धनकुटा/ अन्दर्बुङ (हाल नेपालीकरण भएर अत्तरपुर) सिन्धुपाल्चोक जिल्ला स्थित लिसंखुपाखर गाउँपालिकाको वडा नं.४ मा पर्दछ । यो तामाङ जाति भित्रको मोक्तान थरी तामाङहरुको किपट भूमी वा उद्धगम थलो मानिन्छ । मोक्तान तामाङ जातिभित्रको एक थर हो । मोक्तानथरको तामाङहरुको आदिम थलोको रुपमा अन्दर्बुङलाई मानिन्छ ।

मोक्तान थरी तामाङहरु कसरी आइपुगे त अन्दर्बुङ ?
मोक्तानहरुको किपट मानिने यस ठाउँको पहिलो व्यक्ति को त ? सेम्छ्यु मोक्तान रिम्र्पोछे यस स्थानमा आइपुग्ने पहिलो व्यक्ति भएको स्थानीय बुद्धिजीवीहरु बताउँछन् । सो विषयमा स्थानिय ८६ वर्षे गान्बा ताम्बा (वृद्ध माननीय/पुख्र्यौली इतिहासकार) ङिमादोर्जे मोक्तान तामाङ भन्छन्- मोक्तान तामाङहरुको पुर्खा भनेका सेम्छ्यु मोक्तान रिम्र्पोछे हुन् ।

गान्बा ङिमादोर्जेले सुनाएको कथा यस्तो छ :
बोइ ह्युल (तिब्बत) बाट मुकु ग्याल्सा ला ग्ला (हालको मुगु) हुँदै म्हेमे खेङा (पाँच भाई पुर्खाहरु) आइपुगे । बा/आमा र पाँच जना छोरा । पाँच दाजुभाई भएकाले उनीहरुलाई खेङा म्हेमे-पाँच भाई पुर्खाहरु) भनियो । उनीहरुमा मोक्तान, योञ्जन, घिसिङ, दोङ र ब्रोक्चन थिए । त्यतिबेला खानेकुरा करु (जौको प्रजाति) र आलुमात्र हुन्थ्यो । उब्जनी कम भएपछि त्यहाँ नबस्ने भनेर सल्लाह गरे । पाँचौमध्ये कान्छा ब्रोक्चन नामका पुर्खा भने चीनतिर नै लागे र उनीहरु चीनमै शक्तिशाली भएर बसेका छन् भन्ने कुरा छ ।

मोक्तान, योञ्जन, घिसिङ र दोङ चारभाई स-परिवार त्रिशुली नदीमा आइपुगे । उनीहरु बोइ (तिब्बत) बाट करुको पिठो र आलुको चना (काटेर सुकाइएको आलु) बोकेर आएका थिए । त्यहाँबाट छोङ्दी छेरोला गब्बारी (तिब्बतमुनि खासा वरपर) भन्ने ठाउँमा आइपुगे । त्यहाँ ५० जना भन्दा बढी मानिस अट्ने ओडार छ, भनिएको छ । त्यही चार दाजुभाई र उनीहरुको परिवारको बास भयो । पिठो र आलु खाए । पानी भने थिएन । उनीहरुलाई तिर्खा लाग्यो । त्यसपछि पानीको खोजी भयो । पहरोभित्र पानी खसिरहेको आवाज जेठा सेम्छ्यु मोक्तान रेम्पोर्छेले सुने । उनले सुनको बार्सा (फुर्वा) ले पहरामा प्रहार गरे । नभन्दै पानी निस्क्यो । पानी थाप्नुपर्ने, कुनै भाँडा थिएन ।

योञ्जन थरी पुर्खाले पानी थाप्नका लागि डोको बुने । डोको तयार भयो । पानी थापेपछि थाह भयो । डोकोमा पानी आट्दैन । योञ्जन पुर्खा भने लाज र रिसले चुर भएका थिए । उनले डोको हुर्याएर फाले । त्यहीबेला बल रिम्पोर्छेले दर्शिन ढुंगाबाट आगो निकाले र पकाएर खाने बन्दोबस्ती मिलाए । त्यहाँबाट उनीहरु अझै तल झरे “न्हाक्पा च्यात” मा ।उक्त स्थान हालको बाह्रबिसेभन्दा माथि पर्छ । त्यहाँ माछाको मुल नै थियो । जमिनबाट माछा निस्कन्थ्यो भनिन्थ्यो ।

