राष्ट्रिय भाषा जोङ्खा भए पनि भुटानमा अधिकांश मानिसले नेपाली भाषा बोल्ने गरेको त्यहाँका सर्वसाधारणले बताएका छन्। भुटानमा नेपाली भाषा सम्पर्क भाषाको रुपमा विकसित हुँदै गएको उनीहरुले बताए। छिमेकी देशका सीमावर्ती स्थानका मानिसहरुसँग व्यापार-व्यवसाय गर्नुपर्दा पनि नेपाली भाषा नै प्रयोग हुने गरेको उनीहरुले बताए। भुटानमा नेपाली भाषा पठनपाठन हुन छोडेको ३२ वर्ष भएपनि नेपाली भाषा भुटानका लागि महत्त्वपूर्ण भाषा भएको भुटान सरकारका एकजना मन्त्रीले बताएका छन्।   सहज भुटानको राजधानी थिम्पुका ट्याक्सी चालक साङगे दावाले विद्यालयमा कहिले पनि नेपाली भाषा पढेनन्। उनको मातृभाषा अर्कै हो। तर उनी नेपाली भाषा बोल्न सक्छन्। दावा भन्छन्, 'भुटानमा नेपाली बोल्न जान्यो भने कुनै समस्या हुँदैन। यहाँ झन्डै ७० देखि ८० प्रतिशत मानिसहरुले नेपाली बोल्छन्।' भुटानमा नेपाली भाषाको पठनपाठन नभएको तीन दशकभन्दा बढी भइसक्यो। तर अधिकांशले नेपाली भाषा बोल्ने गरेको भुटानी सर्वसाधारण बताउँछन्। नेपालीभाषीलगायत अन्य मातृभाषा भएकाहरुले पनि नेपाली भाषा बोल्ने गरेको उनीहरुले बताए। भुटानका एकजना पूर्व सांसद दुर्गाप्रसाद क्षेत्रीले भने, "यहाँ जुनसुकै गल्लीमा वा पसलमा जानुहोस् नेपाली बोल्दा हुन्छ। तर नेपालको बोल्ने शैली र यहाँको बोल्ने शैली अलि फरक छ"। सम्पर्क छिमेकी देशका सीमावर्ती स्थानहरूमा नेपालीभाषी लगायत अन्य समुदायका मानिसहरूले नेपाली भाषा नै बोल्ने भएकाले सम्पर्कका लागि नेपाली बोल्न अनिवार्य जस्तै भएको भुटानी सर्वसाधारणको बुझाइ छ। पहिला नेपालीभाषीहरुको बसोवास दक्षिण भुटानमा केन्द्रित थियो। तर अहिले जागिर तथा व्यवसायका लागि राजधानी थिम्पु, पारो लगायतका स्थानमा उनीहरुको बसोवास बढ्दै गएको बताइएको छ। उनीहरूबाट अन्य समुदायका मानिसहरूले पनि नेपाली भाषा सिक्न थालेको भुटानी सर्वसाधारण बताउँछन्। तथ्याङ्क कति प्रतिशत सर्वसाधारणले नेपाली भाषा बोल्छन् भन्ने कुराको तथ्याङ्क नभएको सरकारी अधिकारीहरु बताउँछन्। तर नेपाली भाषा भुटानमा एउटा महत्त्वपूर्ण भाषा भएको भुटानका सूचना तथा सञ्चार मन्त्री डीएन ढुंगेलले बताए। उनले भने, "यहाँ नेपाली भाषा कतिले बोल्छन् भन्ने तथ्याङ्क नभए पनि यो सम्पर्कका लागि महत्वपूर्ण भाषा हो"। तर नेपाली भाषाको पठनपाठन किन रोकियो भन्ने प्रश्नको उत्तर कसैसँग पाइँदैन।

-बिबिसिबाट