ताप्लेजुङ/ उमेरले ६० वर्ष पुगेका ताप्लेजुङको फु्ङलिङ नगरपालिकाका वडा नं ७ का चङ्ख बहादुर पर्वतेको आरनमा विहान ७ बजे पुग्दा एक्लै खुकुरीमा धार लगाउँदै थिए । उनको आरनमा फलामका टुक्रा, फलामलाई पगाल्न चाहिने काठका कोईला, दुई तिन ओटा पुराना घन र बाँसको टाटीमा झुण्ड्याएको एउटा रेडियो थियो ।
पर्वते विभिन्न खालका फलामका घरायसि हतियार बनाउँछन् । परम्परागत रुपमा आरनमा निमार्ण गरिने यस्ता हातहतियार वनाउने पेशाप्रति भने युवाहरुको आर्कषण घट्दो छ ।
पर्वतेका आरनमा पुग्ने बित्तिकै उन्ले रेडियोको भोल्युम अलि घटाए अनि भने “आरनमा वोल्ने साथी छैन् । म त यै रेडियोको साहारामा काम गर्छु ।” उनि भन्छन् “घरका केटाहरु (छोराहरु) सबै विदेश गए ।, काम गर्नै मान्दैनन्, एक्लै भईयो, म मरेसँगै यी मेरा सिपहरु पनि म सँगै जाला भन्ने पिर छ ।”
पर्वतेका ७ भाई छोराहरु छन् । ती छोराहरु कोहि वैदेशिक रोजगारीका लागि विदेशीएका छन् । कोहि शहरतिर छन् । आरनमा खुकुरी लगायतका फलामका सामग्री बनाउँनको लागि पहिले छोराहरु सानै छँदा अलिअलि सहयोग गरेको स्मरण गर्दै पर्वतेले भने “पहिले सानै हुँदा छोराहरुले आरनमा अलिअलि सहयोग गर्थे ।, अलि ठुलो हुँदै गएपछि यस्तो दुखिया काम नगर्ने भन्दै विदेश तिर लागे ।,” अहिले उन्लाई ठुला खालका फलाम पिट्न पनि समस्या हुन थालेको छ ।
उनि आफ्ना बुवाले ११ वर्षको उमेरमा नै आरनमा लागेर खुकुरी वनाउन लागएको वताउँछन् । त्यतिखेर सिकेको सिपले अहिले बुढेसकालमा पनि काम दिएको छ ।
प्रतिमहिना २५३० हजार सम्म कमाई भैरहेको छ । “छोराहरु सिक्नै मान्दैनन्, अहिले त स्थानिय सरकार पनि बनेको छ ।,” चंखबहादुरले भने “अब नगरपालिका/गाउँपालिकाहरुले युवा लक्षित कार्यक्रम ल्याएर यस्तो पुराना र परम्परागत सिपहरुलाई युवाहरुमा माझ पुर्याउनु पर्छ ।,” युवाहरुलाई यस पेशा प्रति आर्कषण बढाउने खालका योजनाहरु ल्याए आफुँले जानेका सिपहरु सिकाउने उनको उनी बताउँछन् ।
उनिजस्तै जिल्लाकै मेरिङ्देन गाउँपालिका वडा नं ५ थुकिमाका रद्रबहादुर विकको आरनमा पनि छोराहरुको साथ छैन् । सबै छोराहरुले यस्तो पेशा नगर्ने भन्दै अन्य कामको खोजी गर्न घर छोड्न थालेको विक बताउँछन् । “यो दुखिया पेशा भन्छन् । हुन पनि हो फलाम र आगोमा काम गर्दा खतरा चाँहि छ । अहिले त यस्को लागि सेफ्टी (सुरक्षा) का सामान छन् भन्ने सुनेको छु ।,” उन्ले भने ।
यस्तो पेशा प्रति युवाको आर्कषण बढाउनको लागि स्थानिय सरकारले विषेश खालको योजना नै वनाउनु पर्ने अगुवा युवा जिवन कालीकोटे बताउँछन् । उनि भन्छन् “पहिले त यो पेशालाई दलित समुदायले मात्र गर्ने भन्ने मानसिकता थियो ।, त्यहि कारण पनि युवाहरुको यस पेशा प्रतिको आर्कषणमा कमि आएको हो ।” कालिकोटेका अनुसार गाउँघरमा काम गरेपछि त्यसको ज्याला समेत अन्न तथा खाद्यान्नमा कटाउने गरेका कारण पनि यो पेशा लोप हुनै लागेको हो ।
परम्परासँग जोडिएको मैलिक हात हतियार निमार्ण गर्ने यस्तो पेशालाई संरक्षण गरिराख्न विषशगरि बुढापाकाहरुको सिपलाई समेत सम्मान गर्नुपर्ने उन्को बुझाई छ । तर यो पेशावाट मनग्य आम्दानी हुने यो पेशामा लागेकाहरुको अनुभव छ । “घरैमा बसेर मासिक ३० हजार सम्म आयआर्जन गर्नु त ठुलो कुरा होनी ।,” पर्वते भन्छन् “मैले बनाएको खुकुरी युके सम्म पनि लगेका छन् । माग त धेरै छ तर बनाउन एक्लैले भ्याउँदिन् ।,”
यता यस पेशाको विकासका लागि समय समयमा दलित लक्षित तालिम सञ्चालन भैरहेको घरेलु तथा साना उद्योग विकास समिति ताप्लेजुङका उद्योग विकास अधिकृत सुनिल आर्चायले बताए । उनका अनुसार गत आर्थिक वर्षमा जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाका १० जनालाई तालिम प्रदान गरिएको छ ।
यस आर्थिक वर्षको लागि समेत सवै गाउँपालिकामा दलित लक्षित कार्यक्रम रहेको र स्थानिय तहसँग समन्वय गरेर क्षमता विकास लागयतका कार्यक्रम संञ्चालन गर्ने तयारी भैरहेको उद्योग अधिकृत आर्चायले बताए ।
तर दलित समुदायमा अझैपनि चेतनाको विकासमा ध्यान दिनुपर्ने उन्को बुझाई छ । अन्य समुदायले कार्यालयमा यस्तो खालको तालिम चाहियो भन्दै माग्न आउने गरेको भएपनि दलित समुदाय भने यस्ता कार्यक्रम माग्न नआएको उनको अनुभव छ ।
































