धरान । पोखराको लालीगुराँस एसोसिएसन २६ औँ बूढासुब्बा गोल्डकपको अन्तिम चारमा स्थान बनाएको छ ।

आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५-४ गोल अन्तरले हराउँदै लालीगुराँस सेमीफाइनलमा पुगेको हो । सोमबारको निर्धारित ९० मिनेट र थप १५ मिनेटमा पनि गोलरहित बराबरीमा टुङ्गिएपछि खेल टाइबे्रकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा पोखराबाट राम थापा, टीकाराज गुरूङ, सुदीप गुरुङ, अब्दुल यसुफ र आशिष गुरुङले गोल गरे । यता धरानबाट विवेक राई, सबिन राई, प्रज्वल थापा र नगेन राईले गोल गरे । कप्तान दोर्के तामाङले गरेको प्रहारलाई विपक्षी गोलरक्षक कुम्भ देउबाले रोके । खेलको म्यान अफ दी म्याच गोलरक्षक देउवा घोषित भए ।

आज (मङ्गलबार) झापा ११ र सातदोबाटो फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।