भद्रपुर । झापाको भद्रपुर नगरपालिका–१० त्रिवेणी टोलमा सिरिन्जमार्फत् केमिकल प्रहार गरी ६६ वर्षीय एक पुरुषको हत्या गरिएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक विद्यार्थी घटनामा संलग्न भएको आरोपमा प्रहरीले शुक्रबार नै नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार साँझ भद्रपुर नगरपालिका–१० त्रिवेणी टोलस्थित आफ्नै घरमा बसिरहेका खेमराज ढकालमाथि अभियुक्त दिपेशकुमार सिंहले आफूले ल्याएको तरल पदार्थ भरिएको सिरिन्जले घाँटीमा प्रहार गरेका थिए । प्रहारबाट गम्भीर घाइते भएका ढकाललाई तत्काल उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पताल लगिएको थियो । तर चिकित्सकले जाँचपश्चात् उनलाई मृत घोषणा गरेका थिए ।
पक्राउ परेका सिंह सिरहाको विष्णुपुर गाउँपालिका–१ स्थायी घर भई प्रतिष्ठानमा अध्ययनरत भएको प्रहरीले जनायो । हाल बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा ःद्यद्यक् चौथो वर्षमा अध्ययनरत रहेको प्रहरीले जानकारी दिएको छ । घटनालगत्तै सोही दिन उनलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार सिंह बिहानै झापा पुगेका थिए । मृतककी छोरी पनि सोही प्रतिष्ठानमा एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत रहेकी र अभियुक्तसँग सामान्य चिनजान रहेको बताइएको छ ।
अनुसन्धानका क्रममा मृतक परिवारले दिएको जानकारी अनुसार करिब ८–९ महिनाअगाडि अभियुक्तले मृतककी छोरीलाई बदनाम गर्ने उद्देश्यले फोटोहरू सम्पादन गरी पठाएको र त्यस विषयमा अभियुक्तविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरीसमेत परेको खुलेको छ । सोही रिसइवी र व्यक्तिगत द्वन्द्व घटनाको कारण हुनसक्ने आशंकामा प्रहरीले गरेको छ । घटनामा प्रयोग गरिएको सिरिन्जभित्र रहेको तरल पदार्थमा के–कस्ता रासायनिक तŒव मिसाइएको हो भन्ने विषयमा ल्याव परीक्षणपछि मात्र यकिन हुने प्रहरीले जनाएको छ । हाल उक्त पदार्थ परीक्षणका लागि पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले अभियुक्तविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यस विषयमा प्रतिष्ठानका डिन डा. अनुप घिमिरेले आफूलाई अनलाइनहरूमा सामाचार हेरेर जानकारी भएको बताए ।
































