पहिलो पटक फक्ताङ्लुङ मिडिया हाउसद्वारा आयोजित एसईई स्टेट वान सिङ्गिङ रियालिटी शो अन्तिम चरणमा पुगेको छ । शिक्षा र सङ्गीतलाई जोड्ने अभियान स्वरूप प्रदेश–१ का विभिन्न जिल्लाहरूबाट अडिसनमार्फत् छनौट गर्दै विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको फाइनल जेठ ३१ गते धरानको सभागृहमा हुँदैछ । यही सेरोफेरोमा मिडिया हाउस प्रा.लि.का अध्यक्ष डम्बरकुमार तुम्वापोसँग ब्लाष्टकर्मीले गरेको कुराकानीको सम्पादित अंशः

एसईई स्टेट वान सिङ्गिङ रियालिटी शोबारे बताइदिनुहोस् न ?
–यो एक नम्बर प्रदेशमा पहिलो पटक हामीले एसईई दिएर बसेका विद्यार्थीहरूको प्रतिभा उजागर गर्न सोचका साथ गरिएको कार्यक्रम हो । यो एक प्रकारको विद्यार्थीहरूमा भएको सङ्गीत र शिक्षालाई जोड्ने अभियान हो, यसले सहभागी विद्यार्थी भाइबहिनीहरूको शैक्षिक र साङ्गीतिक करियरलाई अगाडि ल्याउन सहयोग पुर्याउनेछ ।

अडिसन राउण्डमा कति सहभागी भए, फाइनलमा कति छन् ?
–वैशाखबाट शुरु गरिएको अडिसन राउण्डमा प्रदेश एकका दश जिल्लाबाट दुई सयभन्दा बढी सहभागी थिए । छनौटका विभिन्न चरणहरू पार गर्दै अहिले फाइनलमा दश जना स्पर्धी छन् ।

छनौट प्रक्रियाको आधारचाहिँ के नि ?
–हामीले पहिलो अडिसन विभिन्न जिल्लाका स्कुलहरूमा गएर लिएका थियौं । त्यहाँबाट छनौट भएर आएपछि हामीले दोस्रो अडिसनपछि भने धरानमै गर्यौं । अन्य विभिन्न रियालिटी शोहरूमा विशेषगरी पूर्वी नेपालमा भएका सिङ्गिङ रियालिटी शोहरूमा प्रायः ट्रयाकबाट नै गीत गाउन लगाइन्छ, तर हामीले रिदम राउण्ड, गाला राउण्ड, मेघा राउण्ड प्रत्यक्ष प्रस्तुतिमार्फत् सङ्गीतमै गरायौं । निर्णायकमा पनि गायिका प्रश्ना शाक्य, सङ्गीत प्रतिष्ठानका प्राज्ञ रामराज धामी र सङ्गीतकार विनायक राई हुनुहुन्थ्यो । मलाई जहाँसम्म लाग्छ एक नम्बर प्रदेशमै यो कार्य क्रमले रियालिटी शो कसरी सञ्चालन गर्ने भन्ने एक प्रकारको सन्देश पनि दिएको छ ।

फाइनल राउण्डमा छनौट कसरी गर्नुहुन्छ ?
–हामीले शुरुवातबाटै फरक कार्यहरू गर्दै निखारिएका प्रतिभा फाइनल राउण्डमा आएका छन् । फाइनल राउण्ड अन्य राउण्डभन्दा भिन्न छ । पछिल्ला शोहरूमा भोटिङका कारण विवादहरू भएको देखेका छौं, धेरैले मन पराएकाहरू पनि भोटिङका कारण बाहिरिएको देखेका छौं । जोसँग पैसा छ, त्यस्ता व्यक्तिहरूले पैसा खर्चेर भोटिङ गर्छन् । जोसँग स्वर छ, कला छ, उसलाई आमजनताले रुचाउँदा रुचाउँदै पनि नछानिने अवस्थाहरू देखेका छौं । त्यसैले हामीले भोटिङलाई २५ प्रतिशतमात्रै दिएर निर्णायकमा ७५ प्रतिशत अधिकार दिएका छौं । फाइनलमा मुख्य निर्णायकको रूपमा पहिलो नेपाली तारा दीपक लिम्बू हुनेछन् । त्यस्तै अडिसन राउण्डबाट नै निर्णायक रहनुभएका गायिका शाक्य, प्राज्ञ धामी र सङ्गीतकार राईसँगै हुनेछन् ।

यो प्रतियोगितामा भाग लिएका सहभागी विजेताले के–कस्ता पुरस्कार तथा सुविधाहरू पाउनेछन् ?
–टपटेनमा पुगेका जति पनि सहभागी छन्, उनीहरूले केही न केही छात्रवृत्ति त प्राप्त गरिसकेका छन् । विशेष गरेर विजेताले प्राप्त गर्ने भनेको नगद ५० हजार, विजेताको स्वरमा एउटा गीत रेकर्ड र म्युजिक भिडियो बनाइदिनेछौं । र, शैक्षिक क्षेत्रका लागि पनि विजेताले प्रदेश एकका विभिन्न कलेजहरूमा पूर्ण छात्रवृत्ति पाउने व्यवस्था गरेका छौं । यदि ऊ प्रदेश एकबाट बाहिर काठमाडौं गएर पढ्न चाहन्छ भने काठमाडौंको प्रतिष्ठित कलेज जेभियर इन्टरनेशनलमा पनि पूर्ण छात्रवृत्ति पाउनेछ । त्यस्तै दोस्रो हुनेले नगद तीस हजार र पचास प्रतिशत छात्रवृत्ति पाउनेछ भने तेस्रो हुनेले बीस हजार नगद र तीस प्रतिशत छात्रवृत्ति पाउनेछ ।

सङ्गीतभन्दा बढी शिक्षालाई जोड दिएजस्तो देखिन्छ नि ?
–टपटेनमा प्रारम्भिक शिक्षा हुँदै मावि तहमा आइरहँदा विद्यार्थीहरूले धेरै कुराहरू सिकेका हुन्छन्, त्योमध्ये गीत–सङ्गीत पनि एक हो । एसईई, मावि र उच्च शिक्षाको मध्यावस्था हो, उनीहरूले सिकेका प्रारम्भिक शिक्षादेखि मावि तहसम्म आइपुग्दा उनीहरूले सिकेका ती प्रतिभाहरूलाई एसईई र उच्च शिक्षाका लागि कलेजहरू जाने बीचको समयलाई सदुपयोग गरेर प्रस्फुटन गर्ने एउटा प्लेटफर्म हो । जसमा विद्यार्थीहरूको त्यो प्रतिभालाई एसईई दिएर रिजल्टको पर्खाइमा बसेको यो दुई महिनाको खाली समयलाई सदुपयोग गरेर, आफूले सिकेका प्रतिभालाई बाहिर ल्याउन सकोस् भन्ने उद्देश्य हो ।
प्रस्तुतिः डम्बर कार्की