धरान / गोरु काटेको अभियोगमा पक्राउ गरिनुलाई संघीय लिम्बुवान मञ्च नेपालले धर्म निरपेक्षमाथिको प्रहार भएको दाबी गरेको छ ।

कुमार लिङ्देन नेतृत्वको मञ्चले नेपालको संविधानको भाग १ (४) मा उल्लेखित भएको धर्म निरपेक्ष, समावेशी, लोकतान्त्रिक राज्यको भावना विपरीत पक्राउ गरिएको दाबी गरेको छ । मञ्चका जिल्ला अध्यक्ष अमर इजमले यसलाई एकल धर्मको संकेतका रूपमा बुझेका छन् ।

‘धर्म निरपेक्ष कोटेट भइसकेको अवस्थामा पक्राउ गरिनु संविधानमाथि नै प्रहार हो ।’ उनले सोमबारको पत्रकार सम्मेलनमा भने,–‘यो केही नभएर एकल धर्म हावी भएको संकेत हो ।’ तर, भदौं १ गते आएको मुलुकी अपराध संहिताको परिच्छेद २७ को पशुपंक्षीसम्बन्धी कसुरको २८९ मा भने गाई वा गोरु हत्या गर्नेमाथि कारबाही हुने भनी स्पष्ट व्यवस्था गरेको छ ।

cowox-shluter-law

गाई वा गोरु काटेको पाइए ३ वर्षसम्मको कैद हुने व्यवस्था उल्लेख गरेको छ । यही कानूनलाई आधार मानेर इलाका प्रहरी कार्यालय धरानले मंसिर २८ गते धरान–१७ विद्याटोलबाट १० जनालाई पक्राउ गरी मुद्दाअघि बढाएको थियो । तर, मञ्चले भने यो धर्म निरपेक्षमाथिको प्रहार भएकाले तत्काल निःशर्त रिहाइ गरिनुपर्ने माग गरेको छ ।

मञ्चका जिल्ला अध्यक्ष इजम भन्छन्,-‘संविधानको भावना विपरीत हुने गरी गोरु काटेको विषयलाई मुद्दा बनाइनु निन्दनीय छ । प्रहरी प्रशासनको यो गतिविधि नेपालको संधिवानको मूल मर्म र भावना विपरीत भएको स्पष्ट देखिन्छ ।’ संविधानको धर्म निरपेक्ष र अपराध संहिताको परिच्छेद २७ एकआपसमा बाझिएको तर्क मञ्चको छ ।

‘नेपालको संविधान भाग १ (१) को एकमा उल्लेख गरिएको व्यवस्था नेपालको मूल कानून हो । यस संविधानसँग बाझिने कानून बाझिएको हदसम्म अमान्य हुनेछ भन्ने स्पष्ट हुदाहुदै पनि मुलुकी ऐनको बुँदालाई आधार बनाएर प्रहरीले पक्राउ गरेको दमनप्रति घोर विरोध गर्दछौं ।’ विज्ञप्ति वाचनका क्रममा अध्यक्ष इजमले भने ।

इप्रका धरानका डिएसपी सुमन तिम्सिनाले प्रहरी कानूनको कार्यपालक भएको हिसावले मुलुकी अपराध संहितालाई आधार बनाएर पक्राउ गरिएको बताए । उनले कानून बाझिएको भए त्यसको हल पनि कानूनी उपचारबाटै हुने भएकाले मञ्चलाई त्यही बाटो अङ्गाल्नका लागि आग्रह गरे । भने,–‘हामी त कानूनले दिएको अधिकार प्रयोग गर्नेमात्रै हो । बाझिएको भए त्यसलाई सच्याउनका लागि उहाँहरू कानूनी बाटो अपनाउन सक्नुहुन्छ ।’ इप्रका धरानलाई आइतबार मात्रै सांस्कृतिक अधिकार संरक्षण समितिको नेतृत्वमा झण्डै १६–१७ वटा जातीय संघसंस्थाहरूले ध्यानाकर्षण पत्र बुझाएका थिए ।

समितिले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई आइतबारनै धरानमा ध्यानाकर्षण पत्र बुझाएका थिए । समितिका संयोजक सुवास हुक्पा चोङबाङको नेतृत्वमा ध्यानाकर्षण बुझाएका हुन् । उक्त ध्यानाकर्षण पत्र प्राप्त गरेपछि स्वास्थ्यमन्त्री यादवले सरकार यसविषयमा गम्भीर भएको बताए पनि थप कुरा बोल्न चाहेनन् । गोरु काट्नमा संलग्न हुनेहरूलाई निःशर्त रिहाइको माग गर्दै मञ्च पनि आन्दोलित बन्ने संकेत देखाएको छ ।

यसक्रममा सोमबार नै शान्तिपूर्ण ¥याली निकाल्ने भएको छ । र्याली भानुचौकमा पुगेर कोणसभामा परिणत हुने छ । मञ्चका नगर अध्यक्ष सञ्जुहाङ् साँवाले राज्यसत्ताले आफूहरूको माग वेवास्ता गरे ‘गाई’ काटेर विरोध गर्नेसम्मको आन्दोलन रहेको बताए । ‘राज्यले हाम्रो मागलाई वेवास्ता गरे गाई काटेर पनि विरोध गर्नुपर्ने हुन्छ ।’ उनले पत्रकार सम्मेलनमा भने,–‘हाम्रो मागप्रति प्रहरी प्रशासन र राज्य गम्भीर बनोस् ।’

sanjuhang sawa

कतिपयले यसलाई जातीय मुद्दाका रूपमा लिएका छन् भने कतिपयले दलका कार्यकर्ता भएका हिसावले विरोध जनाइरहेको भनेर आलोचना गरिरहेका छन् । तर, अध्यक्ष इजमले थपे,–‘ती हाम्रा कार्यकर्ता पनि होइनन् । अर्को कुरा जातीय कुरा पनि हैन । सबैको समान अधिकारको कुरा हो ।’ उनले संविधानले व्यवस्था गरेको हकअधिकार माग गरिएको बताए ।