ।
प्रमुख चौधरीले पीडित परिवारलाई तत्काल खाद्यान्न तथा अन्य आवश्यक सामग्री उपलब्ध गराए । राहतस्वरूप सय केजी चामल, ५ किलो दाल, ५ किलो मटर, ५ किलो नुन, ५ लिटर तेललगायत सामग्री वितरण गरिएको छ । साथै, मृतक परिवारलाई नगद ५ हजार रुपैयाँसमेत हस्तान्तरण गरिने प्रमुख चौधरीले बताए ।