आजभोलि के मा व्यस्त हुनुहुन्छ ?
–अहिले हामी उद्योगी व्यवसायीका समस्या करसँग जोडिएर आइरहेका छन् । त्यही विषयमा व्यवसायीहरूसँग अन्तरक्रिया गर्नुको साथै नजिकै आइरहेको चाडपर्वको विषयमा शान्ति सुरक्षा कसरी कायम गर्ने, व्यवसायीहरूलाई सुरक्षित ढङ्गले आफ्नो व्यापार–व्यवसाय कसरी गर्ने विषयमा छलफलमा व्यस्त छौँ ।
विराटचोक–विराटनगर सडक–खण्ड चारलेनको बन्न शुरु भएको छ, यो सडकले पूर्णता पाएपछि यहा“को व्यवसायमा कस्तो प्रभाव पर्छ ?
–यो शहरले पन्ध्रवर्षको अवधिमा जुन प्रकारको फड्को मार्यो । त्यसको पहिलो कारण भनेको विराटचोक पुष्पलाल चोकको बाटो नै हो जस्तो लाग्छ । यो चारलेनको बाटो बन्ने क्रममा छ, जुन ठेक्का लागिसक्यो । यसले विराटचोक मात्र होइन हरैंचा, तेतरिया, झोडाहाट, नेताचोकका व्यवसायीलगायत सम्पूर्णको विकासमा सकारात्मक प्रभाव पार्छ र त्यसको मुख्य प्रभाव चाहिँ विराटचोकलाई नै पर्छ । त्यसको साथसाथै विराटचोक पूर्वका सबै ठाउँहरूसँग प्रदेश राजधानी विराटनगरको सम्बन्ध नजिक बन्छ ।
छोटो समयमा विराटचोक क्षेत्रले विकासमा छलाङ मार्नुको कारण के हुन सक्ला ?
–विराटचोकले फड्को मार्नुको पहिलो कुरा चाहिँ सुकुना बहुमुखी क्याम्पस नै हो । त्यसैगरी पूर्वाञ्चल विश्व विद्यालय र माइग्रेसन भएर आउनेको सङ्ख्या धेरै हुनु र अर्कोकुरा सामाजिक एकता, युवाहरूमा नेतृत्वलगायत भएको कारणले गर्दाखेरी चाहिँ विराटचोकले यति छिटो फड्को मारेको हुनुपर्छ ।
तपाईं यहा“को उद्योग वाणिज्य सङ्घको अध्यक्ष हुनुहुन्छ, व्यवसायीहरु भ्याटको समस्या छ भन्छन् उद्योग वाणिज्य सङ्घले यो विषयलाई कसरी हेरेको छ ?
–पहिलो कुरा हामीले सकारात्मक चिजलाई समर्थन गर्नुपर्छ, यो भ्याट भन्ने कुरा व्यापारीले तिर्ने होइन । यो विशेषतः उपभोक्ताबाट लिने चिज हो । तर यसलाई सिस्टममा लानको निमित्त अडिटर राख्नुपर्ने, कम्प्युटराइज सिस्टमबाट जानुपर्ने भएकोले अलिकति झन्झटिलो छ, तर यो झन्झटलाई नबुझिकन आफूलाई अपडेट गर्ने हो भने यो भ्याटको प्रक्रियालाई कार्यान्वयन गर्न व्यापारीको हितमा नहुने भन्ने छैन । यसलाई हामीले क्रमशः कन्भिन्स गर्दै बुझाउँदै अगाडि बढ्दै लानुपर्छ भन्ने कुरामा हामी लागेका छौँ र हामीले राजस्व अनुसन्धानबाट अनि आन्तरिक राजस्व कार्यालयबाट प्रतिनिधि मगाएर स्थानीय व्यवसायीलाई भेला गरेर यो विषयमा अन्तरक्रिया र छलफल पटक–पटक गराएको अवस्था छ ।
भनेपछि यस विषयमा यहाँका व्यवसायीहरु खुशी नै छन् ?
–कतिपयले बुझ्नुहुन्न तर यो बुझ्दाखेरी यो नकारात्मक छैन । जस्तैः हिजो व्यवसायीहरूको समस्या के थियो भने अण्डर बिलमा सामान आउने अनि फुलरेटमा बेचेर भ्याट बिल काट्नुपर्ने, प्यान बिल दिनुपर्ने थियो । त्यसो गर्दा उनीहरू जहिल्यै जोखिममा हुन्थे । अब अहिले यो पनि समस्या समाधान हुनेवाला छ । त्यसैले यसले व्यवसायीहरूलाई असर गर्छ भन्ने छैन तर बुझाइमा समस्या छ, हामी अहिले त्यही बुझाउने क्रममा छौँ ।
बैङ्किङ हब बन्ने क्रममा रहेको सुन्दरहरैंचाको विराटचोकबाट स्थानीय व्यवसायीले कत्तिको लाभ लिइरहेका छन् ?
