इटहरी/ धरान–विराटनर सडकमा एउटा लुगा सिलाउने मेसिनमा काम गरिरहेका भेटिन्छन् इटहरीका सुशील परियार । हेर्दा सामान्य देखिने सुशीलको व्यवसाय भने वार्षिक लाखौं भाडा तिरेर हुने कमाइको भन्दा पनि लोभ लाग्दो छ । सानो एउटा मेसिनबाटै उनले वार्षिक लाखांै रुपैयाँ कमाउँदै आएका छन् ।
२७ वर्षअघि १३ सय रुपैयाँको लुगा सिउने मेसिन बोकेर मोरङको दर्बेसाबाट सुनसरीको इटहरी पसेका सुशील परिवार अहिले करोडका मालिक भएका छन् । सीप सदुपयोग गरे पैसा कमाउन विदेश जानु नपर्ने मान्यता राख्ने सुशील महरा इटहरीका लागि मात्र नभई मुलुकभरका बेरोजगार युवाका निम्ति उदाहरणीय बनेका छन् ।
इटहरी उपमहानगरपालिकाको मुख्यचोकबाट दक्षिणतर्फ इटहरी विराटनगर राजमार्गको पूर्वमा रहेको आकर्षण वस्त्रालय अगाडि एउटा लुगा सिउने मेसिन लिएर बसेका महरालाई काम थालेदेखि एक दिन पनि खाली बस्नु परेको छैन । उनी १७ वर्षको उमेरमै विवाह बन्धनमा बाँधिई ०४७ मा १३ सयमा किनेको लुगा सिउने मेसिन बोकेर इटहरी झरेका थिए । गाउँमै ऋण खोजेर महराले छिमेकी गाउँ बिसनपुरबाट सेकेण्ड ह्याण्ड मेसिन खरिद गरेका थिए । उनी इटहरी आउँदा कपडा पसल कमैमात्र खुलेका थिए । रेडिमेड कपडा पसल भर्खरै खुल्न थालेका थिए । जिन्सका रेडिमेट कपडा बेच्ने पसल धमाधम खुल्न थालेका थिए । इटहरी गएर केही फरक काम गर्ने सोच बनाएर नै उनले मेसिन काँधमा बोकेर आएको स्मरण गर्छन् ।
गाउँबाटै व्यापार गर्न इटहरी आएका शुभकामना र भट्टराई स्टोरका सञ्चालकको सुझावमा शुरुबाटै जिन्स पेन्ट फिटिङ, फुल फिटिङ, ऊनीको कपडा सिलाउने लगायतका काम थालेको उनी बताउँछन् । जुन स्थानमा उनी पहिले मेसिन राखेर काम गर्थे अहिले पनि त्यहीँ (सडकपेटी) बसेरै व्यवसायलाई निरन्तरता दिइरहेका छन् । महराले ०५२ देखि ब्यवसायिक रूपमै जिन्स र कटन पेन्ट तथा सर्टको फिटिङ थालेका थिए । शुरुमा एउटा पेन्ट फुल फिटिङ गरेको ज्यालाबापत ३० रुपैयाँ लिने गरेको उनी सम्झिन्छन् । त्यतिबेला लिने ३० रुपैयाँ ज्याला अहिले बढेर ७० पुगेको छ । बजारमा चलेको फेसन अनुसार जिन्स पेन्ट चुज बनाउन र फुल फिटिङ गर्न सबैभन्दा बढी युवती आउने गरेको महरा बताउँछन् ।
विराटनगर र धरानबाट पनि ग्राहक आउने गरेको महरा बताउँछन् । उनले सिलाइ पेसाबाटै अहिलेसम्म १ करोडभन्दा बढीको सम्पत्ति जोडिसकेका छन् । जेठी छोरीलाई नर्स पढाइरहेका छन् । जिन्स तथा कटन पेन्ट फिटिङ गरे बापत मासिक लाख रुपैयाँ भन्दा बढी कमाउँछन । महराले सिलाइ व्यवसायबाटै इटहरीमा दुई वटा घर जोडेका छन् । उनी भन्छन् ‘स्वदेशमा धैर्यपूवर्क पेसा–व्यवसायलाई निरन्तरता दिन सके विदेशमा कमाउन जानै पर्दैन । अहिलेको युवा पुस्ता एकैपटक धेरै आम्दानी लिने आशमा विदेश भौँतारिन्छन्, जुन गलत हो ।’ करोडपति बनाउने मेसिन र कामप्रति गर्व गर्ने महरा सकुन्जेल सिलाइ पेसालाई निरन्तरता दिने बताउँछन् । कुनै पनि पेसाबाट रकम आर्जन गरेर मात्र नहुने र त्यसलाई सदुपयोग गर्न बचत आवश्यक रहेकोमा उनी जोड दिन्छन् ।
सीप, जाँगर र इच्छा शक्ति हुनेका लागि नेपालमा प्रशस्त अवसर रहेको दाबी महराको छ । काम गर्नेलाई कहिल्यै पैसा अभाव नहुने बताउँछन् महरा । नयाँ घर बनाएर १३ सयमा खरिद गरेको मेसिनलाई घरको माथिल्लो तलामा सङ्ग्रह गरी राख्ने योजना उनले सुनाए । २४ वर्षसम्म खासै नबिग्रिएको सिलाइ मेसिनबाटै अहिले पनि आम्दानी लिँदै आएको महराले बताए । उनी भन्छन, ‘मेरो जिन्दगीलाई कायापलट गराउने मेसिन नै यही हो, सोही कारण बिहान-साँझ मेसिनलाई पुज्ने गर्छु ।’