उनीहरु बस्न थालेपछि माछा निस्कने क्रम घट्यो भनिएको छ । त्यहाँबाट उनीहरु बाह्रबिसे (सिन्धुपाल्चोक) फर्के र १२ दिनसम्म त्यही बसे ।फेरि सुनकोशी नदी तर्फ लागे । सुनकोशीमा गाईको छाला र मृगको छालामा सुन सुकाई बसेको बेला सबै सुन हुरीबतासले उडाइदियो । त्यहाँबाट सेम्छ्यु मोक्तान रिम्पोर्छे पूर्व तिर लागे । दोलखाको एक गाउँ पुगे । त्यति बेलासम्ममा सेम्छ्यु मोक्तान रेम्पोर्छे नामी शिकारी भईसकेका थिए । त्यस ठाउँकी रानी थिइन,तीसै दिनमा तीस थरीको मासु चाहिने । रिम्पोर्छे हरेक दिन शिकार खोज्न जान्थे ।

वनबाट किसिम/किसिमका चरा र वन्यजन्तुको शिकार गरी ल्याउँथे । एक दिन रिम्पोर्छेले कुनै शिकार भेटेनन् । त्यस दिन रानी पनि शिकारको खोजीमा लागे । संयोगबश भंगेरा रानीकै काँधमा बस्यो । रानीले भंगेरालाई मारिहाल्नु भनी रिम्पोर्छेलाई आदेश दिइन् । सेम्छ्युले भंगेरालाई ताकेर हाने तर दुर्भाग्यवश तीर रानीको मुटुमा लाग्यो र त्यही रानीको देहान्त भयो । त्यसपछि सेम्छ्यु ज्यानमारा ठहिरए । त्यस घटनापछि रिम्पोर्छे उक्त स्थानबाट लखेटिए । त्यतिबेला दण्ड सजाय र जेलनेलको व्यवस्था थिएन । रानी मारेको आरोपमा उनलाई त्यस ठाउँबाट निकाला गरियो ।

त्यसपछि उनी पश्चिम तर्फ लागे । जंगलमा रात पर्यो । त्यही ओडारमा आगो बालेर बसे । त्यतिबेला त्यतै नजिकै केही माथि गोल्मो राजाको दरबार रहेछ । राजाले जंगलमा धुवाँ देखेपछि सोधपुछ गर्न पठाए । सेम्छ्युले आफु दण्डित भएको कुरा सुनाए । कुरा सुनेपछि उनलाई दरबार बोलाइयो । राजाले आफ्नी छोरी सेम्छ्यु मोक्तान रेम्पोर्छेलाई बिहे गरिदिए । सेम्छ्ुलाई राजकुमारीसँगै धनदौलत दिएर ह्यु गङमा बसोबास गर्न पठाए । साँझ पर्दा अन्दर्बुङको ह्यु गङमा आइपुगे र त्यही घरजम गरी बसे । ह्यु भनेको आँगन र गङ भनेको तामाङ भाषामा डाँडा हो । अहिले पनि अन्दर्बुङको भूमेथान अर्थात देवता थान यही नजिकै रहेको छ ।

अहिलेको ह्यु गङ
हाल ह्यु गङ चौरमा परिणत भएको छ । यहाँ उत्खनन गरेमा पुराना ढुंगा अझै भेटिने स्थानीयहरुले बताउने गरेका छन् । त्यही सेम्छ्यु मोक्तान रिम्पोर्छेले घोडा बाँध्ने गरेको स्थान पनि रहेको छ । यसैगरी ह्यु गङको केही परपर त्यतिबेला बनेका अम्लुङ म्हानेका अवशेष र लुन्डु म्हानेको पनि रुपमा रहेको छ । अम्लुङ म्हाने भत्किएको अवस्थामा त्यस म्हानेका केही अक्षर कुँदिएका ढुंगाहरु त्यहाँ अझै सुरक्षित छन्न् ।