–यो स्वभाविक रूपमा स्वस्थ प्रतिस्पर्धा बजारले एकाधिकारलाई तोड्छ, जहाँ एकाधिकार हुन्छ, त्यहाँ उपभोक्ताहरू मारमा परिरहेका हुन्छन् । जहाँ पूर्ण प्रतिस्पर्धात्मक बजार हुन्छ, त्यहाँ चाहिँ उपभोक्ताहरूले लाभ लिइरहेका हुन्छन् । अहिले यहाँ एउटा बैङ्कले ब्याजदर बढी लिइरहेको छ भने नजिकै रहेको अर्को बैङ्कले त्योभन्दा केही कम ब्याजदरमै ऋण प्रवाह गर्नसक्ने अवस्था छ । अर्कोका कुरा बैङ्कहरूलाई अहिले ओभर फ्लो पैसाको व्यवस्थापन पनि भइराखेको छ, राष्ट्र बैङ्कका नीतिका कारणले गर्दा अहिले व्यवसायीहरूले यहाँका बैङ्कहरूबाट भरपूर फाइदा लिइरहेको अवस्था छ ।
बैङ्कहरूले अन्य शहर छोडेर विराटचोकमै आकर्षित हुनुको कारण चाहिँ के होला ?
–मलाई के लाग्छ भने पहिलो कुरा बैङ्कहरू अहिले मोफसलमा बैङ्क खोल्नुपर्छ भन्ने आयो । भनेपछि मोफसलमध्येको राम्रो मार्केट कुन हो भन्दा त्यो विराटचोक भयो । पाँचहजार जनसङ्ख्या प्रत्येक वर्ष थपिने ठाउँ, वैदेशिक रोजगारमा गएका युवाहरूका परिवार बस्ने ठाउँ, त्यसैगरी गुणस्तरीय शिक्षा पाइने शैक्षिक हब पनि भएको व्यवसायिक क्षेत्रको केन्द्र भएको राम्रो मजबुत सुरक्षा व्यवस्था भएकोले पनि यहाँ बैङ्कहरूको आकर्षण बढेको हुनसक्छ ।
यो शहरमा विशेषगरी कुन भेगका उपभोक्ता बढी मात्रामा आउने गर्छन् ?
–यहीँको जनसङ्ख्या ओभरफ्लो छ, अर्को कुरा के छ भने विराटचोक केन्द्र भएपछि बेलबारी, केराबारी, लेटाङ, हरैँचा, नेताचोक, दुलारीसम्मका उपभोक्ताहरू यहाँ आउने गरेको अवस्था छ । किनभने कसैले चाहेर या नचाहेर पनि यो आफै एउटा केन्द्र बन्यो । त्यसो भएकोले आसपासका सबै भूगोलबाट उपभोक्ताहरू आउने क्रम तीव्र बढेको छ ।
सुन्दरहरैंचा नगरपालिकाको नाम छ तर कोशी हरैंचा चाहिँ किन उद्योग वाणिज्य सङ्घको नाम रह्यो ?
–यो दुईटा नगरपालिका जोडेर एउटा नगरपालिका बनेको हो । पहिला यो कोशी हरैंचा नगरपालिका थियो । उताको सुन्दर दुलारी नगरपालिका थियो, दुईटै नगरपालिकालाई जोडेर हामीले सुन्दरहरैंचा नगरपालिका बनायांै र अहिले यो एउटै उद्योग वाणिज्य सङ्घ बनाउनु पर्छ भन्ने अभियानमै हामी छौं । हाम्रो पूर्वअध्यक्ष भोलेश्वर दुलालको संयोजकत्वमा हामीले एउटा टिम बनाएका छौं, त्यो टिमले एकीकरणको निमित्त गृहकार्य गरिराखेको छ । यो एकीकरण भइसकेपछि सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घ भन्ने बन्छ । त्यसकै एकीकरण प्रक्रियामा हामी लागिपरेका छौं ।
तपाईंलाई कोशी हरैंचा उद्योग वाणिज्य सङ्घले अध्यक्षको रूपमा पाइरहँदा यहा“का व्यवसायीहरूमा के परिवर्तन ल्याउन सक्नुभयो ?
–पहिलो कुरा यहाँका व्यवसायीहरूले कुनै चुनौति नमोलिकन नवराज चापागाईंजस्तो अध्यक्ष पाएपछि हामी शान्ति सुरक्षाको अनुभूति गर्ने, हामीलाई परेको बेला नवराजले सहयोग गर्छ र उद्योगी व्यवसायीहरूले चिन्ता गर्नु नपर्ने र नवराजको टिममा कोशी हरैंचा उद्योग वाणिज्य सङ्घका साथीहरू सबै सामाजिक व्यक्तित्व, क्षमता भएका इमानदार व्यवसायीहरूप्रति प्रतिबद्ध व्यक्तिहरू भएकोले निर्ढुक्क रूपमा कसैको दबाव सहनु पर्दैन । हामीले हाम्रो व्यापार व्यवसायहरू गर्न पाइन्छ भनेर यो फाइदा लिन सके । किनभने उच्च मनोबल भनेको व्यवसायीको निमित्त पहिलो हितको विषय हो । दोस्रो चाहिँ हामीले यहाँ देखिने गरी गरेको काम भनेको नेपालमै सार्वजनिक शौचालय महाअभियान भनेर उद्योग वाणिज्य सङ्घले चलाएको यो पहिलो हो । चारवटा शौचालय अहिले हामी कम्प्लिट गर्ने अवस्थामा छौं । त्यसैगरी चोक–चोकमा सिसी क्यामेरा जडान, डस्टबिन व्यवस्थापन, सरसफाइ अभियानलाई अगाडि बढायौं र समाजमा हुने हरेक सकारात्मक गतिविधिमा उद्योग वाणिज्य सङ्घको उपस्थिति रहने मान्यता स्थापित गर्यौं ।
प्रस्तुतिः विवेक मिश्र