धरान/प्रतिनिधि र प्रदेश सभाको आयु छोटिँदै जाँदा राजनीति रस्साकस्सीको आँकलनहरु थप चाँख लाग्दो बन्दै गएको छ ।
उम्मेदवारका कारण मंसिर २१ मा हुने दोस्रो चरणको चुनाव अन्तर्गत सुनसरी क्षेत्र नम्बर १ को प्रतिनिधि र प्रदेशको चुनाव त झनै चाख लाग्दो बन्ने भएको हो । प्रतिनिधि सभामा बामगठबन्धन र लोकतान्त्रिक गठबन्धनबाट बनेका उम्मेदवारहरुको यथार्थता हेर्ने हो भने ‘गुरु र चेला’ को स्थिति छ । त्यसैले पनि क्षेत्र नम्बर १ लाई विशेष रुपमा हेरिएको छ । लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार अशोक राई आफैमा सर्वाधिक परिचित छन् । यता बामगठबन्धनका उम्मेदवार जयकुमार राई स्थानीय स्तरमा मात्रै परिचित छन् ।
तोडिएला बाम किल्ला ?
धरान ‘बाम’ हरुको सहर हो भन्नको लागि २०१५ यतादेखिको चुनावी माहौललाई हेरे काफी हुन्छ । अझ २०४८ सालको आम निर्वाचन होस् या २०७० को दोस्रो पटक सम्पन्न भएको संविधान सभाको चुनाव नै होस् । यहाँ बामले नै जित्दै आएको छ । २०६४ सालको पहिलो संविधान सभाको चुनावमा माओवादीले जितेको बाहेक अन्य चुनावहरुमा एमालेले बर्चश्व कायम गर्दै आएको छ ।
संगठनका हिसावले पनि बामगठबन्धनको तालमेलालाई दर्बिलो मान्दै आएका छन् मतदाताहरुले । तर, नेता अशोक राई भन्छन्, ‘जनता सधैभरी मोनोटोनस बोकिरहन चाहादैन । एमाले संगठनको बलले जोड गर्ने हो, जनताले परिवर्तन खोजेका छन् । नयाँ प्रतिनिधित्व खोजेका छन् । र, अहिले थपिएको वडाहरुको कारणले पनि मलाई फाइदा पुग्ने देखिन्छ ।’ तर, जयकुमार राई भने पार्टीगत संगठन र बामगठबन्धनको मतको आधारले पनि सहजै जित्ने अनुमान लगाउँछन् ।
अहिले फेरिएको स्वरुपको कारण अशोकले आफूलाई फाइदा पुग्ने दाबी गर्दै आएका छन् । तर, धरान उपमहानगरको एकदेखि २० वटै वडा, बराह नगरपालिकाको १ देखि ५ साथै रामधुनीको ६ र ७ वडा गाभिँदा बामगठबन्धनको कुल मत ४५ हजारको हाराहारीमा छ । यो क्षेत्रमा एमाले ३० हजार, कांग्रेस २४ हजार र माओवादी केन्द्र १५ हजार र संघीय समाजवादी फोरम ५ हजारको हाराहारीमा मत रहेको आँकलन गरिन्छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा कुल १ लाख २२ हजार ६९१ म्तदाता छन् । क्षेत्र १ (क) मा ६१ हजार ७ सय ५५ र १(ख)मा ६० हजार ९ सय ३६ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । |
संघीय समाजवादी फोरमका बरिष्ठ नेताका रुपमा रहेका अशोक राई एमाले पार्टीमा रहँदाको स्थितिलाई हेर्ने हो भने जयकुमारको ‘गुरु’ हुन् । जतिखेर उनी पार्टी उपाध्यक्ष थिए त्यो बेलामा जयकुमारको स्थिति नगरको नेतामा सिमित थियो । यस हिसाबले पनि अशोक र जयकुमारको प्रतिनिधि सभाको रस्साकस्सीलाई रोचक तरिकाले हेरिएको छ । पहिलो पटक केन्द्रीय स्तरको भिडन्तमा उत्रिएका जयकुमारको चुनावी मैदान परिचित मैदान हो भने थुप्रै पटक केन्द्रीय स्तरमा पहुँच राखिसकेका अशोकको लागि यो क्षेत्र नयाँ मैदान हो । तर, उनले राजनीति रुपमा सुपरिचित ठाउँ हो । खोटाङको चुनावी मैदानबाट एकैपटक धरानको मैदानमा झरेकाले उनलाई यो मैदान केही सकस हुने खतरा पनि उत्तिकै छ ।