अम्लुङ म्हाने र लुन्डु म्हानेको अर्थ ः
ह्यु गङमा बसाईपछि त्यहाँ बस्ती फैलियो । पछि स्मारक म्हाने बनाउने योजना तय भयो । तर म्हाने बनाउने भनिएको वर्षमै नुन सकियो । केही मानिसहरु नुन लिन तिब्बत लागे भने बाँकी म्हाने बनाउन तिर लागे । नुन नआइ पुग्दै म्हाने बन्यो ।

नुन नखाईकन बनाएको हुनाले उक्त म्हानेको नाम नै अम्लुङ म्हाने (अलिनो माने) राखियो । अहिले पनि मोक्तान थरी तामाङहरुले म्हाने बनाए भने अम्लुङ म्हाने बनाउनने चलन रहेको बताईन्छ । त्यस्तै ह्यु गङ भन्दा केही तल “लुन्डु म्हाने” पनि रहेको छ । म्हाने बनाउँदा बनाउँदै म्हाने बनाउने आयोजकको निधन भएकोले उक्त म्हानेको निर्माण कार्य पुरा हुन सकेन । उक्त स्थान अहिले बनमारा र झाँडीले छोपिएको छ ।

पहरीसँगको लडाई र पहरीको देवतालाई पूजा ः
ह्यु गङमा देशान अर्थात महामारी लागेपछि मोक्तान अलि तल पङ्च्योतमा बसाँई सरे । त्यही मौकामा केही पहरीहरु ह्यु गङमा आएर बसेको हुनसक्ने स्थानीय तम्बा गंगाबहादुर मोक्तानले बताएका छन् । उनकाअनुसार पहरीहरु शिकारी स्वभावका हुन सक्ने र लुकेर बसेका थिए ।पहरीहरुले मोक्तानहरुले लगाएका बालीनाली चोरी खाने र तिब्बतमा नुन लिन जाँदा धेरैजसो बालबालिका पहरीले शिकार गरेका थिए ।

बच्चाहरु पहरीको शिकारीमा परेपछि गाउँका सबै मोक्तान भेला भए र पहरीको क्रियाकलापमाथि निगरानी थाले । प्रहरी जाति वाण बोकेर शिकार गर्न हिड्थे । तर मोक्तानहरुसँग कुनै हतियार थिएन । त्यसैले मोक्तानहरुले मुख्य पहरीको हतियार र उनको शक्तिबारे बुझे । ‘थना गाई (राख्ने), मना गाई (पठाउने) मुख्य पहरीले यसो भनेर तीर निकालेको देखेपछि पत्ता लाग्यो धेरै शक्ति रहेन छ । एउटै मात्र तीर निकाल्दै थना गाई, मना गाई भनेको देखेपछि मोक्तानहरुले उनलाई उचित दिन पर्खेर आक्रमणमा घेरे । मुख्य पहरीले मोक्तानहरुमाथि वाण प्रहार गरे । उक्त वाणले कसैलाई लागेन । प्रहरी भागे ।

मोक्तानहरुले मुख्य पहरीलाई लखेटे । लखेटिएका मुख्य पहरी एउटा काटिएको रुखमा उनिए र उनको प्राण त्यही गयो । त्यसपछि मोक्तानहरुले अन्य पहरीलाई पनि उक्त स्थानबाट लखेटे । उक्त स्थानमा भूमे डाँडामा पहरीले मान्ने देवीस्थान रहेको छ । उक्त स्थान कब्जामा लिएपछि मोक्तानहरुले पहरीको देवतालाई पनि मान्न थालेको बताइन्छ । उक्त स्थानमा पूजा गर्दा पहरी भाषा प्रयोग गरिने बताइन्छ ।

