नयाँ दिल्ली/ आरुषी तलवार हत्याकाण्डमा केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले हाइकोर्टको फैसलाप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा अपिल गरेको छ। इलाहावाद हाईकोर्टको फैसलालाई चुनौती दिँदै सिबिआईले तलवार दम्पतीलाई निर्दोष ठहर गर्ने फैसला उल्टाउनसमेत माग गरेको छ।
हाइकोर्टले गाजियावाद ट्रायल कोर्ट ९जिल्ला अदालत० को फैसलालाई ठिकसँग अध्ययन नै नगरेको जिकिर गरिएको छ।
२००८ मे १४(१५ मा भएको आरुषी र नेपाली नागरिक हेमराज हत्याकाण्डमा प्रमाणको अभाव देखाउँदै इलाहावाद हाइकोर्टले राजेश तलवार र नुपुर तलवारलाई ५ महिनापहिले रिहा गर्ने आदेश दिएको थियो। अतिरिक्त कानुनी अधिकृत जनरल पी नरसिम्हासँगको भेटपछि सिबिआईले यो मुद्दा सर्वोच्चमा अपिल गर्ने निर्णय गरेको हो।
यो फैसलामा तलवार दम्पतीलाई दोषी ठहर गर्नुको परिस्थितिजन्य प्रमाण आरुषीलाई हेमराजसँग अश्लील अवस्थामा देख्नु भएको उल्लेख थियो। यस आधारमा उनीहरुले आवेग सहन नसकी दुवैको हत्या गरेको ट्रायक कोर्टको फैसलामा उल्लेख थियो।
हत्याको समयमा कुनै साक्षी नभएको हुँदा तत्कालीन परिस्थितिजन्य प्रमाणलाई नै आधार मान्नुपर्ने सिबिआईको तर्क छ। यो प्रमाण एकदम महत्वपूर्ण भएपछि उच्च अदालतले त्यसलाई बेवास्ता गरेर फैसला गरेको सिबिआईको अपिलपत्रमा उल्लेख छ। घरमा तलवार दम्पतीले देखाएको व्यवहार, काम गर्ने महिलाको बयान र उनलाई घरभित्रै बन्धक बनाउनु जस्ता कुरालाई ख्यालै नगरी फैसला गरेको सिबिआईको जिकिर छ।
यसअघि गत साता १२ अक्टोबरमा इलाहावाद उच्च अदालतले बहुचर्चित दोहोरो हत्याकाण्डमा जिल्ला अदालतको फैसला उल्टाउने निर्णय गरेको थियो। अदालतले भनेको थियो, ‘जति प्रमाण पेश गरिएका छन्, तलवार दम्पतीलाई दोषी ठहर गर्न ती पर्याप्त छैनन्, त्यसैले तलवार दम्पतीलाई पनि शंकाको लाभ लिने मौका दिनुपर्छ।’ यो फैसलापछि ९ वर्षसम्म चलेको बहुचर्चित हत्याकाण्डमा तलवार दम्पतीलाई केही राहत महसुस भएको थियो।
गाजियावाद सिबिआई अदालतले २६ नोभेम्बर २०१३ मा तलवार दम्पतीलाई दोषी ठहर गर्दै आजीवन कारावास हुने सजाय सुनाएको थियो।
के हो घटना ? डेन्टिस्ट राजेश तलवारकी १४ वर्षीया छोरी आरुषी र घरका कामदार हेमराजको सन् २००८ मे १५/१६ बीचमा नोयडा जलवायु विहारस्थित घरमा हत्या भएको थियो।
प्रहरीले सुरुमा हेमराजमाथि शंका गरेको थियो। तर भोलिपल्ट उनको पनि शव फेला पर्यो। सुरुमा उत्तरप्रदेश प्रहरीले मुद्दा अनुसन्धान गर्दा उनीमाथि शंका गरे पनि पछि शंकाको घेरामा राजेश तलवार परे। राजेशले छोरी आरुषी र हेमराजलाई आपत्तिजनक अवस्थामा देख्दा आवेगमा आई हत्या गरेको निष्कर्ष प्रहरीले निकालेको थियो।
यो मुद्दा सिबिआईको जिम्मामा पुगेको थियो। २६ नोभेम्बर २०१३ मा सिबिआईको तल्लो अदालतले तलवार दम्पतीलाई दोषी ठहर गरेको थियो। यसको पछाडि प्रहरीले दाबी गर्दै आएको एउटै तर्क थियो- आपत्तिजनक अवस्थामा देखेपछि तलवार दम्पतीले छोरीसहित कामदार हेमराजको हत्या गरे।
३० महिनाको अनुसन्धानपछि सिबिआईले डिसेम्बर २०१० मा अदालतमा प्रतिवेदन पेश गरेको थियो। घटनाको साक्षी नभएकाले कसले हत्या गरेको भनी यकिन भन्न नसकिएको प्रतिवेदनमा उल्लेख थियो। तर त्यसलाई खारेज गर्दै सिबिआई कोर्टले दुवैलाई दोषी ठहर गरेको थियो। यो फैसलाविरुद्ध तलवार दम्पती इलाहावाद हाइकोर्ट पुगेका थिए।
यो प्रकरण अब सर्वोच्च अदालत पुगेको छ। हत्याकाण्डको दोषी को हो ? सर्वोच्चको अन्तिम निर्णयले नै यसको टुंगो लगाउनेछ।
बिबिसी हिन्दीबाट