'किरात प्रदेश राई र लिम्बूहरुको लागि अभिशाप'

alt
  • फाल्गुन २८, २०७५
  • अकल बहादुर मेयाङबो

विषय प्रवेशः
‘किरात’ शब्दको प्रयोग पहिलो पटक हस्तिनापुरका राजवंश पाण्डव र कौरवबीच भएको भयङ्कर युद्ध तथा महायुद्धकालमा भएको हो, यो महायुद्ध इतिहासले प्रमाणित नगरेको कारण मिथकको रूपमा लिइन्छ । वैदिककालमा १८ दिन चलेको यस युद्धमा राजा धृतराष्ट्रका १०० पुत्रहरू सबै मारिए । त्यो पौराणिक तथा ‘इपीकल’ महायुद्ध धर्म र पापबीच भएको युद्धको विषयमा लेखिएका महाभारत ग्रन्थमा पाइन्छ । त्यस महायुद्धमा कौरव वंश नै नाश भयो भने पाण्डव वंशको विजय मात्र होइन, स्वर्गसमेत प्राप्त गरे ।
 
त्यस युद्धमा वर्तमान नेपालका आदिवासीहरू पनि सरिक थिए, उनीहरू शुरुको अवस्थामा पाण्डव पक्षमा थिए भने पछि कौरव पक्षमा लागे र उनीहरूलेपनि ठूलो क्षति व्यहोरे । त्यसरी मारिएकामध्ये आदिवासी एकलव्य पनि हुन् । त्यसबेला जातपात थिएन । आदिवासीहरू विशेषगरी मुखिया तथा राजाहरूले शिरमा एक प्रकारको मुकुट धारण गर्र्थे । संस्कृतमा मुकुटलाई ‘किरीट’ भनिन्छ र किरीट धारण गर्ने भन्दाभन्दै कालान्तरमा किरात हुन गएको अनुमान छ । त्यो ‘किरात’ शब्दले धर्मभन्दा त्यस समयको सभ्यतालाई सम्बोधन गर्छ । उदाहरणका लागि १८ औं शताब्दिमा गोर्खा राज्य र लिम्बू राज्यबीच १८३१/०४/२२ मा भएको सन्धिमा याक्थुङ्बाहरूलाई सम्मानार्थ तिमीहरू हाम्रा कुल भाइ हौ भनी ताम्रपत्र लालमोहर प्रदान गरेको थियो । त्यस कारण ‘लिम्बू’ शब्द पनि जात नभई सभ्यता मात्र हो ।
 
वर्तमान किरातीहरूको प्रथम आगमन थलो काठमाडौं उपत्यका हो
नेपालका राई, लिम्बू र नेवारहरूले धेरै कालदेखि उनीहरूका पुर्खाहरूले भन्दै आएका कथा विवरण सुन्दै आएका थिए, हजारौं वर्षअगाडि काठमाडौंका राजा यलम्बर हाङ थिए, उनी किरातमूलका हुन् । तर यसलाई इतिहासले प्रमाणित नगरेको हुनाले उक्त भनाइ सरकार तथा सरोकारवालाहरूबाट मान्यताप्राप्त भएको थिएन, त्यसलाई मिथक तथा दन्त्यकथाको रूपमा लिने गरिन्थ्यो ।
 
तर नेपालका एक विशिष्ट प्रखर विद्वान इतिहासविद् प्रा.डा. जगदीशचन्द्र रेग्मीद्वारा लिखित प्रतिवेदन : ‘प्राचीन नेपालको संक्षिप्त किरात इतिहास’ वि.सं. २०६६ मा प्रकाशित पुस्तकले किरात यलम्वर सम्वत्लाई इतिहासको रूपमा मान्यता पाएको छ । उनलाई काठमाडौंस्थित लिम्बू र राई भाषाविद् तथा विद्वानहरूले पनि सहयोग पु¥याएका थिए र इतिहास लेखक प्रा.डा.जगदीशचन्द्र रेग्मीलाई काठमाडौंमा रहेका प्राज्ञ वैरागी काइलालगायत राई र लिम्बू विद्वानहरूले उनलाई धन्यवाद दिए । इतिहासलाई पुष्टि गर्न स्रोतको आधार भनेको सबैभन्दा पुरानो ग्रन्थ गोपालराज वंशावली हो । महेशपाल वंशपछि इतिहासअनुसार ३२ किरात राजाहरूले शासन गरेको पाइन्छ । ती ३२ राजाहरूले जम्मा १९०३ वर्ष शासन गरे । इतिहासअनुसार वि.सं. २०६६ तथा सन् २००९ मा यलम्वर सम्वत् ३७२७ पुगेको मानिन्छ ।
 
