दमक/ झापाको मेची नगरपालिका–४ की टीकामाया ढुङ्गेलको जम्मा दश कठ्ठा जग्गा छ । गत वर्षबाट उनले करेसाबारीसमेत नराखी चिया लगाएकी छन् । अन्य बाली लगाउँदा हरेक वर्ष हात्तीको हैरानी खेप्नु परेपछि ढुङ्गेलले खेती परिवर्तन गरेकी हुन् ।
यसअघिसम्म धाम, मकै, तोरी खेती गर्दै आएकी थिइन् । हात्तीको उपद्रोका कारण पनि ढुङ्गेलजस्ता धेरै कृषकले आफ्नो खेती परिवर्तन गरेको हेर्न उनको गाउँ पुगे हुन्छ । हात्तीको आक्रमणमा परी ढुङ्गेलको श्रीमान मनोहर ढुङ्गेलको तीन वर्षअघि मृत्यु भयो ।
घाँस काट्न गएका श्रीमान धेरै समयपछि नफर्किएपछि खोज्न जाँँदा हात्तीको आक्रमणमा परी मृत्यु भएको अवस्थामा फेला परेको थियो । यही त्रासका कारण उनले हात्तीबाट बच्नका लागि जग्गामा चिया लगाएको बताइन् ।
उनीजस्तै स्थानीय किर्तीराज भारतीले आफ्नो नीजि ३५ बिघा खेतमा चिया लगाएका छन् । बाहुनडाँगी क्षेत्रका अधिकांश किसानले अहिले चिया र बैकल्पिक खेती गर्न थालेका छन् । लगातार हात्तीले खाद्यबालीलाई निशाना बनाएपछि झापाको बाहुनडाँगीका किसानले खेती नै परिर्वतन गर्न थालेका हुन् ।
चिया लगाउन थालेपछि हात्ती कम आउने गरेको उनीहरूको अनुभव छ । भारतको पश्चिम बङ्गाल राज्य अन्तर्गत रहेको गुप्ती फोरेस्टबाट मेची नदी तरेर हुलका हुल जङ्गली हात्ती बाहुँनडागी क्षेत्रमा आउने गरेका थिए । बाहुँनडागी क्षेत्रमा मात्र हालसम्म २१ जना सर्बसाधारणको हात्तीको आक्रमणमा परेर मृत्यु समेत भइसकेको छ ।
अन्नबाली खाएर सखाप बनाउने मात्रै हैन, आक्रमणसमेत गर्न थालेपछि किशानले हात्तीबाट बच्न र क्षतिकम गर्न बारीमा चिया, कागती, तेजपत्ता, बाह्रमासे सजीवन लगाउन थालेका छन् । यो क्षेत्रमा मात्रै करिब १२ सय बिघाभन्दा बढी क्षेत्रमा चिया खेती लगाइएको छ ।
हात्तीका कारण द्वन्द्व बढेपछि अहिले हात्तीलाई मन नर्पने खेती गर्न थालेको स्थानीय अभियान्ता अर्जुन कार्की बताउँछन् । ‘हात्ती अब सास्ती होइन साथी हो भन्ने अभियानमा अघि बढाइएको छ ।’ उनले भने । पछिल्लो समय हात्तीलाई मन नर्पने बाली लगाएका कारण स्वतः मानिस र हात्तीबीचको द्वन्द्व कम भएर गएको उनको अनुभव छ ।
































