लक्ष्मीप्रसाद देवकोटा लिखित ‘मुनामदन’ का यी हरफले दाँतको महत्व मानिसको जीवनकालमा कति धेरै छ भनेर स्पष्ट पारिदिएको छ।
हामीहरु कतिपय दाँतको समस्यालाई सामान्य मानी उपचार गर्दैनौं। तर मानिसको मृत्युपछि केही कारणवश शव नचिनिने अवस्था भएमा त्यही दाँत र उपचार पद्धति शव चिन्न ठूलो सहयोगी सावित हुन सक्छ। हरेक दाँतको आफ्नो छुट्टै नम्बर हुन्छ र एनाटोमी पनि हरेक दाँतको भिन्नाभिन्नै हुन्छ। दाँतले डीएनएजत्तिकै काम गर्छ। जलेको अवस्थामा पनि दाँत नष्ट हुँदैंन र छिट्टै जलिहाल्दैन किनभने दाँतको बाहिरी भाग इनामेलले बनेको हुन्छ, जुन शरीरको कडा भाग हो।
दाँतलाई डीएनए परीक्षण गर्नुभन्दा अघिको अन्तिम विकल्पको रुपमा लिइन्छ। उदाहरणका लागि हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगला विमान दुर्घटनालाई हेर्न सकिन्छ। उक्त दुर्घटनामा मृत्यु भएका धेरैको शरीर जलेर पुरै नचिन्ने अवस्थामा पुग्यो। यदि उनीहरुमध्ये कसैले दाँतको उपचार जस्तै आरसीटी गरेका थिए भने परिवारसँग कुरा गरेर कुन दाँतको आरसीटी भनी बुझेपछि शवमा हेरेर छुट्याउन सजिलो हुन्छ।
मानिस मरिसकेपछि शरीरमा विभिन्न परिवर्तन आउँछन्, जसलाई मेडिकल भाषामा ‘पोस्टमोर्टम चेन्जेज’ भनिन्छ। जसले शव चिन्न झन् कठिन बनाउँछ। दाँतमा भने त्यस्तो कुनै परिवर्तन हुँदैन। शव चिन्न दाँतको प्रयोग धेरै पहिलेदेखि नै हुँदैं आएको पाइन्छ। सन् ६६ मा नेसको घरमा काम गर्ने युवती सविनाले आफ्नो मालिक्नीको टाउको अगाडि कालो दाँत भएको कारणले पहिचान गर्न सकेकी थिइन्।
अमेरिकाको एउटा राज्यमा त सबैले आफ्नो दाँतको एक्स–रे गर्नैपर्ने कानून बनाइएको छ। नेपालजस्तो गरिब मुलुकमा डीएनए परीक्षणको खर्च धेरै लाग्ने हुँदा दाँतबाट शव पहिचान गर्ने पढाई ‘फरेन्सिक ओडोन्टोलोजी’ भित्र्याउनु जरुरी देखिन्छ।
































