काठमाडौँबाट रापतापका साथ झापा झरेका बालेन्द्र साह (बालेन) को विषयमा अनेकन अड्कलबाजी भइरहेका छन् । बालेनले जित्ला कि नजित्ला ? बालेनले त जितिसके, ओलीले हारिसके । ओली यस पटक हार्दैछन् । यी यस्ता अड्कालबाजीका बीचमा यस पङ्क्तिकार तथ्याङ्कमा आधारित नभई तथ्यको घेरामा रहेर केही धारणा प्रस्तुत गरेको छु ।

हिन्दीमा एउटा कहावत् छ–“राजनीति मे जो दिखाई देते हे, वो होता नहीं, जो होता हे, वो दिखाइ नहीं देता हे अर्थात् राजनीतिमा जे देखिन्छ त्यो हुँदैन, जे हुन्छ त्यो देखिँदैन ।” यो उक्ति नेपाली राजनीतिको सन्दर्भमा पनि मिल्छ । अहिले तपाईंहरूले सामाजिक सञ्जाल फेसबुक हेर्नुभयो भने एमालेजनबाट बालेनका विषयमा दुष्प्रचार (डिसइन्फरमेसन) फैलाएको पाउनुहुन्छ । एमालेजनले बालेनलाई सिंहदरबार जलाउने मुख्य नाइके भनेर परिभाषित गर्दै आएका छन् । लुसिफरको ट्याग पनि लगाउँदै आएका छन् । प्रायः को फेसबुक स्टाटसमा त्यही पाउनुहुन्छ ।

के साँच्चै बालेनले सिंहदरबार जलाएका हुन् ? या एमालेले दुष्प्रचार गरिरहेको हो ? यो प्रश्नको उत्तर सजिलो छैन तर त्यति धेरै अप्ठ्यारो पनि छैन । राजनीति नै यही हो । राजकाज गर्ने नीति अर्थात् राजनीति । यसलाई कुनै समयमा मिडियामा प्रयोग गरिने शब्दका आधारमा भन्दा ‘प्रोपगाण्डा’ हो । योसँगै अर्को शब्द पनि प्रचलनमा छ, त्यो भनेको पीतपत्रकारिता । यो पारिभाषिक शब्द मिडियामा मात्रै रहेन । यो साझा शब्दको रूपमा प्रयोगमा आउन थालेको छ । आखिर यसो किन भइरहेको छ ? किनकि प्रोपगाण्डा सुरुवात हुँदा के भनिन्थ्यो भने कुनै झुट कुरा सय पटक भनियो भने त्यो सत्य सावित हुनेछ ।

यो नियम यहाँ पनि लागू गर्न खोजिएको छ । एमालेजनले आफ्ना कार्यकर्ता तथा नेतामार्फत् बारम्बार यो कुरा समाजमा लगिरहेका छन् कि बालेन भनेको सिंहदरबार जलाउने हुन् । उनी लुसिफर हुन् । उनी विनाशक हुन् । विकास विरोधी हुन् । त्यसकारण उनलाई भोट दिनु हुँदैन । अनि जनतालाई पनि लाग्न थाल्छ कि उनी विनाशक नै हुन् । सिंहदरबार जलाउने प्रमुख व्यक्ति नै हुन् । मतदाताहरूको मनमनमा त्यो कुरा बस्न थाल्छ । यो अफवाहले पनि चुनावमा केही काम गर्छ ।

यी त भए चुनावी फण्डा । जुन कुरा तपाईं हामीले बुझ्न थालेका छौँ । यस्ता कुराका पछाडि अब जनता भुलिन्छन् या भुलिँदैनन् त्यो तपसिलको विषय हो । खासमा यहाँ चर्चा गर्न खोजेको ओपन सेक्रेट चाहिँ के हो भने यो निर्वाचन क्षेत्रबाट फेरि पनि केपी शर्मा ओलीले चुनाव जित्दैछन् । त्यसकारण गुह्य कारणबारे आफ्ना केही मत राख्ने अनुमति चाहन्छु । तपाईंहरू त्यसमा सहमत हुनुस् या नहुनुस् । यो नितान्त तपाईंको कुरा हो । मैले प्रस्तुत गरेको कुरा नितान्त मेरो हो भन्दा पनि राजनीति भित्र हुने कुरा हो ।

अब बहस सुरु गरौँ । धेरैले गणितको राजनीतिका बारेमा कुरा गरिसकेका छन् । गणितका आधारमा झापा ५ मा एमाले बलियो मानिन्छ । समानुपातिक मतका आधारमा हेर्दा पनि एमाले पहिलो दलको रूपमा स्थापित थियो । २०८२ को चुनावमा केही तलमाथि होला तर पूर्णतः तलमाथि हुँदैन । अहिले तपाईंहरूले मिडियामार्फत् तथा सामाजिक सञ्जालहरूमा एउटा कुरा सुनिरहनु भएको छ । त्यो के भने ओलीले विपक्षी अन्य दलहरूलाई ‘कन्भिन्स’ गरिरहेको । यतिसम्म कि एमालेका अध्यक्ष र महासचिवलाई जिताएमा दुईका बदला ४ ठाउँमा जिताउने ।

यो पनि उडन्ते जस्तो लाग्छ । तर यस कुरामा धेरै सत्यता छ । अब झापा ५ तिर फर्कौं । यहाँको चुनावी रन्कोलाई आधार मान्ने हो भने चुनावमा दुईजनाको मात्रै प्रतिस्पर्धा हो कि जस्तो भ्रान्ती गराउँछ । अर्थात् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र काठमाडौँका निवर्तमान प्रमुख बालेन्द्र साह । आखिर यी दुईजना बीच मात्रै त निर्वाचन भइरहेको होइन । यहाँ नेपाली कम्युनिष्ट पार्टी, नेपाली काङ्ग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टीलगायत दलहरूका उम्मेदवार भिडन्तमा छन् । यी दलबाहेक अन्यको पनि उपस्थिति छ तर चर्चा यी दुईको मात्रै छ ।

