बिर्तामोड/ कृषिलाई व्यावसायीकरण गर्ने उद्देश्यले झापामा ‘सुपारी जोन’ कार्यक्रम अघि बढाइएको एक वर्ष बितेको छ । सबैभन्दा धेरै सुपारी उत्पादन हुने जिल्ला झापा भएकाले सरकारले झापालाई सुपारी जोन घोषणा गरेको हो ।

सुपारी जोन घोषणा गरेको एक वर्ष बिते पनि सुपारी खेतीमा कुनै परिवर्तन नआएको किसानको भनाइ छ । झापा अर्जुनधारा नगरपालिकाकी धनमाया खरेल पहिले र अहिलेको खेती प्रणालीमा कुनै फरकपन महसुस नभएको बताउँछिन् । ‘मैले विगत ४० वर्षदेखि सुपारी खेती गर्दै आएकी छु’ खरेलले भनिन्, ‘सुपारी जोन घोषणा भएको भन्ने सुनिन्छ तर, हामी किसानले न प्राविधिक ज्ञान पाउन सकेका छौँ, न त अन्य केही सुविधा नै ।’ उत्पादित सुपारीको बजारीकरणमा पनि उस्तै समस्या रहेको उनी बताउँछिन् ।

अर्जुनधाराकै सुपारी कृषक अग्निप्रसाद शिवाकोटी पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई काठमाडौँले झापालाई सुपारी जोन घोषणा गर्दा व्यवसायीकरण हुनेमा विश्वस्त थिए । उनले धानखेती मासेर सुपारी खेती शुरु गरेका छन् । सुपारी जोन घोषणा भएसँगै प्राविधिक ज्ञान र विज्ञको परामर्श पाउने आशामा शिवाकोटीले खेती विस्तार गरेको बताए । खेती विस्तार गरे पनि प्राविधिक ज्ञानको अभावमा उत्पादनमा वृद्धि गर्न नसकेको उनी दुःखेसो पोख्छन् । सुपारीको बोट सुक्ने, टुप्पोमा ढुसी पलाउनेलगायत समस्याले यतिबेला उनी चिन्तित छन् ।

‘सरकारले सुपारी जोन त घोषणा ग¥यो तर हामीले प्राविधिकको अनुहारसम्म देख्न पाएका छैनौँ’ शिवाकोटीले भने, ‘अहिलेसम्म कुनै सहयोगको आश्वासनसमेत आएको छैन, सुपारी लगाउँदा राम्रै आम्दानी होला कि भन्ने थियो, रोग र कीराको प्रकोपले लगानी उठाउन नै समस्या भयो ।’ आम्दानी गर्नेभन्दा पनि बिहान–बेलुका छाक टार्ने मेलो नै हराएको उनी सुनाउँछन् ।
सुपारी जोनका लागि चालू आ.व.मा ३० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

झापाको मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिका र अर्जुनधारा नगरपालिकालाई समेटेर सुपारी जोन कार्यक्रम सञ्चालनमा ल्याइएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत स्थापना भएको सुपारी जोनमा किसानलाई सुपारी खेतीतर्फ आकर्षित गर्ने लक्ष्य राखिएको छ । तर, जोन घोषणापछि आवश्यक प्राविधिक नखटाउँदा किसान मर्कामा छन् । उत्पादन वृद्धिबारे ज्ञान नहुनु, रोग लागे आवश्यक औषधि उपचार गर्न नसक्नु किसानका समस्या रहेका छन् ।

कृषकहरू सुपारी पाक्दासम्म बोटमा नअडिने बताउँछन् । पाक्ने बेलासम्म अडिए आम्दानी बढाउन सकिने उनीहरूको भनाइ छ । सुपारी खेतीको प्रवद्र्धनमा सरोकारवालाको अपेक्षित सक्रियता नदेखिएको कृषकको आरोप छ । सुपारी जोन घोषणा गरे पनि हालसम्म प्राविधिकको व्यवस्था नगरेको कृषकको भनाइ छ । अहिले पनि किसानले परम्परागत रूपमै खेती र प्रशोधन गरिरहेका छन् । आधुनिक प्रणालीको ज्ञान, सहुलियतमा बीउ, मल, बजार व्यवस्था किसानको आवश्यकता रहेको उनले बताए ।

सुपारी जोन घोषणा भएसँगै सूचना जारी गरेर अनुदानका लागि किसानलाई आह्वान गरिएको सुपारी जोन सञ्चालक समितिका अध्यक्ष शेखर अधिकारीले जानकारी दिए । अनुदानका लागि माग गरिएका निवेदनमध्ये २४ वटा समूहलाई सहयोग गरेको अधिकारीले बताए । उनले समितिले सुपारीका बिरुवा वितरण गर्ने, तालिम गोष्ठी आयोजना गर्ने, सिंचाइको व्यवस्था गर्ने, सुपारीको पातबाट दुना टपरी बनाउने उद्योगलाई प्रवद्र्धन गर्नेलगायतका काम गर्ने अख्तियारी पाएको अधिकारीले बताए । जोन घोषणासँगै सरकारबाट प्राप्त ३० लाख रुपैयाँ खर्च गरेर उल्लेखित काम गर्दै गरेको उनले जानकारी दिए ।

प्रधानमन्त्री १० वर्षे कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत सुपर जोन, जोन, पकेट क्षेत्र र ब्लक घोषणा गरेर अनुदान उपलब्ध गराउन शुरु भएको छ । सुपर जोन र जोनको छुट्टाछुट्टै कार्यालय स्थापना हुनुपर्छ भने पकेटक्षेत्र र ब्लक चाहिँ जिल्लास्थित कृषि ज्ञान केन्द्रको मातहतमा रहने व्यवस्था छ । झापामा निर्माण भएको सुपारी जोनको कार्यालय भने हालसम्म स्थापना हुन नसकेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख शालिकराम भट्टराईले बताए ।

जोन कार्यालय स्थापना नभएसम्मका लागि झापाको कचनकवलमा रहेको धान सुपरजोन कार्यालयको मातहतमा सुपारी जोन कार्यक्रम सञ्चालन हुँदै आएको छ । विशेषगरी झापाका पूर्वी–उत्तरका तीनवटा स्थानीय तहमा सुपारी खेती हुँदै आएको छ । कार्यालयमा प्राविधिक जनशक्तिको व्यवस्थापन नभएकाले किसानसम्म पुग्न समस्या भएको भट्टराई बताउँछन् ।

झापामा हाल दुई हजार ६ सय ३१ हेक्टर क्षेत्रफलमा सुपारी खेती गरी वार्षिक नौ हजार ७ सय १० मेट्रिक टन सुपारी उत्पादन भइरहेको छ । परियोजनामार्फत् सुपारीखेती गर्ने किसानलाई सरकारले प्रयोगशाला सेवामा ८५ प्रतिशत, कृषि औजार तथा उपकरणमा ५० प्रतिशत, साना सिंचाइ पूर्वाधारमा ८५ प्रतिशत तथा कृषि व्यवस्थापन सेवा पूर्वाधारमा ८५ प्रतिशत अनुदान प्रदान गर्ने व्यवस्था छ ।

जोनमा मोहितनगर, हिरहिल्ली, सुमङ्गला, मङ्गला, श्रीमङ्गला, काइकुचीलगायत जातका सुपारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । काँचो सुपारी प्रतिकिलो ३५ रुपैयाँसम्ममा बिक्री हुने गरेको छ भने प्रशोधन गरिएको फाला सुपारी प्रतिकिलो ३ देखि ४ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।