दमक/ झापाको दमक नगरभित्र निर्माण सामग्री खाली सडकमा थुपार्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यदि गर्नै परेमा सडकमा त्रिपाल ओछ्याएर मात्र अनलोड गर्ने र तत्पश्चात तुरुन्तै आफ्नो घर कम्पाउण्ड वा जग्गामा व्यवस्थापन गर्नुपर्ने निर्णय गरिएको नगरकी प्रवक्ता गीता अधिकारीले बताइन् । साथै निर्माण गर्दा निर्माणस्थल नदेखिने गरी अनिवार्य जालीले ढाक्नुपर्ने समेत निर्णय भएको उनले बताइन् ।

जहाँ मन लाग्यो, त्यहीँ निर्माण सामग्री थुपारेर सडक साँघुरो पार्नुका साथै वातावरणमा समेत प्रतिकूल असर पारेका कारण नगरपालिकाले यस प्रकारको निर्णय गरेको प्रवक्ता अधिकारीले बताइन् । पक्की सडकलाई धुलोमुक्त बनाउन, मुख्य शहरी क्षेत्रभित्र भवन तथा कुनै पनि संरचना निर्माण गर्दा निर्माणकर्ताले खाली सडकमा निर्माण सामग्री थुपार्नसमेत नपाउने निर्णय गरिएको उनले बताइन् ।

नगरलाई स्वच्छ र हरितनगरको रूपमा विकास गर्ने उद्देश्यले नगर कार्यपालिकाले विभिन्न १० वटा निर्णय गरेको जनाएको छ । कुनै पनि निर्माणको काम गर्दा त्यहाँ राखिएका निर्माण सामग्री बाहिरी आँखाले नदेखिने गरी ढाकेर राख्नुपर्नेसमेत निर्णय गरिएको जनाइएको छ । यसरी ढाकेर निर्माण सामग्री राख्दा नगर कुरूप हुनबाट जोगिने र सफा देखिने नगरपालिकाको विश्वास छ । नगरलाई स्वच्छ बनाउनका लागि सडक, पेटी र सार्वजनिकस्थलमा फोहोरमैला फाल्न, जलाउन वा गाड्नसमेत निषेध गरिएको छ । सडक पेटी र सार्वजनिक स्थान अवरुद्ध हुने गरी वा फोहोर हुने गरी मालसामान राख्न वा बिक्री वितरणसमेत गर्न नपाइने निर्णय कार्यपालिकाले गरेको छ ।

नगरलाई स्वच्छ बनाउन सडक पेटी र सार्वजनिक स्थानमा वृक्षरोपण गर्न, खाली ठाउँ नभए गमलामा फूल रोप्नु पर्नेछ । जसका लागि आवश्यकताका आधारमा नगरपालिकाले नै बजेटको समेत व्यवस्था मिलाइदिने जनाइएको छ । त्यसैगरी नगरपालिकाले पूर्व–पश्चिम राजमार्ग तथा नगरक्षेत्रभित्रका अन्य मुख्य तथा सहायक सडकको दायाँ–बायाँ तोकिएको मापदण्डभित्र कुनै किसिमकका घर–टहरा, छाप्रा–पसल ठेला आदि राखी अवरुद्धसमेत गराउन पाइने छैन ।

नगरपालिकाले वातावरणको क्षेत्रमा गरेका यी निर्णयहरू यही असार २२ गते विश्व वातावरण दिवसका दिनदेखि पूर्ण रूपमा कार्यान्वयन गर्ने नगरपालिकाकाको वातावरण तथा सरसफाइ समिति अध्यक्ष टेकबहादुर थापाले जानकारी दिए । निर्णयको कार्यान्वयनमा केही चुनौती देखिए पनि नगरको स्वच्छतामा केन्द्रित रहेको हुनाले नागरिक आफैले साथ दिने अपेक्षा गरिएको थापाले बताए ।

यसभन्दा अगाडि पनि यस प्रकारका निर्णयहरू भएका हुन् तर प्रभावकारी कार्यान्वयन भएनन् नि भन्ने जिज्ञासामा उनले पहिला निर्णय कार्यान्वयन गराउने दर्बिलो संयन्त्रको अभाव भएकोमा अहिले वातावरण तथा सरसफाइ हेर्ने छुट्टै समिति नै भएकोले अब कडाइका साथ कार्यान्वयन गराउने बताए । थुपारिएका निर्माण सामग्री जफत गरिनुका साथै निर्माणाधीन संरचना निर्माणपश्चात् सम्पन्नताको प्रमाण–पत्रमा वितरण गर्ने बेलामा समेत कडाइ गरिने थापाले बताए ।