दमक/ २२ वर्षकी नीलकुमारी बस्नेत । उनी जन्मजातै बोद्धिक अपाङ्ग भएर जन्मिन् । तरै पनि आफै तलमाथी गर्थिन् । घरको बाहिरफेरिको साना तिना काम गर्न सक्थिन् । करिब डेढ महिना अघि तिनै निलकुमारी घरमा बालिएको आगोमा परिन् ।

अचानक आगोमा परेपछि उनको शरिरका प्राय सबै अङ्ग डढेका छन् । तत्कालै उपचारका लागि भनेर दमक स्थित दमक अस्पतालमा लगियो । दमक अस्पतालले उपचार गर्न नसक्ने भन्दै दमककै लाईफलाईन अस्पतालमा सिफारिस गर्यो ।

लाईफाईनमा पनि उनको शरिर सामान्य ड्रेसिङ मात्र गरियो । उपचार सम्भव भएन र लाईफलाईन अस्पतालले पनि धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा लैजानु भन्दै सिफारिस गर्यो । तत्कालै केहि सहयोगीको सहयोगमा विरामीलाई बिपी कोईराला स्वास्था विज्ञान प्रतिस्ठानले पनि उपचार गर्न नसक्ने प्रतिक्रिया दिएपछि बस्नेत परिवारमा बज्रपात थपियो ।

अस्पतालले काठमाडौमा मात्र उपचार हुने भनेर तत्कालै लैजान आग्रह गरेको थियो । बस्नेत परिवारले छोरी नीलमलाई लैजान सकेन । काठमाडौ लैजानु पर्ने बिरामीलाई फर्काएर घर नै फर्कायो ।
परिवारमा चरम आर्थीक अभाव

घरको भान्सामा दुईवटा गिलास भुईमा लडीरहेका थिए । केहि थान थाल र पकाउने भाडा अर्को कुनामा थिए। सुत्ने कोठामा एउटा झुल छ । एउटा उछ्यानमा पातलो कम्वल । बिछ्यौनाका नाममा दुईवटा म्याट ।

बिरामी निलकुमारीका बुवा देवीबहादुर बस्नते आदा फाटोको पातलो कमेज लगाएका छन् । बिरामीका भाई हाप टीसर्ट र फाटोको मैलो पेइन्ट लगाएर बसेका छन् । यति फेहरिस्त गरिसकेतपछि बस्नेत परिवारको आर्थिक अवस्था कस्तो छ भन्ने कुराको अथार्थ चित्रण भएको हुनपर्छ ।

आर्थिक अभावका कारण कुनै नेपालीले उपचार अभावमा मृत्युवरण गर्नु नपरोस् भनेर सरकारले धेरै पटक भनेको छ । तर त्यो केबल हावामा हानिएको झट्टी मात्रै सावित भएको छ भन्दा फरक नपर्ला । यस्तै एउटा प्रतिनिधीमुलक पात्र हुन् झापा कमल गाउपालिका ६ कि निल कुमारी बस्नेत ।

उनका वुवा देबी बहादुर बस्नेत । आफै बुढ्यौलीले थलिदै छन् । बौदिक अपाङ्गता भएकी छोरीको लालनपोषणको जिम्मेवारी काधमा थियो र अहिलेपनि छदैछ । फरक यत्ति हो हिजो छोरी २२ बर्षिया निलकुमारी बुवालाई काम सघाउथिन् भने अहिले उनी थला परेकी छन् ।

करिब डेढ महिना अघि उनको लुगामा आगो सल्किएपछि उनको शरिर डढेको छ । उपचारका लागि तत्कालै केहि आफन्तको सहयोगमा उनलाई दमक स्थित अस्पताल पुर्याइयो । तर त्याहा उपचार संभव भएन । त्यसपछि घोपा पुर्याइयो ।

तर त्याँहापनि उपचार संभव भएन । उनलाई थप उपचारका लागि काठमाण्डौ लैजान धरानमा चिकित्सकले सुझाव दिए । खर्चको अभावमा अहिले नीलकुमारीलाई केराको पात ओछ्याएर सुताएर राखिएको छ ।

सम्पतिका नाममा उनीहरुसँग केहि छैन । बस्दै आएको घरपनि अर्कैको हो । अझ यहि घरपनि घरधनीले भत्काउने भएपछि अब कता जाने भन्ने चिन्ता उनीहरुमा थपीएको छ । अझ निलकुमारीको उपचार कसरी गर्ने भन्ने चिन्ता पहाड बनेर यो परिवारलाई थिचिरहेको छ ।

खर्चको अभावमा मृत्युसँग लडिरहेकी निलकुमारीलाई सहयोगी मनहरुको खाचो छ यतिबेला । आउनुहोस् तपाई हामी सबै मिलेर उनकोे यो दुखमा मलम लगाउ ।