प्रसिद्ध सर्जक तथा साहित्यिक अभियन्ता भवानी घिमिरेको नाममा बल्ल-बल्ल एक प्रतिष्ठान खोलेर राम्रो काम गरिएछ । यस संस्थामा पूर्व सभासद् धर्मशील चापागाईंसमेत सदस्य रहेको कुराले केही आशा पनि जगाएको देखिन्छ ।
संस्थाको स्थापना काठामाडौँमा गरिएको थाहा भयो राम्रै कुृरा हो । यस संस्थाले झापा,बिर्तामोडमा यही माघ १८ र १९ गते वृहत् संगोष्ठी भएको . राम्रै कुरा थाहा पाउँदा पनि आनन्द भयो । त्यहीँ के कुरा पनि थाहा भयो भने गोष्ठीका कार्यपत्रहरु र टिप्पणीकार,वक्ता,प्रवक्ताहरु प्रायः काठमाडौँ वा केन्द्रबाट आउनु हुने अर्को राम्रो कुरा पनि थाहा भयो ।
अनि प्रदेश नं.एकका र यस आसपासका वरिष्ठ सष्टा,अभियन्ता श्रोता दीर्घामा सहभागी हुने अर्को राम्रो कुरा पनि थाहा हुन गयो । केन्द्रीकृत शासन समाप्त भएको भन्ने,संघीयता विषयमा खुसी हुने तर केन्द्रीकृत संस्कार ग्रन्थीबाट ग्रसित हुने अनौठो रोगबाट सर्जक संस्था र सर्जकहरु रहने गरेको अर्को उल्टो स्थिति पनि देखिनु यो अर्को राम्रै कुरा होला ।
यस्तो संस्कार प्रदेश वा मोफसलका सर्जकमा नै कुटकुट भरिएको देखिन्छ । प्रगतिशील तथा लोकतान्त्रिक सिर्जनाका क्षेत्रमा मोफसलका सर्जकहरु काम सर्यो भाँडो आफल तेरो ठाँड्यो भनेझैँ भएका छन् । प्रसिद्ध समालोचक अनिरुद्ध तिमसिनाका स्मृतिमा काठमाडौँले एक शब्द लेखेन बोलेन तर यसले अब यिनैको भजन भजाएर ककसले के के गर्ने हो त्यो हेर्न बाँकी छ ।
प्रसिद्ध स्रष्टा तथा कवि भानुभक्त पोखरेललाई अहिले कसले सम्झिन्छ ? यस खालका सर्जकहरु यस प्रदेशमा मनग्गे छन् । तिनलाई सम्झँने तिनका उत्तराधिकारीले हो । नयाँ पुस्ताका सर्जक र संस्थाले हो तर कसले कसलाई सम्झने फुर्सद् ?
भवानी घिमिरेले महानन्द सापकोटा जस्ता मनीषि जिउँदो हुँदा सम्म नेपाल प्रज्ञा प्रतिष्ठान जस्ता संस्थामा पुग्न नसक्नु दुर्भाग्य हो भनेका रहेछन् । महानन्दले भने घिमिरेलाई ०५७ सालको महानन्द विशेषाङ्कमा शुभकामना दिँदै सबै थोक छाडी आफ्ना जीउको जतन गर्नु होस् भन्नु भएका रहेछन् ।
नभन्दै घिमिरे समर्पित भएर भाषा र साहित्यका क्षेत्रमा आजीवन लागे । महानन्द विशेषंकमा घिमिरेले महानन्दका विषयमा गहन,मार्मिक तथा सामग्रिक अत्यन्त महत्वपूर्ण सम्पादकीय लेखेका छन् । उनले सापकोटालाई नेपालीहरुका पुनर्जागरणका प्रवक्ता मानेको देखिन्छ ।
इतिहास बिर्सिएर इतिहास त बन्दैन वर्तमानको पनि अर्थ रहँदैन । जनकवि गोकुल जोशी जस्ता स्रष्टा २०१०,०११ सालतिर विराटनगरमा प्राज्ञ बालकृष्ण पोखरेलका निवासमा एक महिना बसेको,लिथो पत्रिका प्रकाशन गरेको टोलटोलमा कविता वाचन गर्दै हिँडेको र यस्ता कामहरु यस प्रदेशका प्रायः सबै जिल्लामा गरेको जस्ता विशिष्ट इतिहास यस प्रदेशमा रहेको छ ।
आफ्नै इतिहासलाई हामी कति सम्झन्छौँ आफ्नै इतिहास र इतिहासका धरोहरप्रति हामी कति गर्व गर्न सक्छौँ यो चाहिँ देखेर मात्र भन्न सकिन्छ । इमान्दार र प्रतिभाशाली स्रष्टा अहिले पनि सडकमा नै छन् तर सदनका स्रष्टाहरु सडकका स्रष्टाको रापतापले तर्सिनु पनेृ अवस्था देखिन्छ । उपयुक्त स्थानमा उपयुक्त पात्र नहुँदा यदाकदा असहज हुन्छ । घिमिरेले काठमाडौँ बाहिर रहेर नेपाली भाषा सहित्य र साहित्यिक पत्रिकाका क्षेत्रमा अभूतपूर्व काम र अभियान सञ्चालन गरे ।
