धरान । जेन जी आन्दोलनको नाममा व्यक्तिको घर तथा होटल तोडफोड गरेको आरोपमा १२ जनाविरुद्ध बिहीबार प्रहरीमा उजुरी दिइएको छ ।
धरानका विभिन्न राजनीतिक दलमा आबद्ध रहेका व्यक्तिहरूको घरमा तोडफोड गरेको आरोपमा इलाका प्रहरी कार्यालय धरानमा १२ जनाविरुद्ध किटानी जाहेरी दिइएको हो । धरानका पूर्व उपप्रमुख मञ्जु भण्डारी सुवेदी, पूर्व सङ्घीय सांसद् जयकुमार राई, नेपाली काङ्ग्रेसका कोशी प्रदेशका महामन्त्री उमेश थापा, सुनसरी १ नम्बर क्षेत्रीय सभापति सुजेन्द्र गोले, धरान–१५ की वडासदस्य सिर्जना नेपाल र उपप्रमुख भण्डारीको घरमा भाडामा बस्ने सुनिता पोखरेलले व्यक्तिगत उजुरी दिएका हुन् । पोखरेलबाहेक सबैले १२–१२ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् भने पोखरेलले २ जनाविरुद्ध किटानी जाहेरी दिएकी हुन् । “मैले दुईजनालाई मात्रै चिनेको थिएँ, त्यसैले दुईजना विरुद्ध उजुरी दिएको छु”–उनले फोनवार्तामा भनिन् ।
भदौ २३ र २४ गते जेन जी आन्दोलन भएको थियो । त्यसमध्ये दोस्रो दिन भदौ २४ गते जेन जी आन्दोलन समाप्त भएपश्चात् जेन जी आन्दोलनको नाममा व्यक्ति व्यक्तिको घरमा पुगेर तोडफोड, आगजनी, लुटपाट तथा चोरीडकैती गरिएको थियो । सोही क्रममा पूर्व उपप्रमुख भण्डारी, सांसद् राई, महामन्त्री थापा, क्षेत्रीय सभापति गोले, वडासदस्य नेपाल र भाडामा बस्दै आएकी पोखरेलको घरमा क्षति पु¥याइएको थियो । यस्तै पूर्व नगर प्रमुख मनोजकुमार मेन्याङ्बोको होटल कञ्चनजङ्घामा आगजनी, तोडफोडसहित लुटपाट गरिएको थियो । यस्तै धरानको भाटभटेनी सुपरमार्केटमा पनि आगजनी गरी क्षति पुर्याइएको थियो ।
पूर्व सङ्घीय सांसद् राईले भने, “जेन जी आन्दोलनको नाममा आगजनी तथा तोडफोड गरिएकाले न्यायिक छानबिन होस् भन्ने तरिकाले उजुरी दिएका छौँ ।” उनका अनुसार व्यक्तिगत उजुरी दिए पनि सामूहिकरूपमा गई उजुरी दिएको बताए । उनले भने, “पहिचान भएका १२–१३ जना विरुद्ध उजुरी दिएको छु ।” उनका अनुसार आफ्नो घरमा पाँच लाख ३९ हजार रुपैयाँ बराबरको क्षति मूल्याङ्कन गरिएको छ । जेन जी आन्दोलनको मुख्य उद्देश्य भ्रष्टाचारको समूल नष्ट साथै जवाफदेहिता र सामाजिक सञ्जाल बन्द गर्दा विकल्प दिई बन्द गर्नुपर्ने माग राखेर आन्दोलन गरेका थिए । तर, आन्दोलनको दोस्रो दिन पार्टी कार्यालय तथा घर–घरलाई लक्षित गर्दै आगजनी तथा तोडफोड गरेका थिए । कतिपय स्थानमा लुटपाटसमेत गरिएको थियो ।
“जेन जीको नीति तोडफोड गर्ने र आगजनी गर्ने होइन । जेन जीले हाम्रो उद्देश्य त्यो होइन भनेकै थिए । त्यसकारण घुसपैठ भएको छ” उनले भने, “घर–घरमा गई आतङ्क मच्चाउने काम भएको छ ।” उजुरीकर्तामध्येका सुजेन्द्र गनेले तामाङका अनुसार १२ जना विरुद्ध उजुरी दिइएको छ । उनले चोरीडकैती, लुटपाट, आगजनी र तोडफोडमा उजुरी दिएको बताए । तोडफोड तथा लुटपाटमा आफ्नो घरमा २३ लाख ९७ हजार रुपैयाँ बराबरको क्षति भएको बताए । “पाँच तोलाको आमाको क्वीन रानी हार लुटपाट भएको छ”–उनले भने । यस्तै पूर्व नगर उपप्रमुख मञ्जु भण्डारीले क्षतिको मूल्याङ्कनसहित उजुरी दिएको बताइन् । उनका अनुसार ५६ लाख ५० हजार रुपैयाँ बराबरको क्षतिको मूल्याङ्कन गरिएको थियो । “हाम्रो घरमा त सबैकुरा नै तोडफोड भएको छ । दुई पटक त आगजनीको प्रयास नै गरिएको थियो” भण्डारीको पति मुरारी सुवेदीले फोनसम्पर्कमा भने, “भाडामा बस्नेकोमा पनि क्षति पुर्याएको छ । भाडामा बस्दै आएकी सुनिता पोखरेलले पनि क्षतिको मूल्याङ्कन गरी उजुरी दिएको बताइन् । यता उजुरीकर्तामध्येकै सिर्जना नेपालले १२ जनाविरुद्ध उजुरी दिएको बताइन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगूका अनुसार मञ्जु भण्डारीसहित ६ जनाले व्यक्तिगतरूपमा उजुरी दिएका छन् । उजुरीका विषयमा अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढ्ने उनले जानकारी दिए । गत मङ्गलबार पूर्व नगर प्रमुख मनोजकुमार मेन्याङ्बोले क्षतिको विवरणसहित १० जनाविरुद्ध उजुरी दिएका थिए । पार्टी कार्यालयहरू तोडफोड भएकोमा क्षतिको मूल्याङ्कन गरी आउँदो आइतबार उजुरी दिने तयारी भएको छ ।
