किरातीहरू काठमाडौंमा कहाँबाट आए ?
केही विदेशी इतिहासकारहरूले मेसोपोटामियाबाट भारतवर्षको इन्दुस भ्याली (सिन्ध प्रान्त) मा ७ हजारदेखि १५ हजार वर्षअगाडि आइपुगेका थिए, ती समूह किरातमूलका थिए । त्यहाँ उनीहरूले नयाँ शहर निर्माण गरे र नहर बनाई आधुनिक कृषि गर्न थाले । उनीहरूले निर्माण गरेको शहरलाई ‘हडप्पा’ भनिन्छ । इतिहास खोज तथा अनुसन्धानकर्ता विद्वान तथा वैज्ञानिकहरूले यस उपत्यका तथा हडप्पा सभ्यतालाई किरात सभ्यता हो भनेका छन् । र धेरै वर्षपछि वल्र्ड हिस्ट्रीअनुसार त्यहाँ आर्य जातिको एक समूह मेसोपोटामिया हुँदै १७५० बिसीमा त्यहाँ आइपुग्यो । उनीहरू किरात जातिसित लामो समयसम्म मिलेर शान्तिसँग बसे । आर्यनहरू ती किरातहरूलाई असुर भन्ने गर्थे ।
 
इतिहासमा पाइएअनुसार मेसोपोटामियामा वि.सं. २३०० तथा आजभन्दा ४३१९ वर्षअगाडि असुर नाम गरेका राजाले असुरियन सिटी निर्माण गरे । सम्भवतः उनीहरूको पुर्खा किरात थिए र त्यसैकारण उनीहरूलार्ई असुर जाति भनेका हुनुपर्छ । कालान्तरमा किराती हडप्पा र आर्यनबीच भयङ्कर युद्ध हुन गयो । त्यसबेला हडप्पाका राजा साम्बर थिए । महादेवले आर्यहरूको पक्ष लिए, उनले चलाएका वाणले हडप्पावासीले निर्माण गरेको विशाल नगर ध्वस्त भयोे र किरातीहङ पराजित भए, युद्धमा राजा साम्बर मारिए । त्यसपछि किरातहरू विभिन्न मुखियाहरूको नेतृत्वमा उत्तर–पूर्व दिशातर्फ लागे । त्यसरी नयाँ बासस्थानको खोजी गर्दै हिँडेकामध्येको एक समूह काठमाडौं आइपुग्योे । दोस्रो समूह हाल भारतको सिम्रौनगढ हँुदै वर्तमान लिम्बुवानमा आइपुग्यो भने तेस्रो समूह पूर्वी बर्मा र चीनको सिमानासम्म पुग्यो ।
 
आधुनिक नेपालका किरातहरू
नेपालका शासक तथा राजाको रूपमा सबैभन्दा पहिला ‘किरात’ शब्द प्रयोग गर्ने राजा पृथ्वीनारायण शाह हुन् । उनले बेला–बेला माझकिरात र पल्लो किरात शब्द प्रयोग गर्थे तर उनले राईहरूलाई प्रदान गरेको पहिलो लालमोहरमा किरात रायहरूलाई राई र खम्बु नभनी मझिया भनेका छन् । जस्तैः स्वस्तिश्री १० लादासिङ कुलुङसिङ मझिया, पावा मझिया, साङ्ला मझिया, देलुङ्वा मझिया, थुपु मझिया, मल्दा मझिया, पाठक मझिया र सोजित मझिया के आशिक सम्वत् १८३० श्रावण वदी हाल मुकाम मक्वानपुर शुभम् भनी लेखेका छन् । तर अरुणपूर्वका याक्थुङ्बाहरूसित युद्ध समाप्त गर्न गोर्खा राज्य र याक्थुङ्बाहरूबीच १८३१÷४÷२२ मा विजयपुर दरबारमा सन्धि भएको थियो ।
 
त्यस ऐतिहासिक सन्धिमा लिम्बू तथा याक्थुङ्बा राजाहरूलाई ‘राय’ सम्बोधन गरेको पाइन्छ । त्यहाँ सबै याक्थुङ्बाहरूका प्रतिनिधित्व गर्न श्री श्री सुनराय, श्री फुङराय, श्रीजङ्गरायहरूले सन्धि पत्रमा हस्ताक्षर गरे । त्यसपछि फेदापका राजा आताहाङ राय, मेवाखोलाका राजा श्री श्रीदेवराय, मैवाखोलाका राजा रैनसिंह राय र तमर खोलाका राजा सुभन्त राय पनि विजयपुर दरबार आई सन्धिपत्रमा सहीछाप गरे । रायको अर्थ राजकीय पद तथा राजा हो । हाङ तथा राजाहरूले मात्र राय लेख्न पाउँथे भने अरुले नाम र थर लेख्थे । तर पछिल्लो समयमा अज्ञानतावश शब्दको अर्थ नबुझी रायको ठाउँमा राई लेख्ने गरेको पाइन्छ । यो पंक्तिकारको पुर्खा पतवा रायलाई पनि पतवा राई लेखेको पाइन्छ । वि.सं. १८६४ मा भोजपुर हतुवागढीबाट विस्थापित भएका हजारौं मझिया तथा खम्बूहरू अरुणपूर्व लिम्बुवानमा आई बसे र उनीहरूले कालान्तरमा राई लेख्न थाले ।
 
