तेह्रथुम/दुई नगरपालिका र चार गाउँपालिका रहेको तेह्रथुमको १९ वडा सचिवविहीन हुँदा सेवाग्राहीले सास्ती खेप्ने गरेका छन् ।  जिल्लाका ४३ वडामध्ये २४ वटा वडामा मात्र सचिव छन् । १९ वडा अझै सचिवविहीन छ । फेदाप गाउँपालिकाको ५ वटा वडामा ३ जना मात्र सचिव कार्यरत रहेको वडा नम्बर १ र ५ को जिम्मेवारी लिएका वडा सचिव दुर्गाप्रसाद भण्डारीले बताए । ५ वटा वडा कार्यालयमा ३ जना सचिवले काम गर्नुपर्ने भएका कारण काम गर्न गाह्रो भएको उनले बताए ।

आफूले २ ओटा वडा कार्यालय हेर्नु परेकाले सेवग्राहीलाई समस्या भएको उनी आफै स्वीर्काछन् । आठराई गाउँपालिकाका ७ वटा वडामा २ जना मात्र सचिव भएको १, ३, ५ र ७ नम्बर वडाको काम गर्दै आएका सचिव चित्रकुमार भट्टराईले बताए । सचिव अभावले दैनिक कार्यालयको कामका साथै सामाजिक सुरक्षा भत्ता वितरण गर्न लगायतका काममा समस्या भएको उनले बताए ।

गाउँपालिकाको अन्य दैनिक प्रशासनिक काम पनि कर्मचारी अभावले आफूले हेर्ने गरेको सचिव भट्टराईको भनाई छ । मेन्छ्यायेम गाउँपालिकाका ६ वटा वडामा पनि २ जना मात्र सचिव रहेको सचिव कृष्ण घिमिरेले बताए ।

वडा सचिव नहुँदा समस्या परेको बडा गाउँपालिका अध्यक्ष यादव खापुङ्गले बताए । ‘खै कर्मचारी कहिले पठाउने, कसले पठाउने, कसलाई भन्ने हो, आफु अन्योलमा परेको छु ।’ अक्ष्यक्ष खापुङ्गले भने ।
१० वटा वडा रहेको म्याङ्लुङ नगरपालिकामा ५ जना मात्र सचिव भएको र बाँकी ५ वडामा सचिव खाली रहेको ७ नम्बर वडाका वडासचिव रामप्रसाद भट्टराईले बताए ।

संघीय सरकारबाट सचिवको व्यवस्था नहुँदा काम गर्न निकै कठिन भइरहेको उनको गुनासो छ । सचिव नभएका वडामा करारका कर्मचारीमार्फत् कार्य सञ्चालन गर्ने गरेको बुझिएको छ । ९ वटा वडा भएको लालीगुराँस नगरपालिकामा पनि हाल २ जना मात्र सचिव कार्यरत रहेको वडा नम्बर ८ का सचिव अग्नि खनालले बताए । छथर गाउँपालिकाका ६ वटा वडामध्ये ५ वटा वडामा सचिव कार्यरत रहेको गाउँपालिकाका कर्मचारी गुणराज बानियाले बताए ।

वडा कार्यालय सचिवविहीन हुँदा नागरिकता सिफारिस, जन्म, मृत्यु तथा बसाईसराई दर्ता, बृद्धभत्ता वितरण लगायत कार्यमा समस्या भएको छ । केही वडामा वडाध्यक्षबाटै कार्य सम्पादन भइरहेको छ भने कतिपय वडाहरु त कार्यालय सहयोगीकै भरमा चलेको पनि पाइएको छ ।

सचिव व्यवस्थापनका लागि पटक पटक प्रदेश तथा संघीय सरकारसँग समन्वय गर्दा समाधान नभएपछि हाल भएका सचिवहरुबाट काम चलाइएको लालिगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबुहाङले बताए ।

राज्य संघीय संरचनामा सञ्चालित भइरहँदा जिल्ला तथा देशभरकै स्थानीय तहका विभिन्न वडाहरु सचिव विहीन छन् । जसका कारण गाउँमै आएको सिंहदरबारको अधिकार पाउन आम नागरिकलाई सहज हुनु पर्नेमा झन् सकस भएको सेवाग्राहीले बताउने गरेका छन् ।

पहिलेको भन्दा अहिले गाउँपालिका टाढा भएकाले काम गर्न समस्या हुने गरेको आठराई गाउँपालिका खाम्लालुङ्गका देवी दाहालले गुनासो गरे ।

चाँडोभन्दा चाँडो मन्त्रालयले स्थानीय तहका सबै वडाहरुमा सचिवको व्यवस्थापन गर्न नसके सिंहदरबारको अधिकार गाउँ गाउँमा भन्ने नारा नारामा मात्र सिमित हुने आठराई गाउँपालिकाका अध्यक्ष विष्णु विक्रम शुब्बाको धारणा छ ।