विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले तीन जना बोर्ड सदस्यहरूलाई बर्खास्त गरेको छ ।

कोशी प्रदेशको सामाजिक विकास मन्त्री पाँचकर्ण राईको अध्यक्षतामा मङ्गलबार बसेको बोर्डको ३१ औँ बैठकले रोशनी राई, सन्दिप राई र जीवनी राईलाई पदमुक्त गर्ने निर्णय गरेको हो । बोर्डका कार्यालय प्रमुख कालिदास भट्टराईले विधानअनुसार लगातार तीन पटकसम्म बैठकमा अनुपस्थित भए कारबाही गर्ने प्रावधान रहेको भन्दै तीनैजना सदस्यहरू पाँच पटकसम्म अनुपस्थित भएकाले बर्खास्त गरिएको जानकारी दिए । बर्खास्त गरिएका रोशनी र सन्दिप राई एकीकृत समाजवादी निकट मानिन्छन् भने जीवनी राई माओवादी केन्द्र निकट हुन् । उनीहरू तत्कालीन सामाजिक विकास मन्त्री राजन राईको पालामा २०७९ साउन १२ गते बोर्ड सदस्यमा नियुक्त भएका थिए । 

यद्यपि बर्खास्तमा परेकी सदस्य रोशनी राईले भने यो निर्णयलाई खेलकुदभित्रको भ्रष्टाचार र अनियमितताको विरोध गर्दा आफूहरूलाई निशाना बनाइएको आरोप लगाएकी छन् । उनले सदस्य–सचिव पर्शुराम बस्नेतको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएको र यही कारण आफूसहित दुई साथीलाई नियोजितरूपमा बर्खास्त गरिएको दाबी गरेकी छन् ।

“म खेलाडी हुँ । त्यसैले म सधैँ खेलकुदभित्र भएको विकृति र विसङ्गतिको हिजो पनि विरोध गर्थें, आज पनि गर्छु र भोलि पनि गर्नेछु” रोशनी राईले सामाजिक सञ्जालमार्फत् आक्रोश व्यक्त गर्दै लेखेकी छन्, “म सधैँ खेलकुदभित्रको भ्रष्टाचार, अनियमितता, गलत निर्णयहरूको विषयमा बोल्दा मसहित अरू दुई जना साथीहरूलाई पनि बोर्डबाट हटाइएको कुरा सुन्दैछु । यदि हो भने खेलकुद कसैको घर र पार्टी कार्यालय होइन र खेलकुदमा राजनीति कसैले पनि गर्न मिल्दैन । कानूनको पालना सबैले गर्नु पर्छ र म पनि कानूनको बाटोमा हिँड्नेछु ।”

बोर्ड सदस्य जीवनी राईले बैठक बारेमा जानकारी नगराई कारबाही गरिएकोप्रति असन्तोष व्यक्त गरेकी छन् । यसअघि पनि बोर्ड सदस्य रोशनी राईले कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको प्रदेशस्तरीय जुडो प्रतियोगितामा १० लाख रुपैयाँ बजेट विनियोजन गरिएपछि त्यसको पारदर्शिता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएकी थिइन् । राष्ट्रिय जुडो प्रशिक्षकसमेत रहेकी रोशनीले जुडो प्रतियोगिता एक निजी क्लब ‘विराट कोशी जुडो क्लब’ लाई सुम्पेर आयोजना गरिएपछि सशक्त विरोध जनाएकी थिइन् ।

रोशनी राईले बोर्डको यो अन्यायपूर्ण निर्णयविरुद्ध कानूनी उपचार खोज्न अदालत जाने चेतावनी दिएकी छन् । यस घटनाले कोशी प्रदेश खेलकुद विकास बोर्डमा राजनीतिक चलखेल, कार्यकर्ता पोस्ने र आफ्नै प्रभावमा रहेका सङ्घ–संस्थाहरूलाई लाभ पु¥याउने सदस्य–सचिव बस्नेतमाथि लाग्दै आएका आरोपहरूलाई थप बल पु¥याएको छ, जसले प्रदेशको खेलकुद विकासमाथि नै प्रश्नचिह्न खडा गरेको छ । सदस्य–सचिव बस्नेत एमाले कोशी प्रदेशका सदस्य पनि हुन् ।