मानव जातिको सृष्टि
आजसम्म पाइएका प्रमाणहरूको आधारमा मानिस जातिको सृष्टि तथा उद्गमथलो दक्षिण अफ्रिकालाई मानिएको छ । पछिल्लो समयमा वैज्ञानिहरूको खोज अनुसन्धानमा भेटिएका विभिन्न तथ्य तथा प्रमाणहरूअनुसार मानव जातिका आदिम पुर्खा Homo-Erectus बाट परिवर्तित हुन पुगेका Homo-Sepien Sepien जाति हुन् । ३० देखि ३५ हजार वर्षअगाडि उनीहरू अफ्रिकामा देखा परे । त्यो समय भनेको रामायण र महाभारतकालभन्दा धेरै अगाडिको कुरा हो । Great Ice Age समाप्त भएपछि बि.सी. १२ तथा आजभन्दा १४ हजार वर्षतिर मानिस कृषि युगमा प्रवेश गरे पनि मानव सभ्यता आरम्भ भएको थिएन, सबै जङ्गली युगमा थिए । भारतवर्षको सभ्यता शुरुवात रामायण र महाभारतकालबाट भएको मानिन्छ, तर आजसम्म पनि इतिहासले प्रमाणित गर्न सकेको छैन ।
 
चीनमा Homo-Sepien Sepien  मूलका मानिस जातिको बसोबास १० हजार वर्षअगाडिबाट भएको मानिन्छ तर इतिहासले चीनमा २८५० बिसी वा आजभन्दा ४८६९ वर्षअगाडि फुही नाम गरेका मानिस राजा बनेपछि चिनियाँ सभ्यता आरम्भ भएको मानिन्छ । मेसोपोटेनिया हाल इराक, इजरायल र इरानको सभ्यता ४००० बिसीमा शुरु हुँदा आज ६०१९ पुगेको छ र अरुको भन्दा मेसोपोटामिया सभ्यता प्राचीन मानिन्छ । त्यस्तै इजिप्टका राजाहरूले सभ्यता सँगसँगै २५८० र २०१९ जोड्दा आजभन्दा ४०९९ वर्षअघि पिरामिड बनाउन थाले । वर्तमान राई र लिम्बूहरूलाई किराती सभ्यताको मान्यता महाभारतकालले प्रमाणित गरेको मानिन्छ । जापानीहरू चीनबाट गएका हुन्, इण्डोनेशियनहरू भारतबाट बर्मा, मलाया हुँदै इण्डोनेशिया पुगेका हुन् । उनीहरू र मलेसियनहरूको प्राचीन सभ्यता एकै भए पनि वर्तमान अवस्थामा मान्न तयार छैनन् । उनीहरूबीच सन् १९६३ देखि १९६६ सम्म भयङ्कर सीमायुद्ध भएको थियो र चीनमाथि पनि जापानले पटक–पटक आक्रमण गरेको थियो ।
 
किरात राई र किरात लिम्बू
इतिहासअनुसार उनीहरू काठमाडौंमा ३७२७ वर्षअगाडि आइपुगेको यलम्बर राजाका सन्तानहरू त्यहाँबाट विस्थापित भएको पनि १६२४ वर्ष भयो । त्यो १६२४ वर्षभित्र उनीहरूबीच कयाैं परिवर्तन आए । सबैभन्दा पहिलो त धर्ममा परिवर्तन तथा विभाजित भए लिम्बूहरूले आफ्नो वेदलाई ‘मुन्धुम’ भन्छन् भने रायहरूले ‘मुन्दुम’ । लिम्बूहरूको मूल देवी तथा सृष्टिकर्ता  तागेरा निङ्वाफु माङ हो । रायहरूले पारुहाङ र सुम्निमालाई सृष्टिकर्ता मान्छन् । त्यसरी धर्म संस्कृती संस्कारमा पनि फरक छ । त्यसरीनै भाषा र लिपिमा पनि ठूलै अन्तर छ, बोली वचन मिल्दैन । यो बितेको १६२४ वर्षको उपज हो । यस्तो अवस्थामा रहेका यी दुई समूहलाई २१ औं शताब्दीको नेपालको नयाँ संविधानले राई र लिम्बू एउटै जाति हो भन्नु विल्कुल तर्कसङ्गत छैन । राईको पहिचान खम्बु र लिम्बूको पहिचान याक्थुङ्बा हो ।
 
