सिरहा । सिरहा जिल्लाका बजारहरूमा विषादी प्रयोग गरेर पकाइएका भारतीय आँप बिक्री वितरण भइरहेको छ । नेपालमा लगाइएको आँप जेठको तेस्रो सातापछि मात्रै पाक्ने भए पनि सिरहाका बजारमा अहिले कार्वाइड नामक विषादी हालेर पकाइएका भारतीय आँप बिक्री वितरण भइरहेको पाइएको हो ।
मानव स्वास्थ्यको लागि अत्यन्तै हानिकारक कार्वाइड प्रयोग गरेर पकाइएको आँप सिरहासहित प्रदेश नं.२ का जिल्लाका बजाररूमा खुलेआम बिक्री वितरण भइरहेको पाइएको छ । भारतका विभिन्न स्थानमा रहेका फलफूलका गोदामहरूमा कार्बाइड प्रयोग गरी पकाएका आँप प्रदेश नं.२ का विभिन्न जिल्लाका शहरहरूमा बिक्रीको लागि धमाधम ल्याउने गरिएको छ । यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकोले खान नहुने प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैयाका प्रमुख डा.राकेश यादवले बताएका छन् ।
प्रदेश नं.२ का ८ जिल्लामा भारतीय आँप बिक्री वितरण भइरहेको छ । सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, रौतहट, बारा, पर्सालगायत जिल्लाका बजारमा समेत कार्वाइड हालेर पकाइएका भारतीय आँप बिक्री वितरण भइरहेको छ ।
कृषि ज्ञान केन्द्र राजविराजका योजना अधिकृत किसुनदेव राउतका अनुसार नेपालमा आँप भर्खर बढ्ने क्रममा रहेको भए पनि भारतबाट वैशाखदेखि नै आँप ल्याएर बिक्री हुने गरेको छ । राउतले भने, ‘नेपालमा उत्पादित आँप जेठ तेस्रो साताबाट मात्र खानयोग्य हुन्छ । अहिले बजारमा पाइने आँप, छिटो पकाउन कार्वाइड विषादी प्रयोग गरिएकाले ती आप नखाँदा नै उपयुक्त हुने सुझाव उनको छ । प्रदेश नं.२ का बजारमा अहिले भारतबाट ल्याइएका आँप प्रतिकिलो १ सयदेखि १ सय ७० रुपैयाँमा बिक्री भइरहेको छ ।
विषादी राखेर पकाइएका आँप खाँदा टाउको दुख्ने, निन्द्रा लाग्ने, मानसिक तथा नशासम्बन्धी समस्या देखापर्ने र झाडापखलालगायतका रोग देखापर्ने प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैयाका प्रमुख डा.राकेश यादवले बताए ।
त्यसैगरी प्रदेश नं.२ का ८ जिल्लामध्ये सिरहा जिल्ला आँपको राजधानी मानिन्छ । सिरहामा अहिले भारतका विभिन्न स्थानबाट कार्वाइड प्रयोग गरी ल्याइएका आँप बिक्री भइरहेको छ ।
स्थानीय किसानको बगैँचामा फलेको आँप जेठको तेस्रो सातापछि मात्र पाक्ने भएकाले भारतका विभिन्न स्थानका फलफूल गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँप सिरहा सदरमुकाममा ८ नगरपालिका र ९ गाउँपालिका गरी १७ स्थानीय तहमध्ये लहान नगरपालिका, धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका, कर्जन्हा नगरपालिका, सुखीपुर नगरपालिका, मिर्चैया नगरपालिका, कल्याणपुर नगरपालिका, सिरहा नगरपालिका, भगवानपुर गाउँपालिका, नवराजपुर गाउँपालिका, बरियारपट्टी गाउँपालिका, अर्नमा गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, औरकी गाउँपालिका, सखुवानान्नकारकट्टी गाउँपालिका, नरहा गाउँपालिका र विष्णपुर गाउँपालिकालगायत शहरमा बिक्री भइरहेको स्थानीय विनोदकुमार साहले बताएका छन् । आँप उत्पादनको दृष्टिकोणले सिरहा जिल्ला अग्रणी मानिन्छ ।