धरान । सुनसरीको वराहक्षेत्रमा नहरमा डुबेर एक महिलाको मृत्यु भएको छ । वराहक्षेत्र नगरपालिका–८, सालबन्दीस्थित नहरमा बिहीबार बिहान ३३ वर्षीया नेत्रकुमारी राई मृत अवस्थामा भेटिएकी हुन् । 

उनी वराहक्षेत्र नगरपालिका–९, राजाबासवासी रहेको प्रहरीले जनाएको छ । अविवाहित रहेको तथा मानसिक सन्तुलन गुमाएकी उनको मृत अवस्थामा शव फेला परेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट इन्स्पेक्टर दिवस कुँवरको टोली घटनास्थल पुगेर शवको मुचुल्का गरेको थियो ।

शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । पोस्टमार्टमपश्चात् शव दिउँसो उनकी भाउजु कविता राईले बुझेर लगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।