शनिश्चरे/मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा दुवै निर्वाचनमा मोरङमा बाम गठबन्धनको वर्चस्व रहने अवस्था देखिएको छ । प्रतिनिधिसभातर्फ ६ र प्रदेशसभातर्फ १२ निर्वाचन क्षेत्र रहेको मोरङमा बाम गठबन्धनको मत अगाडि भएको स्थानीय तहको निर्वाचन मत परिणामले देखाएको छ । ५ (ख) मा संघीय समाजवादी फोरम केही बलियो देखिएको बुझिएको छ । त्यहाँ वाम गठबन्धन, कांग्रेस समेत गरी त्रिपक्षीय रोचक प्रतिष्पर्धा हुने देखिएको छ । सोही मत परिणामअनुसार क्षेत्र नम्बर ४ को पुरै र ६ को (क) मा केही मतले नेपाली कांग्रेस र १, २, ३ र ४ नम्बर क्षेत्रमा ठूलै मत अन्तरले बाम गठबन्धन अगाडि रहेको देखिन्छ ।

प्रतिनिधिसभाजस्तै प्रदेशसभातर्फका १२ निर्वाचन क्षेत्रमध्ये पनि दुई तिहाई क्षेत्रमा बाम गठबन्धन अगाडि रहेको देखिएको छ । १२ मध्ये ८ क्षेत्रमा बाम गठबन्धन अगाडि छ भने नेपाली कांग्रेस ३ र संघीय समाजवादी फोरम १ स्थानमा अगाडि रहेको देखिन्छ । ‘ती ठाउँमा पनि बाम गठबन्धनलाई कसिलो बनाएर जित्ने रणनीतिक अभियानमा हामी लागेका छौं ।’– एमाले जिल्ला अध्यक्ष विनोद ढकालको भनाई छ । बाम गठबन्धनको अर्काे साझेदार माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोपी अछामीले पनि ढकालसँग मिल्दो जुल्दो धारणा व्यक्त गर्दै बाम गठबन्धनको परिमाणले सत प्रतिशत नतिजा निकाल्ने आशा व्यक्त गरेका छन् । उनले भने ‘दुवै सभाको कुल १८ सिटमा १२ सिट गठबन्धनको, ५ कांग्रेसको र १ फोरमको बलियो अवस्था देखिएको छ । हामी १२ वटालाई सुरक्षित गर्दै थप ५ वटा जित्ने रणनीतिक कार्ययोजना बनाएर अघि बढेका छौं ।’

उता कांग्रेसका जिल्ला सभापति डिगबहादुर लिम्बूले भने क्रिकेटमा छक्काको ठूलो महत्व हुने प्रसंग अघि सार्दै भने ‘यसपाली कांग्रेसले छक्का हान्छ ।’ स्थानीय तहको मत परिणामलाई आधार मान्दा कांग्रेस अलि कमजोर देखिएपनि दिनरात मतदाताहरु कांग्रेसको पक्षमा बढिरहेको उनको दावी छ । स्थानीय तहको मत परिणामले भनें प्रदेशसभातर्फ क्षेत्र नम्बर १ को दुवै, २ को दुवै, ३ को दुवै, ५ (क) र ६(ख) मा बाम गठबन्धन बलियो देखिएको छ । यस्तै क्षेत्र नं. ४ को दुवै र क्षेत्र नं. ६(क) मा नेपाली कांग्रेस बलियो रहेको छ । क्षेत्र नं. ५(क) मा भने संघीय समाजवादी फोरम बलियो बन्ने देखिन्छ । जो स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षहरुले पाएको मत परिणामको आधार हो । सो मत परिणामलाई विश्लेषण गर्दा क्षेत्र नं. १ (क) मा बाम गठबन्धनको १६ हजार ७ सय १८ र कांग्रेसको ११ हजार ४ सय ५० मत रहेको छ । सो क्षेत्रमा बाम गठबन्धनबाट माओवादीका कुलप्रसाद साम्बा ( कुशल) र कांग्रेसबाट ललित अधिकारी उम्मेदवार रहेका छन् । क्षेत्र नं. १(ख) मा बाम गठबन्धनको १६ हजार ४ सय ५२ छ भने कांग्रेसको १२ हजार १ सय ७६ मत रहेको थियो । सो क्षेत्रमा बाम गठबन्धनबाट एमालेका उपेन्द्र घिमिरे र कांग्रेसबाट इश्वरी कोइराला उम्मेदवारका रुपमा प्रतिष्पर्धामा उत्रिएका छन् ।