इतिहासअनुसार हाङ तथा राजा यलम्बरका शाखा सन्तानहरू काठमाडौंबाट विस्थापित भएको करिब १६२४ वर्ष भयो । मेन्याङ्बो कल्याणकारी सङ्घ नेपालद्वारा प्रकाशित वंशावलीअनुसार वर्तमान लिम्बुवानमा ३ तिरबाट किरात मुलका मनिसहरु आएका बताउँछन् । पहिलो समूह हाल भारतको सिम्रौनगढ हुँदै लिम्बुवान आइपुग्यो, दोस्रो समूह अन्दाजी २००० वर्षअगाडि बर्मा र चीनको सिमानाबाट धनकुटाको बोधेमा आइपुग्योे र तेस्रो समूह भुटान हुँदै सिक्किम पार गरेर हाल पाँचथरको च्याङ्थापु आइपुग्यो । आजभन्दा ११००–१००० अघि उनीहरूले १० याक्थुङ्बा राष्ट्र तथा राज्य स्थापित गरेपछि तीनैतिरबाट आएकाहरू एउटै समूहमा सङ्गठित हुन पुगे । १८३१/४/२२ मा गोर्खा राज्य र १० याक्थुङ्बाहरूबीच भएको सन्धि–पत्रमा हस्ताक्षर गर्नेहरू अधिकांश हाङ तथा रायहरू उनीहरूकै सन्तान थिए । तर राई, खम्बु तथा मझियाहरूको इतिहास भने त्यति प्रष्ट छैन । उनीहरूसित लिपि पनि छैन भने भाषामा पनि समस्या छ । लिम्बूहरूले १८३१/४/२२ मा भएको सन्धिको आधारमा पहिलाबाटै स्वायत्तताको माग गरिरहेका थिए भने राई समुदायले विशेषगरी २०६२/०६३ पछि मात्र सशक्त रूपमा किरात खम्बुवान स्वायत्तता राज्यको माग गर्न थालेका हुन् ।
 
अन्त्यमा,
विशिष्ट इतिहास बोकेका लिम्बूहरूको माग भनेको अरुणपूर्वका ९ जिल्ला तथा वि.सं. १८३१/४/२२ मा भएको ऐतिहासिक सन्धिको आधारमा स्वायत्तता लिम्बुवान हुनुपर्छ तर ५ जिल्ला थपेर किरात प्रदेश होइन । किरात राई समुदायले एक पक्षीय रूपमा लिम्बूहरूलाई इतिहासबाट ओझेलमा पार्ने हेतुले बाहुन शासकहरूले रचेका षड्यन्त्रलाई समर्थन गर्नुलाई प्राचीन किरात सभ्यताको मूल्य र मान्यतामाथि आघात पुर्याउन तथा अपमान गर्नु हो ।
 
१ नं. प्रदेशलाई किरात प्रदेश नामाकरण गर्नुको अर्थ लिम्बूहरूलाई राजनीतिक र सामाजिक रूपमा अल्पमतमा पार्नु मात्र नभई उनीहरूको विशिष्ट इतिहासलाई पूर्णरूपमा नष्ट गरी पहिचानविहीन बनाउने षड्यन्त्र हो । यसलाई लिम्बूहरूले जातीय संहारसरह मान्न सक्छन् । तर यो २१ औं शताब्दी भनेको पहिचानवादीहरूको शताब्दी हो । यसकारण लिम्बूहरूले आफ्नो ऐतिहासिक पहिचान त्यति सजिलोरूपमा त्याग्लान् जस्तो लाग्दैन । तर पहिले तीतो र पछि मीठोमा विश्वास राख्ने सिधासाधा लिम्बूहरूमा भय उत्पन्न हुन थालेको छ । शासकहरूले लिम्बूहरूको सहमतिबिना किरात प्रदेश घोषणा गरेमा लिम्बू र राईबीचको ऐतिहासिक एकता अभिषाप बन्न सक्छ ।

प्रधानमन्त्री ओली र ...

धरान । बिहीबार विहान नेपाल आएका भारतीय विदेश सचिव हर्षब ...

प्रदेश १ मा २०७ संक् ...

धरान । प्रदेश १ मा आज २०७ जना कोरोना संक्रमित थपिएका छन ...

नाली निर्माणमा अनियम ...

विराटनगर । विराटनगर महानगरपालिका–१३ बिकेभिएम स्कू ...

बेल्टारमा कार्यरत प ...

ब्लाष्टखबर । ईलाका प्रहरी कार्यालय बेल्टारमा कार्यरत ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved