ताप्लेजुङ/ ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं. १ सावदेनकी लाक्पा ओङ्मू शेर्पाले ५८ वर्षको उमेरमा नेपाली नागरिकता पाइन् । त्यो पनि जिल्ला प्रशासन कार्यालयले फक्ताङ्लुङ् गाउँपालिकाको शिवा बजारमै आयोजना गरेको एकीकृत घुम्ती शिविरमार्फत् । सावदेनबाट करिब साढे १ घण्टाको पैदल दूरीमा रहेको शिवा बजारमा आयोजना गरिएको शिविरमा पुगेकी शेर्पालाई निकै हतारो थियो । 
 
चाउरी पर्न थालेकोे अनुहारमा लाक्षी (वृद्ध महिलाहरूले कपाल बाँध्न प्रयोग गर्ने एक प्रकारको धागो) को फुर्काले पसिना पुछ्दै आइपुगेकी शेर्पाले आफ्नो काम छिटो गरिदिन वडाध्यक्षलाई आग्रह गर्दैथिइन् । उनी भन्दै थिइन्, ‘घरमा कोही पनि छैनन् । यहाँबाट पुगेर गाईवस्तुलाई चराउन लानु छ ।’ शेर्पाजस्तै ग्रामीणभेगका महिलाहरूको बाध्यता यस्तै छ । बिहान छोराछोरीलाई खाना पकाएर खुवाउनेदेखि घरका सबै काम गर्ने जिम्मेवारी महिलाकै हुन्छ ।
 
घरका पुरुष जति मजदुरी गर्नको लागि बिहानै निस्कन्छन् अनि साँझमा मात्र फर्कन्छन् । जसका कारण पनि घरका सबै काम महिलाहरूले नै भ्याउनुपर्ने अवस्था छ । शेर्पाजस्तै लेलेपकी फुपुडेमा भोटेले पनि ७० वर्षको उमेरमा सोही शिविरमार्फत् नागरिकता लिइन् । ७० वर्ष पुगेपछि वृद्धभत्ता पाउने भएकाले उनले नागरिकता लिएकी हुन् । बुढ्यौली उमेरमा नेपालको नागरिकता पाउँदा उनी धेरै उत्साहित देखिन्थिन् । यसरी एकीकृत घुम्ती शिविरमार्फत् नागरिकता लिने पुरुषको तुलनामा महिला नै बढी छन् । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा यस आर्थिक वर्षको माघ महिनासम्ममा ४ ओटा घुम्ती शिविर सम्पन्न भइसकेका छन् ।
 
शिविरमार्फत् नागरिकता लिनेहरूको तथ्याङ्क हेर्दा महिलाको सङ्ख्या बढी छ । जिल्ला प्रशासन कार्यालयले दिएको तथ्याङ्कअनुसार गत असोजमा मैवाखोला गाउँपालिकाको साँघुमा १ सय ४८ जनालाई नागरिकता वितरण गरिएकोमा ८३ जना महिलाले नागरिकता लिएका थिए । यस्तै पौषमा मिक्वाखोला गाउँपालिकाको खोक्लिङमा आयोजित शिविरमा १ सय ८९ जनाले नागरिकता लिएकामध्ये १ सय ३६ जना, मेरिङ्देनमा आयोजना गरेको शिविरमा १ सय ३५ मध्ये ७३ र फक्ताङ्लुङ गाउँपालिकाको सिवामा आयोजित शिविरमा १ सय ४८ मध्ये ८३ जना महिलाले नागरिकता लिएका हुन् ।
 
प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार अहिलेसम्मका सबै शिविरमा नागरिकता लिने महिला नै बढी छन् । ‘कतिपय महिलालाई घरबाट बाहिर निस्कने समय नै नहुँदो हरेछ । उनीहरूले यस्ता घुम्ती शिविरमार्फत् सेवा लिएका छन्’ प्रजिअ भण्डारीले भने, ‘सदरमुकामसम्म पुग्दा धेरै खर्च लाग्ने साथै समय पनि धेरै लाग्ने भएकाले महिलाहरूले नागरिकता नबनाउने गरेका रहेछन् ।’ ग्रामीण भेगमा यस्ता किसिमका घुम्ती शिविरबाट महिला तथा वृद्धवृद्धाहरूका लागि बढी प्रभावकारी भएको प्रजिअ भण्डारीको बुझाइ छ । 
 
जिल्लाका ग्रामीणभेगबाट जिल्ला सदरमुकामसम्म आएर नागरिकता बनाएर फर्कन कम्तिमा पनि एक हप्ताको समय छुट्याउनु पर्छ । पुरुषहरूले सदरमुकामसम्म आएर नागरिकता लिने भए पनि महिलाहरू भने यति लामो समय निकाल्न सक्दैनन् । आगामी दिनमा आफ्नो गाउँपालिकाका स्थानीयलाई मध्यनजर गर्दै यस्ता एकीकृत घुम्ती शिविरको आयोजना गर्ने फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष सरोज एभेङले बताए । ‘जिल्ला सदरमुकामसम्म गएर नागरिकता लिनको लागि एक हप्ताको समय लाग्छ ।
 
एक त महिलाहरूलाई यति धेरै समय पनि नहुने, अर्को खर्च पनि धेरै लाग्ने भएकाले घुम्ती शिविर मार्फत् नागरिकता लिनेको सङ्ख्या बढी नै छ ।’ जिल्ला प्रशासन कार्यालयको आयोजनामा गरिने यस्ता शिविरमा नागरिकताका साथै मतदाता नामावली दर्ता, अपाङ्गता प्रमाण–पत्रलगायतका सेवा एकै ठाउँबाट लिन सकिन्छ । प्रशासन कार्यालयका अनुसार यस आर्थिक वर्षमा अझै केही स्थानमा एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने कार्यतालिका रहेको छ ।