धरान /  धरान मन्दिरै मन्दिर भएको सहर हो । धार्मिक आस्थाको केन्द्र धरानमा भएका आकर्षक मन्दिरहरु संरक्षणको अभावमा ओझेलमा परेका छन् ।
धरान १४ विजयपुरमा मात्रै ५० भन्दा बढी हाराहारीमा साना तथा ठूला धार्मिक महत्व बोकेका मन्दिरहरु रहेका छन् । यसमध्ये पनि बुढासुब्बा मन्दिर, दन्तकाली मन्दिर, पिण्डेश्वर मन्दिर र पञ्चकन्या मन्दिरबाहेक अन्य स–साना मन्दिर पनि धरानमा छन् भन्ने कुरा धरानेहरुलाईसमेत थाहा छैन । पुरानो धार्मिक महत्व बोकेको विजयपुरवासीका नयाँ पुस्तालाई मन्दिरको विषयमा कुनै जानकारी नै छैन भने पुराना पुस्ताहरुले भने संरक्षणको अभावकै कारण नाम कहलिएका तीन मन्दिरबाहेक अन्य मन्दिर सम्बन्धित निकायको वेवास्ता र प्रचार प्रसारकै अभावका कारण ओझेलमा पर्दै गएका हुन् ।

धरानमा यी चार मन्दिरबाहेक नेपाल गुठी संस्थानको मातहत, संस्थानको सहयोग र निजी स्तरबाट चल्ने विजयपुर क्षेत्रमा मात्र गादी गणेश मन्दिर, पिण्डेश्वर मन्दिर परिषरमै रहेको बालाम्बा पिण्डेश्वर भगवतिको मन्दिर, त्यसका अलवा भीमसेन मन्दिर, विद्यवासिनीदेवीको मन्दिर, साहिली बाहिनी मन्दिर, गुप्तवासिनी देवी, राधाकृष्ण मन्दिर, हनुमान मन्दिर, श्रीराम मन्दिर, लक्ष्मीनाराण मन्दिर, बलभद्रेश्वर शिवालय, सिंहदेवी भगवती तथा धरान आसपासमा गरी ५० औं मन्दिर अहिले पनि ओझेलमा रहेका छन् । यसको प्रमुख कारण स्थानीय निकाय मानिएको धरान उपमहानगरपालिकाले मन्दिर संरक्षण र व्यवस्थापनमा बजेट थोरै छुट्याउनु र स्थानीयहरुले समेत तदारुकताका साथ नलाग्नुले पनि यहाँका तीन मन्दिरमध्ये अन्य मन्दिर ओझेलमा परेको स्थानीय अग्रज पूर्व प्रमुख जिल्ला अधिकारी कृष्ण कोइराला बताउछन् ।

अहिले धरानका मन्दिरहरुलाई आधार बनाएर धरानलाई धार्मिक पर्यटकीय स्थलको रुपमा उपमहानगरपालिकाले अगाडि बढाउने हो भने मन्दिरको व्यवस्थापन, सरसफाई, जीर्ण मन्दिरको मर्मत, सडक विस्तार लगायतका कुरामा धरान उपमहानगरपालिकाले मुख्य रुपमा योजना बनाएर अगाडि बढ्नुपर्नेमा उनले बताए ।
यस्तै विगत २५ बर्ष महेन्द्र वहुमुखी क्याम्पसमा प्राध्यापन गरिरहेका शिक्षाप्रेमी स्वयम्प्रकाश शर्माको भने बेग्लै छ । पछिल्लो समयमा सर्वसाारणमा धार्मिक आस्था कम हुदै जानु र राजनीतिक संक्रमणले धार्मिक पर्यटकीय स्थलमात्र हैन सबै कुरा प्रभावित भएर गएको र स्थानीय निकायमा जनप्रतिनिधि विहीन नहुदा अहिले विकासका काम प्रभावित भएको र भएका काममा समेत भ्रष्टाचार मौलाएका कारण विकासका काम सबै प्रभावित बन्ने गरेको बताए ।

 

धरानलाई धार्मिक पर्यटन स्थलको रुपमा परिचित गराउन विभिन्न पर्यटन व्यवसायी र सर्वसाधारण केही ह

Dharan bazar 2

दसम्म उत्साहित भए पनि धरान उपमहानगरपालिकाले यस्ता क्षेत्रका विकासमा न्यून बजेट छुट्याएकै कारण धार्मिक स्थलको विकास हुन नसकेको स्पष्ट भएको छ । धरान उपमहानगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि भनेर दुईवटा शीर्षकमा बजेट छुट्याएको छ । पर्यटन सम्बन्धी विभिन्न कार्यक्रममा १ लाख ५० हजार छुट्याइएको छ भने धार्मिक पर्यटन शीर्षकबाट बार्षिक १ लाख रुपैयामात्र छुट्याइएको धरान उपमहानगरपालिकाका सूचना अधिकृत भक्तिराज शर्माले जानकारी दिए । यसमा पनि समग्र धार्मिक क्षेत्रको विकास भन्दा पनि विभिन्न धार्मिक पर्यटन प्रवद्र्धन विकास कार्यक्रम ३५ हजार, पिण्डेश्वर मेला व्यवस्थापन ३० हजार, बराहक्षेत्र मेला व्यवस्थापन २० हजार र विष्णुपादुका मन्दिर मेला व्यवस्थापन शीर्षकमा प्रत्येक बर्ष १५ हजार छुट्याइएको बाहेक समग्र मठमन्दिरको प्रचारप्रसार, पुन निर्माण, निर्माण, त्यसस्थान सम्म पुग्ने सडक तथा अन्य पूर्वाधारका विषयमा बजेट नै नभएको सूचना अधिकृत शर्माको भनाई छ ।

राणाकालीन अवस्थादेखि पञ्चायतकालीन समयमा मन्दिरहरु निर्माण गरिएका पुरातात्विक महत्वको मन्दिरहरु अहिले जीर्ण भएका छने भने मन्दिरको जग्गासमेत अतिक्रमणमा परेका छन् । ऐतिहासिक महत्व बोकेको विजयपुरमा ऐतिहासिक पुरातात्विक महत्वका मठ मन्दिरको संरक्षण नगरी धरानलाई धार्मिक पर्यटकीय स्थल बनाउने कुरा खाली प्रचारबाजी बाहेक केही हुन सक्दैन । साच्चै नै धरानलाई धार्मिक पर्यटकीय स्थल बनाउने हो भने अब स्थानीय निकाय, मन्दिर सञ्चालक समिति, सर्वसाधारण सबै मिलेर ऐतिहासिक मठ मन्दिरको संरक्षणमा लाग्न जरुरी छ । हैन भने भएका मठमन्दिरका समेत अस्तित्व समाप्त भएर जाने खतरा समेत बढेर नजाला भन्न सकिन्छ ।