पाँचथर/ साँढे पाँच दशक लामो समय भेंडीगोठ सम्हालेर बसेका फालेलुङ-४, गुरुङटारका क्यादरलाल गुरुङले केही वर्ष अघि भेंडीगोठ छाडे । अहिले गुरुङसँग ५० वटा भेंडा मात्र छन् ।

तर आफ्नो गोठमा होइन, अर्काको गोठमा । २०२१ सालदेखि भेंडीगोठ बस्न थालेका क्यादरलालका भेंडा आफ्नो गोठ नभएपछि अहिले अर्कै गोठको गोठालाले हेर्छ ।

उत्तरपूर्वी पाँचथरको याङवरक-१, च्याङथापुका गर्जमान गुरुङले पनि ३५ वर्षदेखि गर्दै आएको भेंडीगोठ गत वर्ष बेचे । अहिले उनी अर्कै पेशामा छन् ।

जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पुस्तौंदेखि गरिंदै आएको भेंडापालन व्यवसाय अहिले संकटमा परेको छ । खर्कको अभावले भेंडीगोठ मासिने अवस्थामा पुगेका छन् ।

क्यादरलाल र गर्जमान जस्तै अन्यले पनि भेंडीगोठ छाडेका छन् । जर्गमानले भने- ‘१५ बर्ष अघि पाँचथरमा मात्र एक दर्जन जति भेंडीगोठ थिए, त्यो संख्या घट्दै आएर अहिले तीन वटामा झरेको छ ।’ उनका अनुसार चरिचरन क्षेत्रको अभाव भेंडीगोठ मासिनुको प्रमुख कारण हो ।

किसानले अलैंची, चिराइतो, अम्लिसो जस्ता बिरुवा लगाएपछि तल्लो क्षेत्रमा खर्कको अभाव हुँदा भेंडीगोठको अस्तित्व संकटमा परेको हो ।
एउटा चोकमा कम्तिमा दुई सयभन्दा बढीको संख्यामा भेंडा हुन्छन् ।

त्यसैले राम्रो घाँस भएको क्षेत्रमा पनि बढीमा एक हप्तादेखि दश दिनसम्म मात्र भेंडा राख्न सकिन्छ । घाँस कम भएको क्षेत्रमा बढीमा पाँच दिनसम्म मात्र राख्न सकिन्छ । एउटा खर्कदेखि अर्को खर्कमा सारिरहनुपर्ने भएकाले भेंडाको लागि ठूलो चरन क्षेत्र आवस्यक पर्ने गर्जमान बताउछन् ।

तर विभिन्न बिरुवा र वाली लगाइएपछि बिगतका चरन क्षेत्र अहिले साघुँरो बनेका छन् । गर्मी याममा लेकको खर्कले धाने पनि जाडोयाममा वेशी क्षेत्रमा चरन क्षेत्र अभाव हुँदा भेंडीगोठ लोप हुने अवस्थामा पुगेको क्यादरलालले बताए ।

नेपाल-भारत सीमावर्ती फालोट क्षेत्रको भारततिरको भू-भागमा कडाइ गरिएपछि अहिले लेक क्षेत्रमा पनि समस्या रहेको भेंडीगोठ व्यवासायी बताउछन् । त्यस्तै भेंडालाई जंगली जनावरले आक्रमण गर्ने, विभिन्न रोग लाग्ने र गोठालो नपाइने समस्याले पनि भेंडीगोठ मासिदै गएका हुन् ।

दर्जनबाट घटेर तीन वटामा पुगेको भेंडीगोठ अहिले जिल्लामा याङवरक च्याङ्थापुका बीरबहादुर बेघा, फालेलुङ मेमेङका टेकबहादुर गुरुङ र फालेलुङ खुगाँका दीपेन्द्र आङ्बोले मात्र भेंडीगोठको अस्तित्व बचाइरहेका छन् ।

भेंडापालन व्यवसायमा मूख्य आम्दानीको स्रोत पाठा-पाठी, ऊन र घिउको बिक्री हो । भेंडाको ऊनबाट आकर्षक राडिपाखी बनाइन्छ भने घिउ औषधीको रुपमा प्रयोग हुन्छ ।

तीन सय वटा भेंडा सहितको १५ लाख मूल्य बराबरको भेंडीगोग सञ्चालन गर्दै आएका दीपेन्द्र आङ्बोका अनुसार भेंडाको घिउ आगोले पोलेको, पिल्सेको र हात-खुट्टा मर्केको अवस्थामा औषधीको रुपमा प्रयोग गरिन्छ ।

उनले भने- ‘अहिले हामी अढाई महीनासम्मको पाठा-पाठी प्रतिगोटा दश हजार, घिउ प्रतिकेजी २५ सय र ऊन प्रतिकेजी चार सय रुपैंयाँसम्ममा बिक्री गर्दै आएका छौं ।’

तर अहिले राडिपासी बनाउन सिप भएकाहरु नै कम भेटिने हुनाले ऊनको बिक्री खासै राम्रो नभएको भेंडालापक व्यवसायी बताउछन् ।

ओछ्याउनलाई आधुनिक र आकर्षक किसिमका बजारीया सामग्रीहरुमा मानिसको आकर्षण बढेपछि घरैमा बनाइने राडिपाखी कम बिक्ने गर्दा अत्यन्तै कमले मात्र राडिपाखी व्यवसाय गर्ने गरेको उनीहरुको भनाई छ ।

भेंडीगोठ लोप भएर सकिने अवस्थामा पुगेपछि भेंडालापनलाई हराएर जान नदिन केहीले खोरमै कोचेर भेंडा पालिरहे पनि खोरका भेंडा खुला खर्कमा रमाउदै चर्ने भेंडा जस्तो नहुने भेंडीगोठ सञ्चालक दिपेन्द्रले बताए ।

राज्यस्तरबाट खर्कको व्यवस्थापन, औषधीउपचारको व्यवस्था, ऊनको बजार व्यवस्थापन त्यस्तै भेंडीगोठलाई प्रबद्र्धन गर्ने किसिमका कार्यक्रम ल्याइए भेंडीगोठ मासिएर जानबाट रोक्न सकिने अर्का भेंडीगोठ सञ्चालक बीरबहादुर बेघाले बताए ।

विगतको तुलनामा अहिले भेंडीगोठबाट राम्रो आम्दानी गर्न सकिने भए पनि विभिन्न समस्याले भेंडीगोठ राख्नै नसकिने अवस्था सिर्जना हुँदै गएको उनको भनाई छ । पाँचथरमा मात्र होइन छिमेकी ताप्लेजुङ र इलाम जिल्लामा पनि भेंडीगोठ मासिएर जाने अवस्थामा पुगेको छ ।

भेंडीगोठ संरक्षणका लागि के गर्न सकिन्छ भन्ने बिषयमा छलफल भइरहेको र आगामी दिनमा संरक्षणका कार्यक्रम ल्याइने फालेलुङ गाउँपालिकाका अध्यक्ष सञ्जकुमार केरुङले बताए ।