खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित लक्ष्मी माध्यमिक विद्यालयको भवन निर्माणमा भएको भ्रष्टाचारले नेपालमा विकासका नाममा भइरहेको लुटतन्त्रको दर्दनाक तस्बिर उजागर गरेको छ । लगभग ३० लाख रूपैयाँको लागतमा बन्ने भनिएको चारकोठे भवनमा २७ लाख रूपैयाँभन्दा बढी रकम अनियमितता भएको अख्तियारको अनुसन्धानले देखाएको छ । यो एउटा भवनको कथा मात्र होइन, यो हाम्रो सार्वजनिक प्रणालीमा गडेर बसेको भ्रष्टाचारको जड र त्यसले निम्त्याएको विकृतिको प्रतिनिधि उदाहरण हो । भवन निर्माणका लागि सरकारले २४ लाख र जनश्रमदानबाट ६ लाख रूपैयाँ गरी कुल ३० लाख रूपैयाँ विनियोजन गरिएको थियो । तर अख्तियारको छानबिनमा जम्मा २ लाख ७२ हजार रूपैयाँ बराबरको मात्र काम भएको भेटियो । यो तथ्यले देखाउँछ कि यहाँ काम गर्ने नियत थिएन, केवल सरकारी कोषबाट रकम झिक्ने र हिनामिना गर्ने योजना थियो । यो अनियमिततामा तत्कालीन तीन जना जिल्ला शिक्षा अधिकारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक र ठेकेदार गरी ११ जनाको संलग्नता देखिनुले भ्रष्टाचारको जालो कति गहिरो छ भन्ने स्पष्ट हुन्छ ।

यो घटनामा सरकारी कर्मचारी, विद्यालयका पदाधिकारी र ठेकेदारबीचको साँठगाँठले एउटा कुरा प्रष्ट पार्छ– भ्रष्टाचार एउटा व्यक्तिले गर्ने अपराध होइन, यो एक सङ्गठित र सुनियोजित अपराध हो । जहाँ सरकारी कोषबाट रकम झिक्नका लागि झुटा बिल भर्पाइ बनाइन्छ, गलत प्राविधिक प्रतिवेदन तयार गरिन्छ र नभएको कामको पनि भुक्तानी लिइन्छ । यतिसम्म कि भवन निर्माणका लागि आएको बजेट अन्य शीर्षकमा खर्च गरिएको पनि पाइएको छ । यस्तो किसिमको भ्रष्टाचारले विकासका परियोजनाहरुलाई मात्रै क्षति पु¥याउँदैन, यसले आम नागरिकको राज्यप्रतिको विश्वास पनि घटाउँछ । गरिब जनताको करबाट सङ्कलन भएको पैसा यसरी मुट्ठीभर मानिसको खल्तीमा जाँदा, उनीहरुले पाउने शिक्षा, स्वास्थ्य र पूर्वाधार जस्ता आधारभूत सेवाको गुणस्तरमा सिधै असर पर्छ । लक्ष्मी मा.वि.को यो भवन अपुरो बन्नु भनेको त्यहाँका विद्यार्थीहरुले राम्रो शिक्षा पाउने अधिकारबाट बञ्चित हुनु हो ।

अख्तियारले यो मुद्दालाई विशेष अदालतमा दायर गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । यो कदम स्वागतयोग्य छ तर यस्ता घटनामा मुद्दा दायर हुनु मात्र पर्याप्त हुँदैन । दोषीहरुलाई कडाभन्दा कडा सजाय हुनुपर्छ र हिनामिना भएको सम्पूर्ण बिगो असुलउपर गरिनुपर्छ । जबसम्म भ्रष्टाचार गर्नेलाई दण्डित गरिँदैन र उनीहरुले लुटेको रकम फिर्ता लिइँदैन, तबसम्म यस्ता घटना दोहोरिरहन्छन् । नेपालमा विकास र समृद्धिको नारा जतिसुकै चर्को भए पनि, यस्ता घटनाले ती नाराहरुको खोक्रोपन छर्लङ्ग पार्छन् । हामीले बुझ्नुपर्छ कि भ्रष्टाचार केवल आर्थिक अपराध मात्र होइन, यो एक नैतिक पतन हो जसले समाजको जगलाई नै कमजोर बनाउँछ । अबको समयमा, भ्रष्टाचारविरूद्धको शून्य सहनशीलता केवल भाषणमा मात्र सीमित नभई, व्यवहारमा पनि लागू हुन जरूरी छ । लक्ष्मी मा.वि.को यो घटनाले एउटा कठोर प्रश्न गर्नुपर्ने देखिएको छ–“के हामी साँच्चै विकास चाहन्छौँ वा केवल भ्रष्टाचारको जालोलाई फलिफाप बनाउन चाहन्छौँ ?” यसको जवाफ हामी सबैले खोज्नुपर्ने भएको छ ।