उनले प्रगतिशील साहित्यिक ,सिर्जनात्मक र प्रकाशनात्मक कामलाई परम्परा भन्दा भिन्न रचनात्मक रुपमा परिचालन गरेका थिए । भवानी घिमिरेले देशमा मात्र होइन बिदेशमा पनि नेपाली भाषा सहित्यको विकास र विस्तारमा अद्भूत काम गरेका थिए । प्रगतिशील साहित्यिक सौन्दर्य शास्त्रमा प्रतिबद्ध हुँदाहुँदै पनि आम तमाम देशभक्त सर्जकहरुलाई गोलबन्द गर्नु घिमिरको महनता थियो ।
जात,भात,नाक र नश्ल भन्दा धेरै माथिको समृद्ध चेतना कुनै पनि देशको राष्ट्रिय अखण्डता र एकताको सर्वोपरि पक्ष हो । किनभने राष्टूवाद आधारभूत वाद हो । यस वादका अगाडि अरु दाहिने वा देब्रे लगायत सबै वाद डेब्रा हुन् ।
परोक्ष वा प्रत्यक्ष रुपमा सन्तुलित राष्ट्रवादलाई परित्याग गर्ने कुनै पनि वाद महत्वहीन हुन्छ । यही ध्येयलाई मूल मन्त्र मानेर भानु साहित्यिक पत्रिकालाई भानु,देवकोटा,महानन्द आदि अनेक गहन स्रष्टा विशेषक प्रकाशन गरिरहे ।
उनले यी सबै काम मोफसलमा बसेर नै गरे र केन्द्रलाई नै झकझक्याए । भावनी घिमिरेले प्रगतिवादी सिर्जनात्मक अभियानलाई परम्परागत, कठमुल्लावादी तथा रुढीग्रस्त परिपाटीको उच्छेद गरे । तर विशेषतः अत्यधिक प्रगतिशील तथा बाम नेताहरु कला,साहित्य,गीत र संगीतलाई उति महत्व दिँदैनन् ।
यो क्षेत्र भनेको त अझ संस्कृतिको संवाहक हो भन्ने बुझ्न तिनलाई प्रशिक्षण नै दिनुपर्ने देखिन्छ । यो क्षेत्र विचार विहीन हुनै सक्तैन । कुनै प्रगतिशील तथा लोकतान्त्रिक सिर्जनामा तदनुसारको सोच,सिद्धान्त र मान्यताको कलात्मक प्रतिबिम्बन अपरिहार्य हुन्छ ।
नेपाली साहित्य र संस्कृतिमा सामन्तवादी,पुँजिवादी कुरुप अझै विद्यमान देखिन्छ । नेपालको संविधानले सबै खालका आर्थिक,सामाजिक,धार्मिक तथा सांस्कृतिक आदि सबै खालको शोषण,उत्पीडन तथा असमानताहरु हटाउने उद्घोष गरेको छ र यसले समतामूलक समृद्ध नेपाल निर्माण गर्ने प्रतिबद्धता गरेको देखिन्छ ।
संविधानले समाजवाद उन्मुख नेपालको परिकल्पना समेत गरेको देखिन्छ भने प्रगतिशील तथा अग्रगामी साहित्यिक सांस्कृतिक संस्था र सर्जकले यस विषयमा गहन छलफल गर्नु पर्छ र यस अनुसार सिर्जनात्मक गतिविधि हुनु वाञ्छनीय हुन्छ ।
हिजोकै मानसिकता,विचार र सिर्जना सारका आधारमा समाजको गुणात्मक परिवर्तन होला र ? गणतान्त्रिक चेतका कविता र कार्यपत्र लेखे पनि लेखक नै मृत आत्माको चीरशान्तिको कामना गर्छ भने कसरी गणतान्त्रिक चिन्तन,चेत र चरित्र निर्माण हुनसक्छ ? भवानी घिमिरे. लोकतान्त्रिक सर्जकहरुलाई आबद्ध गोलबन्द र सामीप्यमा राख्न चाहन्थे तर अहिले त आफूलाई प्रगतिशील भन्ने उपल्ला तहका सर्जकहरु स्रष्टामैत्री भावना विपरीतका देख्दा अचम्म र उदेक लाग्छ ।
प्रलेसका केन्द्रीय अध्यक्षलाई नै यस विषयमा गम्भीर हुन यस लेखकले आग्रह गरेको छ । स्वयं घोषित प्रगतिशील सर्जक आफैँलाई महान् ठान्छ । घिमिरे त्यस्ता थिएनन् । जान्दा सरलता नै गुणवत्ता हो । गुणवत्ताले नै गुणको पहिचान गर्छ । नत्र भिल्लका देशको मणि सरह हुन्छ ।
त्यसैगरी अहिले संघ प्रदेशका नाममा आम नेपालीका बीच सबै खालको सद्भाव बिथोल्ने,विखण्डित तथा चरम विभाजन गर्नेसम्मका खेलहरु विरुद्ध समग्र राष्ट्रिय एकता,अखण्डता र सद्भाव विकास गर्ने शिक्षाका बारेमा बेलैमा सचेत हुनु पर्छ ।