किन रोजियो त अन्दर्बुङ ?
नुन लिन नजिक परेकोले यही ठाउँ बसोबासका लागि रोजेको हुन सक्ने बताइन्छ । त्यतिबेला नुन लिन छोङ्दी पुग्नु पथ्र्यो । छोङ्दी खासा भन्दा केही माथि भएको उनीहरुहरुले बताए । छोङ्दी भनेको तामाङ भाषामा बजार हो । नुन लिन नजिक पर्ने भएकाले अन्दर्बुङ वरपरको बस्ती नै उपयुक्त ठानेर बस्ती बसालेको उनीहरुको अनुमान छ । यद्यपि नुन लिएर तिब्बतबाट आइपुग्न १५ दिन लागेको गान्बा (तामाङ मोक्तान समुदायका अगुवा) गंगाबहादुरले बताए । हाल विभिन्न ठाउँमा मोक्तानहरु यहीबाट छरिएर गएको उनीहरुको दाबी रह्यो ।

मिल्न आएको कुरा, नमिलेको कुरा ः
स्थानिय ८५ वर्षे हजुरबुवा रामबहादुर तामाङलाई मोक्तानहरु कसरी यहाँ आइपुगे भनेर सोधेको थिएँ । हामी सिन्धुपाल्चोककै इन्द्रावती गाउँपालिकास्थित नवलपुरको थाकनका मोक्तान हौं । हजुरबुवाले पनि बोइ ह्युल (तिव्वत) बाट नै मुगु ह्युल्सा हुँदै आइपुगेको बताएका थिए । मुगुमा आएको कुरा धेरै पछि भएको कुरा हजुरबुवाको तर्क थियो । त्यताबाट भने काठमाडौंको गागलफेदीबाट छरिएको बताए ।

मुगुमा राजासमेत मोक्तान रहेको र लडाईमा लखेटिएपछि गागलमा आइपुगेको हजुरबुवाको भनाई थियो । मुगुबाट आएकाले मोक्तान लेख्न थालेको तर्कसमेत ति हजुरबुवाको थियो । इतिहासको खोज र उत्खनन् हुनेक्रम जारी छ । हालसम्म तामाङहरुको कुनै लिखित इतिहास सुरक्षित नरहेको र तामाङ सम्बन्धी अध्ययन अनुसन्धान कम रहेको देखिन्छ । यसैले पनि मौखिक आधारमा आफ्नो इतिहास वर्णन गर्दै आएका छन् ।

तामाङ भाषाविद् एवं अध्येता अमृत योञ्जन तामाङले अन्दर्बुङबाट मोक्तान थरी तामाङहरु छरिएको र यो नै उद्गम थलो मान्दै आएको पुष्टि गरे । मोक्तानहरुको बिस्तारबारे क.सन्तवीर लामा (पाख्रीन) ले लेखेको किताब “तम्बा काइतेन,ह्वाई रिमठिम) तामाङहरुका पुख्र्यौली रीतिथिति र गीत किताबको तृतीय अध्यायको १३ नम्बरमा मोक्तान थरको बारेमा यस्तो लेखिएको छ ।
मुकु ग्याल्साला मोक्तान बब्
रुइगी फोला डाप्ला मि
याप्जे ला ग्याल्मो तेन
ङिली छेमन ग्याल्मो तेन
गप्पचन छिप्चन ग्याल्बो तेन
वि.सं.२०५८ मा प्रकाशित चौधौ संस्करणको यस किताबको रुइछेन च्योप्गे ला ह्वाई शीर्षकको अध्यायमा उल्लेख गरिएको गीतबाट मोक्तानहरु मुगुबाट फैलिएको स्पष्ट हुन्छ । यसैगरी तामाङ लेखक परशुराम तामाङको “तामाङ वंशावली((२०६२)” मा पनि यसै विषयलाई पुष्टि गरेको छ ।

यस किताबमा पहिलो तामाङ लेखक बुद्धिमान तामाङको किताब “जिक्तेन ताम्छ्योई” लाई आधार मानी मोक्तानहरु मुगुबाट काठमाडौं हुँदै विभिन्न स्थान पुग्दै अन्दर्बुङ पुगेको उल्लेख गरेको छ ।