भद्रपुर । झापा भद्रपुरका खेमराज ढकालको हत्या एनेस्थेसियामा प्रयोग हुने औषधि प्रयोग गरेको खुलेको छ । 

बिरामीलाई शल्यक्रिया गर्नुअगि बेहोस (अचेत) पार्न एनेस्थेसियामा प्रयोग हुने प्रोपोफोल औषधिसहित सिरिन्ज प्रहार गरी ढकालको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

सिरहा विष्णुपुर गाउँपालिका–१ स्थायी घर भएका २६ वर्षीय दिपेशकुमार सिंहले बिहीबार साँझ साढे ६ बजेतिर भद्रपुर नगरपालिका–१० त्रिवेणी टोलका ६६ वर्षीय ढकालमाथि सिरिन्ज प्रहार गरेका थिए । सिंह धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी हुन् । उनीमाथि यसअघि पनि प्रहरीमा निवेदन परेको प्रहरीले पठाएको प्रतिवेदनमा उल्लेख छ । 

ढकाल परिवारसँग आफ्नै घरमा बसिरहेको अवस्थामा सिंहले घाँटीको भागमा सिरिन्ज प्रहार गरेका थिए । उक्त सिरिन्ज प्रहारबाट गम्भीर घाइते भएका ढकाललाई उपचारको लागि भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा पु¥याई चेकजाँच गर्दा चिकित्सकले मृत घोषित गरेका थिए । 

घटनालगत्तै प्रहरीले आरोपित सिंहलाई पक्राउ गरेको थियो । पीडितको घाँटीमा प्रहार गरिएको सिरिन्जमा भएको सो औषधि ल्याव परीक्षण गर्न पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी खगेन्द्रबहादुर खड्काले बताएका थिए ।

सिंहले घोपामै एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत छात्राका बुबा ढकाललाई सिरिन्ज प्रहार गरी हत्या गरेको डिएसपी खड्काले पुष्टि गरेका थिए । सिंह बिहीबार बिहान पनि मृतक ढकालको घर पत्ता लगाई अवकाश प्राप्त शिक्षक चाहिएको छ खोजिदिनुप¥यो भन्ने बहाना बनाई घरमा पुगेको परिवारको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ । मृतककी छोरी घोपामा एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत रहेकीले उनीहरूबीच सामान्य चिनजान रहेको बुझिएको छ ।

८–९ महिनाअगाडि पनि ढकालकी छोरीको बदनाम गर्ने नियतले सिंहले फोटोहरू सम्पादन गरी पठाएको बुझिएको छ । सोही विषयमा उनीविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी गरेको पीडित पक्षले जनाएको छ । सिंहले प्रेम प्रस्ताव राख्दा ढकालकी छोरीले अस्वीकार गरेको बताइए पनि छोरीसँगको रिसइबीले बुबाको हत्या गर्नुपर्ने कारण भने पत्ता लाग्न नसकेकोले त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न सिंहलाई मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसूरअन्तर्गत कारबाही तथा अनुसन्धान सुरु गरिएको डिएसपी खड्काले जानकारी दिए ।