नेपाली राजनीतिमा एक छत्र राज गर्दै आएका दल तथा तिनका नेतालाई बलियो बनाउनका लागि भित्र भित्र नयाँ राजनीतिको खेल सुरु हुन्छ । अर्थात् ओलीलाई जिताउनका लागि लामै कसरत हुन्छ, हुँदैछ । केही समयअघि नेपाली काङ्ग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवासँग ओलीको भेट भएको समाचारहरू मिडियामा सार्वजनिक भए । आखिर ओलीले देउवालाई किन भेटे ? किनकि काङ्ग्रेसका देउवाको शक्ति पूर्णतः क्षीण भएको छैन । उनी सभापति मात्रै नभएका हुन् । उनको लामो विरासतले नेपाली काङ्ग्रेसमा काम गरेको हुन्छ । उनको बोली बिक्छ । अहिले पनि काङ्ग्रेसमा किचलो कायमै छ । अदालतमा नटुङ्गिएसम्म यसको भाग्य र भविष्य यसै हो भन्न सक्ने अवस्था छैन । त्यसकारण पनि देउवा शक्तिका एक हिस्सा हुन् ।

ओली त्यो शक्तिलाई प्रयोग गर्न चाहन्छन् र फेरि देउवाको साथ पाएर सत्तामा पुग्न चाहन्छन् । त्यसका बदलामा उनले जे सुकै दिनु किन नपरोस् । देउवाले ग्रिन सिग्नल दिएको खण्डमा ओलीको पक्षमा मत जाने देखिन्छ । यसो हुँदा उनलाई जित्ने आधार केही बलियो हुन्छ । अर्कोतिर अन्य दलहरूसँग पनि यस्तै साँठगाँठ हुन्छ । शक्ति जोगाउने खेल मात्रै हैन, एउटा लामो लिगेसीलाई बचाउने खेल पनि हो ।

२०७९ को निर्वाचनमा ओलीले ५२ हजारभन्दा बढी मत किन र कसरी ल्याए भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । त्यसबेला त गठबन्धन गरेर निर्वाचन भएको थियो । यसपटक अवस्था त्यो छैन । तर भित्रभित्रै त्यो गठबन्धन हुन्छ । मुख्य दलका मुख्य मानिसहरूलाई जिताउनका लागि यो प्रक्रिया विगतदेखि चल्दै आएको थियो र छ ।

तत्कालीन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिरहा ५ मा भएको त्यही हो । भित्रभित्र एक प्रकारको सेटिङ गरिन्छ । त्यो सेटिङ चुनावको बेला मात्रै हैन, मत गणनाको बेला पनि हुन्छ ।

ओलीलाई मत दिने एउटा दल मात्रै हुँदैन । लुसिफरलाई हराउन अन्य दलहरूले पनि साथसहयोग गर्छन् । त्यसमा मतदाताहरूलाई पनि कन्भिन्स गरिन्छ । यो किन गरिन्छ भने ओली जस्तै अन्य पार्टीका टाउकेहरूलाई पनि भोलि जो सुकैले हराउन सक्छन् भनेर भाष्य निर्माण गरिन्छ । त्यसका लागि मनोवैज्ञानिक हतियारको प्रयोग गरिन्छ । त्यो हतियारले काम गरेन भने राजनीतिमा प्रयोग हुने चारवटा शब्द ‘साम, दाम, दण्ड, भेद’ को व्यापक प्रयोग गरिन्छ । त्यसैले मैले माथि नै पनि उल्लेख गरिसकेको छु । राजनीतिमा जे देखिन्छ त्यो हुँदैन, जे हुँदैन त्यो देखिन्छ ।

अहिले राप्रपा तथा नेपाली काङ्ग्रेससहित अन्य दलहरू ओलीलाई जिताउनका लागि भित्रभित्रै कसरत भइरहेको हुन सक्छ । यो कसरत फागुन २१ अगाडिसम्म जारी रहन्छ । त्यसपश्चात् पनि जारी रहन्छ नै । तर, यस्ता विषय कसैलाई पनि थाहा हुँदैन । सीमित केही व्यक्ति तथा राजनीतिक दलका नेताहरूलाई मात्रै थाहा हुन्छ ।

तर, यसपटक केही पृथक् अवस्था पनि छ । किनकि चुनावी सरकार ओलीको फेबरमा छैन । त्यसैले एमालेजनले फागुन २१ मा चुनाव हुँदैन भनेर अर्को प्रोपगाण्डा पनि फैलाइरहेको देखिन्छ । यस्ता दुष्प्रचारहरूले आममानिसमा भय सिर्जना गरिरहन्छ । साँच्चै चुनाव हुँदैन कि क्या हो भन्ने जस्तो भ्रममा पनि जनता पर्छन् । भ्रम सिर्जना गर्नु राजनीतिक धर्म नै हो । जनताको धर्म भनेको सही उम्मेदवार छनोट गरेर भोट हाल्नु हो । कसैसँग कन्भिन्स भइरहनु पर्दैन । २०४८ पछि देशमा भए गरेका कामले नै कुन दललाई मत दिनुपर्छ र पर्दैन भन्ने कुरा जनताले बुझिसकेका छन् । त्यसकारण भयरहित वातावरणमा चुनावमा सहभागी हुनु चाहिँ असल मतदाताको कर्म हो ।