लर्ड मेकालेले बृटिश उपनिवेशी भारतमा आएर त्यहाँको परम्परागत गुरु कुलीय शिक्षाको लामो र गम्भीर अध्ययन गरे र त्यसका आधारमा समग्र भारतवर्षमा सुदृढ रहेको सनातन शिक्षा र संस्कृतिलाई कसरी ध्वस्त पार्न सकिन्छ भनेर शोध गरेका थिए । मेकालेले भारतको मौलिक तथा परम्परागत शिक्षामा कलात्मक रुपमा हमला गरेर समग्र भारतमा औपनिवेशी शिक्षा र संस्कृतिको प्रभाव फैलाए ।
आधुनिकता शिक्षाका नाममा अङ्गे्रजी तथा क्रिश्चियन शिक्षा र संस्कृति भारतभरि फैलाए । मेकालेले भारतबाट बेलायत गएपछि गर्वसाथ सनातन वा हिन्दू धर्मको विरोध नगरी आधुनिक अङ्ग्रेजी शिक्षाका माध्यमबाट समग्र भारतलाई पश्चिमा अप संस्कृति र शिक्षाको दास बनाए ।
बौद्धिक,सचेत जनसमुदायहरु अनुहार र आकृतिले भारतीय लागे पनि मानसिक,मानावैज्ञानिक र भावनात्मक रुपमा पश्चिमा संस्कृति,शिक्षा र सभ्यताका दास हुन् भनेर मेकालेले गर्व साथ उल्लेख गरेका छन् । यही संस्कारका कारण भारतमा त्यहाँको राष्टिूय भाषा हिन्दी बोल्दा चरम घृणा गर्ने भारतीयहरु मनग्गे देखिन्छन् ।
यहाँ नेपालमा पनि नेपाली,मैथिली,भोजपुरी र थारु आदि राष्ट्रिय भाषाहरुलाई चरम उपेक्षा गर्ने उपक्रम त्यसैको परिणाम हो ।
त्यसैले आजको दिन ल्याउन हिजोका दिनहरुमा घिमिरे जस्ता सर्जकहरुले खेलेको भूमिका कसैले पनि बिर्सन मिल्दैन । यो गर्नका लागि परिवर्तित परिस्थिति अनुसार सचेत रुपमा स्रष्टाहरु सिर्जना कर्मममा लाग्नुपर्छ ।
तर त्यस भन्दा पनि पहिले यस सम्बन्धमा सोच सर्वोपरि महत्वको हुन्छ । समृद्धि सोच,चिन्तन,चेतनामा पहिले आवश्यक छ । मनको मैलो सफा गर्न वैचारिक,कला साहित्यिक तथा सिर्जनात्मक लगाव अपरिहार्य हुन्छ ।
देवकोटाको यात्री कविताले परम्परागत धार्मिक रुढीलाई कलात्मक हस्तक्षेपमार्फत् ध्वस्त पार्न सहयोग पुर्याए जस्तै आजका कवि र कविता तथा सिर्जनाले नेपाली समाजका तमाम पछौटे चिन्तनलाई पखाल्न के राप,ताप र प्रभाव पार्न सक्यो भन्ने कुरा कम्तीमा प्रगतिशील तथा लोकतान्त्रिक सर्जक र संस्थाले ख्याल गर्नु पर्छ ।
सिर्जना समाजका लागि हो भने परम्परागत पछौटे सामाजिक मूल्यबाट शोषित समाजलाई आजको सिर्जनाले सहयोग गर्नैपर्छ । प्रगतिशील लेखहरुले नै कला साहित्य सौन्दर्य शास्त्रीय मान्यतामा सुस्पष्ट हुनै पर्छ । के लेख्ने कसका लागि लेख्ने र किन लेख्ने भन्ने सबालमा नै प्रश्न खडा हुँदा लेखन लक्षहीन हुन्छ । साहित्यिक मेला मात्र लगाएर ठूलो भीड बनाएर र देखाएर मात्र हुँदैन ।
अब पनि मात्रात्मक गोष्ठी,सेमिनार र समारोहमा रमाएर होइन गुणात्मक गोष्ठी गर्न सकियो भने मात्र लगानी अनुसारको प्रतिफल प्राप्त हुनेछ । नत्र लाखौँ खर्च गरेर पनि उपलबिध के भन्दा सिला खोजेझैँ गर्नु चाहिँ ठूलो दुर्भाग्य हो ।
भवानी घिमिरेहरु जन्माउने उद्देश्य र लक्ष अनुसार सिर्जनात्मक कामलाई गुणात्मक गोष्ठी गर्दा मात्र यसले दूरगामी महत्व राख्ने छ । औँशी पुर्णे काम मात्र गर्ने हो भने त्यसले गुणात्मक उचाइ प्राप्त गर्न सक्रैन ।
इटहरी निवासी लेखक वरिष्ठ सर्जक तथा अभियन्ता हुन् ।
































