दमक/प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाइ काठमाडौँले प्राविधिकबिनै झापालाई हचुवाको भरमा सुपारी जोन घोषणा गरेको छ ।  सुपारी जोनका रूपमा विकास गर्ने लक्ष्य लिए पनि सुपारीका विषयमा जान्ने विषय विज्ञ एकजना पनि नरहेको कृषकहरूको दाबी छ ।

यसरी प्राविधिकबिनै सुपारी खेती कसरी अगाडि बढ्ला भन्दै कृषकले प्रश्न गर्न थालेका छन् । सुपारीमा वर्षौदेखि रोग र किराको प्रकोप देखिने गरेको छ । चार दशकदेखि सुपारी खेती गर्दै आइरहेकी झापा अर्जुनधारा नगरपालिकाकी कृषक धनमाया खरेलले सुपारीमा देखिने रोगको निदान गर्न प्राविधिको अभाव रहेको बताइन् ।

उनका अनुसार बोटको बीचमा अचानक सुकेर भाच्चिने, जरा मर्नेजस्ता समस्या आउँछन् । तर यो कसलाई कहाँ सोध्ने भन्ने नै आन्यौल रहेको छ । तत्कालीन जिल्ला कृषि विकास कार्यालय झापामा समेत यस्ता समस्याको विषयमा किशानले गुनासो राख्दा सुनुवाइ नहुने गरेको बताइन् ।

सुपारी खेती गर्ने सयौं किशान खरेलको झैं समस्या भोग्दै आइरहेका छन् । सुपारी खेतीमा भएका समस्याका विषयमा भने कुनै अध्ययन अनुसन्धान नै नभएको सुपारी खेती विकास संस्थाका पूर्वकेन्द्रीय अध्यक्ष टेकेन्द्र शिवाकोटी बताउँछन् ।

समस्या नै पहिचान हुन नसक्दा व्यवसायिक खेती होला भन्नेमा चुनौती रहेको उनी ठान्छन् । झापामा वार्षिक ७० हजार मेट्रिक टन काँचो र ७ हजार मेट्रिक टन सुख्खा सुपारी उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय झापाको तथ्याङ्कले देखाउँछ । जिल्लामा २ हजार सात सय हेक्टर जमीनमा सुपारी खेती हुँदै आएको छ ।

जिल्लाको मेचीनगर, बुद्धशान्ति, अर्जुनधारालगायतमा सुपारीको व्यापक खेती हुने गरेको छ । कृषिलाई व्यवसायीकरण गर्दै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले झापामा धान र रबरसँगै ‘सुपारी जोन’ कार्यक्रम अघि बढाइएको हो । सुपारी खेतीमा देखिएका समस्या समाधान नभए चाँडै खेती मासिन सक्ने सुपारी विकास संस्थाका पूर्वअध्यक्ष शिवाकोटीले बताए ।

हालसम्म परम्परागत तरिकाले सुपारी खेती गर्दै आएका कृषकले सुपारी जोनमार्फत् प्राविधिक सेवा, प्रशोधन उद्योग, बजार र अनुदान पाउने आशा गरेका छन् । सुपारी बहुवर्षे खेती भएकाले एक पटक देखा परेको रोग तथा किरासमेत लामो समयसम्म रहिरहने र उत्पादनमा कमी हुने हुने गरेको छ ।