विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले राजस्व चुहावटको आशङ्कामा १ करोड ८१ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको लत्ताकपडा तथा सामानसहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले आइतबार साँझ विराटनगर महानगरपालिका वडा नं. १४ स्थित रानी–रोडशेष सडक–खण्डबाट ती ट्रकहरू नियन्त्रणमा लिएको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका ट्रकहरूमा बिल–विजकभन्दा बढी सामान रहेको र न्यून मूल्याङ्कन गरी राजस्व चुहावट गरिएको भेटिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा प्र. ३–०१–००५ ख ९४२५ नम्बरको ट्रकसहित चालक सिन्धुपाल्चोक बाह्रबिसे–९ का ४९ वर्षीय ऋषिराम पौडेल तथा प्र. ३–०१–००६ ख १३०८ नम्बरको ट्रकसहित चालक रामेछाप मन्थली–१० का ३७ वर्षीय कुमार बुढाथोकी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीका अनुसार बरामद गरिएका लत्ताकपडा तथा सामानहरूको कुल बजार मूल्य १ करोड ८१ लाख २६ हजार ८७ रुपैयाँ बराबर रहेको छ ।

प्रहरीले नियन्त्रणमा लिएका दुवै ट्रक, चालक र सामानलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी, सुनसरी पठाइएको जानकारी दिएको छ ।