किनकी यो क्षेत्र २०४८ सालदेखि नै बामगठबन्धनले राज गर्दै आइरहेको छ । त्यो हिसावले पनि जयकुमारलाई केही सहज हुने देखिन्छ । र, एमाले र माओवादी केन्द्रको चुनावी तालमेलले पनि उनलाई सहजता हुने देखिन्छ । तर, केन्द्रसँग पहुँच राख्न सक्ने त्यसमा पनि परिचित अनुहार भएकाले अशोकले पनि यो मैदानमा ‘ताकत’ देखाउँने छ । धरानले सधै राजनीतिक प्रभाव राख्ने शक्तिशाली नेताहरु जन्माउन नसकेको आरोपहरु खेप्दै आएको छ । यो हकमा अशोकलाई केही भोटहरु जाने सम्भावना पनि छ ।
तर, यसलाई चिर्दै जयकुमार भन्छन्, ‘धरान हरेक क्षेत्रमा अघि भए पनि यहाँ नेतृत्वको खडेरीका कारण ओझेलमा परेको छ । धरानको समग्र विकासका लागि आफ्नो नेतृत्व काफी हुन्छ ।’ एयरपोर्ट निर्माण, बसपार्क स्थानान्तरण, धरानलाई हरियाली बनाउने मात्रै हैन, धरानलाई प्रदेशको राजधानीसम्म बनाउने उनको मूख्य एजेण्डा छ । त्यसो त, अशोकको एजेण्डा पनि यो भन्दा फरक छैन् । उनले यहाँको आर्थिक गतिविधि उद्योगधन्दा, व्यापारलाई पर्यटन उद्यमसँग जोडेर विकास गर्ने लक्ष्य राखेका छन् । ‘पूर्वाञ्चलको पर्यटन केन्द्रको रुपमा यसलाई विकास गर्नुपर्छ । एजुकेसन र हेल्थको केन्द्रको रुपमा विकास गर्नुपर्छ ।’ उनले भने ।
प्रदेशको राजधानी यही क्षेत्रमा ल्याउने मात्रै हैन, त्यो हुन नसके पनि यहाँको आर्थिक, सामाजिक अवस्थालाई नजिकबाट पहिचान गर्न सक्ने अवस्थाको सिर्जना गर्ने पक्षमा उनी छन् । त्यही आधारमा पनि आफ्नो बलियो पकड रहने उनको दाबी छ ।
प्रदेश सभामा पनि उस्तै
प्रतिनिधि मात्रै हैन, प्रदेश सभाको चुनाव पनि उत्तिकै रोचक हुने देखिएको छ । बामगठबन्धनको ‘क’ बाट प्रदीप भण्डारी र ‘ख’ बाट भीम आचार्य छन् । आचार्य आफैमा प्रभावशाली मात्रै हैन, पूर्व पर्यटन मन्त्रीसमेत हुन् ।
यता लोकतान्त्रिकबाट ‘क’ मा किशोर राई र ‘ख’ मा बुद्धि कट्वाल छन् । स्थानीय स्तरमा किशोरको प्रभाव राम्रो हुँदाहुँदै पनि पार्टीको गुटबन्दीका कारण प्रदीपलाई सहज हुने अनुमान मतदाताहरु लगाउँछन् । यता आचार्यलाई ‘ड्यासिङ’ दिने गरी लोकतान्त्रिकबाट साझा उम्मेदवारको रुपमा बुद्धिको नाम अग्रपंक्तिमा सारिएको छ । उनको क्षेत्रका जनता असन्तुष्ट भएका कारण पनि आचार्यलाई केही असहज हुने मतदाताहरु बताउँछन् । तर, उनी भन्छन्, ‘‘जनता असन्तुष्ट छन् भन्ने मलाई लाग्दैन । मेरो कामप्रति र मैले गरेको विकास निर्माणप्रति खुसी छन् ।’ उनले प्रदेशकै समृद्धिका लागि आफूले भूमिका खेल्ने दाबी गरेका छन् ।
प्रदेश ‘क’ का उम्मेदवार भण्डारीले क्षेत्र नम्बर १ मा थाती रहेका कामहरु पूरा गर्ने प्रतिवद्धता गरेका छन् । एमालेका जिल्ला सचिवालय सदस्यसमेत मानिने उनी केन्द्रमासमेत पहुँच राख्ने नेतामा गनिन्छन् । त्यसो, त किशोर स्थानीय स्तरमा जति भिजेका छन् । पार्टीगत गुटका आधारमा पनि सिधै पार्टी सभापतिसँग पहँुच राख्न सक्ने नेता मानिन्छन् । पूर्व नगर सभापति रहेकाले मात्रै नभई उनी धरान फुटबल क्लवका अध्यक्ष भएका हिसावले पनि खेलकुदमा युवाहरुको निकट मानिन्छन् ।