ताप्लेजुङ/  ताप्लेजुङको निगुरादिनकी याङ्गी शेर्पा अहिले घरायसी खर्च जुटाउनको लागि जङ्गलमा फलेको कटुस टिपेर स्थानीय ताप्लेजुङ सदरमुकाम फुङ्लिङ्गमा ल्याएर बेच्न व्यस्त रहेकी छन् ।

सदरमुकाम फुङ्लिङ बजारमा प्रत्येक मङ्गलबार र शनिबार लाग्ने हटियामा शेर्पा एक दिनको लामो पैदल यात्रा तय गर्दै हटिया लाग्ने अघिल्लो दिन नै सदरमुकाम आउँछिन् । एका बिहानैबाट कटुस भरिएको धोक्रो ठड्याएर मानाको १ सयदेखि १ सय ५० रुपैयाँसम्ममा बेचेर घर खर्च टार्दै आएकी छन् ।

उनीमात्र होइन जिल्लाका अधिकांश स्थानीय बासिन्दा अहिले जङ्गलमा फलेको कटुस टिप्न एक विहानै गाउँनै रित्याएर जङ्गल पस्ने गरेका छन् । स्थानीय जङ्गलमा सहजै पाइने र बजारमा पनि यसबाट राम्रो आम्दानी लिन सकिने भएको कारण अहिले यसको सङ्कलन र बिक्रीमा स्थानीय बासिन्दा लागेका हुन् ।

कटुस टिप्न केटाकेटीदेखि लिएर बुढाबुढी सबै जङ्गल जाने भएका कारण अहिले जिल्लाका अधिकांश गाउँ रित्तै भएका छन् । यो वर्ष अघिल्लो वर्षको तुलनामा केही दशक यताकै सबैभन्दा बढी कटुस फलेको छ । कटुस पात्ले जातको रुखमा फल्ने एक प्रकारको मिठो फल हो ।

बाहिर काँडाले भरिएको भए पनि भित्र भएको फललाई भुटेर वा काँचै पनि खाने गरिन्छ । काँचो कटुसलाई बजारमा ८० रुपैयाँ र भुटेको कटुसलाई १ सय ५० रुपैयाँसम्म बिक्री हुँदै आएको छ । माथिल्लो अथवा लेकाली क्षेत्रमा सित्तैमा पाइने कटुस खेज्ने प्रत्येकले दिनमा ५ पाथीदेखि ७ पाथीसम्म कटुस सङ्कलन गर्छन् ।

ताप्लेजुङमा मात्र नभएर अहिले सङ्खुवासभा धनकुटा पाँचथर र तेह्रथुम जिल्लामा पनि कटुस पाइने भएको कारण यस जिल्लाका स्थानीय बासिन्दाले कटुसबाट राम्रो आम्दानी लिने गरेका छन् । यहाँ सङ्कलन गरिएको कटुस बिक्रीका लागि झापाको बिर्तामोडसम्म पनि लैजाने गरिएको छ ।