ताप्लेजुङ/भौगोलिक हिसावले विकट मानिएको ताप्लेजुङका सबै स्थानीय तहमा यातायातको पहुँच पुगेको छ ।

भारत र चीनसँग जोडिएको हिमाली जिल्ला ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा सवारी साधन पुगेसँगै जिल्लाका ९ वटै तहका नागरिकले गाडीबाटै सदरमुकाम आवतजावत गर्न सक्ने भएका हुन् । फुङलिङ नगरपालिकासँग जोडिएको मिक्वाखोला गाउँपालिकामा तमोर नदीबाट सवारी साधन तारिएसँगै जिल्लाको सबै स्थानीय तहमा सडकको पहुँच पुगेको छ ।

फुङलिङ नगरपालिका–९ हाङ्देवावाट तमोर तरेर मिक्वाखोला–२ को थुम्वावेँसीमा गाडी पुगेका हो । तमोरमा १२ वटा ह्युम पाइप राखेर तारिएको मिक्वाखोला–२ का वडाध्यक्ष सुरेश थापाले जानकारी दिए । चालक सुवास अधिकारीले बा १४ च ६७२० नम्बरको ट्याक्सी पहिलोपल्ट तारेका थिए । उनलाई स्थानीय मनकामना कृषक समुहले फूलमालाले स्वागत गरेको समूहका सदस्य प्रकाश थापाले बताए । पारीपट्टिको फुङलिङ बजारमा मात्रै गाडी देखेका मिक्वाखोलावासी गाउँमा गाडी पुगेसँगै खुसी भएका छन् ।

बजारसम्म ओहोरदोहोर गर्न, बिरामी पर्दा र गाउँमा फलेका तराकारी, अन्नपात बिक्री गर्न सहज हुने स्थानीय भक्तबहादुर बस्नेत बताउँछन् । ‘अरु सबै गाउँपालिकामा गाडी पुगेको सुन्दा सदरमुकाम छेउ भएर पनि दुर्गममा बसेको महसुस हुन्थ्यो, अब त्यो रहेन’–बस्नेतले भने । मिक्वाखोला–१, २ र ३ का प्रत्येक गाउँसम्म सडक बिस्तार भएको छ ।

सबै ठाउँमा हाल सवारी सञ्चालन हुने वडाध्यक्ष सुरेश थापा बताउँछन् । ‘वडा–१ र २ खोक्लिङको थापागाउँ, डाँडागाउँ, ३ को लिवाङ, काँडे र फक्ताङलुङ गाउँपालिका वडा–१ को सावादिनसम्म गाडी पुग्न सक्छन्,’ थापाले भने,–‘खोक्लिङबाट ४५ मिनेट र लिवाङबाट १ घण्टामा सदरमुकाम आउन सकिन्छ ।’ पहिले लिवाङबाट हिँडेर आउन ४ घण्टा समय लाग्थ्यो ।

दैनिक सदरमुकामसम्म गाडी सञ्चालनको लागि छलफल भइरहेको वडाध्यक्ष थापाले बताए । गाडी तारिएको स्थानमा निर्माणाधिन सानिमा हाइड्रोपावरले मोटरेबल पुल निर्माण गरिरहेको छ । दुई महिनाभित्र पुल निर्माण सकिने र त्यतिन्जेल खोलाबाटै सवारी सञ्चालन गरिने थापाको भनाइ छ । गाउँपालिका केन्द्रसम्म भने तत्काल सवारी सञ्चालन हुने अवस्था छैन ।

लिवाङमा ३ वर्षअघि गएको पहिरो नथामिएका कारण केन्द्र रहेको साँवासम्म सडक पु¥याउन नसकिएको गाउँपालिकाका प्रवक्ता दिपेन्द्र लिवाङको भनाइ छ । ‘अहिले पहिरो केही रोकिएको छ, त्यसैले यसवर्षभरिमा केन्द्रसम्म ट्रयाक खोल्नेगरी काम भइरहेको छ’–लिवाङले भने । उक्त सडकका लागि १ करोड ७५ लाख बजेट विनियोजन गरिएको उनको भनाइ छ । तमोर नदीमै दोभान पुल बने पनि केहि महिनाअघि आठराई त्रिवेणी, मेरिङ्देन र मैवाखोला गाउँपालिकाको केन्द्रसम्म सवारी पुगेका थिए ।

यो सँगै जिल्लाका सबै स्थानीय तहमा सवारीसाधन पुगे पनि कच्ची सडक भएका कारण वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गर्दछ । विकासको मुख्य आधारको रूपमा लिइएको सडकलाई बाहै्रमास सञ्चालन गर्न हुनेतर्फ सबैले ध्यान दिनुपर्छ ।