धरान । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल बढ्दै जाँदा कोशी प्रदेशका पहाडी जिल्लाका उम्मेदवार मतदाता फकाउन तराईका जिल्लामा पुगेर भेटघाटलाई तीव्रता दिएका छन् ।
कोशी प्रदेशका पहाडी जिल्ला भोजपुर, खोटाङ, तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथरलगायत जिल्लाका उम्मेदवारहरू मतदातासँग भेटघाट र आफ्नो पक्षमा मतदाता फकाउन तराईका जिल्ला सुनसरी, मोरङ, झापा, उदयपुर झरेर मत माग्ने काम गरिरहेका छन् ।
उनीहरूले तराईका जिल्लामा आ–आफ्ना पार्टीका भेला, बैठक र मतदातासँग प्रत्यक्ष भेटेरै मतदाता रिझाउने काम गरिरहेका छन् । केही दिनअघि तेह्रथुमबाट नेकपा (एमाले)बाट उम्मेदवार बनेका एमाले पार्टी सचिवसमेत रहेका भानुभक्त ढकालले धरान, विराटनगर र झापामा तेह्रथुमबाट तराई झरेका मतदाताहरूसँग छलफल गरेका छन् । धरानमा उनले तेह्रथुमको समस्याबारे छलफल गरे ।
यस्तै भोजपुरबाट श्रम संस्कृति पार्टीबाट प्रतिनिधि सभा सदस्यमा उठेका ध्रुव राईले पनि धरानमा रहेका भोजपुरेसँग बृहत् परामर्श र छलफल गरेका छन् । यस्तै एमालेका उम्मेदवार पार्टी सचिवसमेत रहेका शेरधन राईले पनि धरान र विराटनगरमा भेला गरेर आफ्ना एजेण्डाहरू प्रस्तुत गर्दै फागुन २१ म सबै भोजपुरवासीलाई जिल्ला निस्कन निमन्त्रणा गरेका छन् ।
यस्तै नेकपाको उम्मेदवार अजम्बर काङ्माङले पनि तराईमा झरेर मत मागिसकेका छन् । उनी पनि भोजपुरबाट उम्मेदवार बनेका छन् । खोटाङमा नेकपा (एमाले)बाट उम्मेदवार बनेका देवविक्रम राईले केही दिनअघि काठमाडौंमा बस्ने मतदाताहरूसँग भेटेर इटहरी, धरान, विराटनगर र उदयपुरमा रहेका मतदाताहरूसँग छलफल गरेका छन् । हाल भने उनी गाउँ फर्किसकेका छन् ।
प्रदेशका १४ जिल्लामध्ये हिमाली जिल्ला सङ्खुवासभा, ताप्लेजुङ र सोलुखुम्बु तथा अन्य ७ जिल्ला पहाडी जिल्ला पर्दछन् । पहाडी जिल्लाका धेरै मतदाता बसाइ सरेर झापा, मोरङ, सुनसरी, उदयपुर, काठमाडौँलगायत जिल्लामा पुगेका छन् । तर उनीहरूले मतदाता नामावली भने स्थानान्तरण नगरिसकेकाले निर्वाचनका समयमा उम्मेदवार मत माग्न यी जिल्लामा पुग्ने गरेका हुन् ।
जिल्लाबाहिरका मतदातालाई निर्वाचनमा मतदानका लागि आउने वातावरण बनाउन अन्य जिल्लामा पुगेर भेटघाट, भेला, छलफलजस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको नेकपा (एमाले)का उम्मेदवार शेरधन राईले बताए । यसअघिका स्थानीय तह निर्वाचन र सङ्घीय तथा प्रादेशिक निर्वाचनमा यसरी नै उम्मेदवारहरूले बेजिल्लामा रहेका मतदातालाई भेटेर मत माग्ने गरेका थिए । सोही कार्यलाई अहिले निरन्तरता दिएका छन् । तर यसवर्ष जेन जी आन्दोलनपछिको विशेष परिस्थितमा फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा हुँदा उम्मेदवारलाई मतदाता खोज्न सकस परेको छ । मतदाताहरू निराश छन् ।
निर्वाचन आयोगले जिल्लाबाहिर रहेका यस्ता मतदातालाई मतदानमा सहभागी हुन उत्पे्ररित गर्न निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन पनि गरेको छ । मतदाता केन्द्रित निर्वाचन शिक्षा कार्यक्रम निर्वाचन आयोगले विभिन्न सञ्चार माध्यमबाट प्रकाशन र प्रसारण गर्ने काम हुँदै आएको छ । यसका साथै राजनीतिक दलहरूले पनि यस्ता कार्यक्रम गरिरहेको आयोगले जनाएको छ ।
