क्षेत्र नं. २(क) मा बाम गठबन्धनको १३ हजार ६ सय ५७ र कांग्रेसको ११ हजार ३ सय ११ मत रहेको छ । सो क्षेत्रमा बाम गठबन्धनले माओवादी केन्द्रका गणेश उप्रेती र कांग्रेसबाट शिवनारायण गनगाईलाई उम्मेदवार बनाएको छ । क्षेत्र नं. २(ख) मा बाम गठबन्धनको मत १४ हजार ८ सय ८३ र कांग्रेसको ११ हजार ४० रहेको छ । सो क्षेत्रमा बाम गठबन्धनबाट एमालेका लिलाबल्लभ अधिकारी र कांग्रेसबाट फडिन्द्रबहादुर कुँवर उम्मेदवार छन् । प्रदेशसभातर्फकै निर्वाचन क्षेत्र नम्बर ३ (क) मा बाम गठबन्धनबाट माओवादीकी गीता तिम्सिना र कांग्रेसबाट सुर्यमाराज राई प्रतिष्पर्धाका लागि उत्रिएका छन् । त्यहाँ बाम गठबन्धनको २१ हजार २५ र कांग्रेसको १० हजार १ सय ७८ मत रहेको छ । ख क्षेत्रमा बाम गठबन्धनको २१ हजार ६ सय ३३ र कांग्रेसको १२ हजार १ सय २८ मत रहेको छ । सो क्षेत्रमा बाम गठबन्धनबाट एमालेका राजकुमार ओझा र कांग्रेसबाट ललितबहादुर श्रेष्ठ उम्मेदवार छन् । यस क्षेत्रमा दोब्बर भन्दा बढी मतले बाम गठबन्धन अगाडि रहेको देखिन्छ । क्षेत्र नम्बर ४(क) मा बाम गठबन्धनको १३ हजार ७ सय ३८ र कांग्रेसको १५ हजार १ सय ७५ मत रहेको देखिन्छ । त्यहाँ बाम गठबन्धनबाट माओवादीका विजय विश्वास थारु र फोरम लोकतान्त्रिकबाट भर्खरै पार्टी प्रवेश गरेका कांग्रेसका भक्तिनाथ माझी उम्मेदवार छन् । क्षेत्र नं. ४(ख) मा बाम गठबन्धनको ९ हजार २ सय ७७ र कांग्रेसको ९ हजार ९ सय ६८ मत छ । त्यहाँ बाम गठबन्धनबाट एमालेका जीवन घिमिरे र कांग्रेसका विश्वनाथ रिजाल प्रतिष्पर्धामा छन् । त्यहाँ कांग्रेसको मत बढी देखिन्छ । यसैगरी, क्षेत्र नंम्बर ५(क) मा बाम गठबन्धनको १२ हजार १ सय ५४, कांग्रेसको ८ हजार ७ सय ४४ र संघीय फोरमको ४ हजार ५ सय ४४ मत छ । आफ्नो पक्षमा जित हाँसिल गर्ने प्रतिष्पर्धाा लागि बाम गठबन्धनबाट एमालेका ज्ञानेश्वर राजवंशी, कांग्रेसका सुकदेवप्रसाद मण्डल र संघीय फोरमका विजयकुमार सिंह उम्मेदवार बनेका छन् । ५(ख) मा बाम गठबन्धनको ८ हजार १ सय ७, कांग्रेसको ७ हजार ६ सय ९७ र सवैभन्दा बढी संघीय फोरमको ९ हजार २ सय ६० मत छ । सो क्षेत्रमा बाम गठबन्धनबाट माओवादीका सुभान मियाँ, काँग्रेसका राजेशकुमार गुप्ता र संघीयका जयराम यादव उम्मेदवार छन् ।

क्षेत्र नम्बर ६(क) मा बाम गठबन्धनको १७ हजार ४ सय २६, कांग्रेसको २० हजार ३ सय ७७ र संघीयको २ हजार १९ मत छ । त्यहाँ बाम गठबन्धनबाट माओवादीका जीवन आचार्य, कांग्रेसका चुमनारायण तवदार र संघीयका नीरा भगत उम्मेदवार बनेका छन् । जहाँ कांग्रेसको बढी मत देखिएको छ । ६ (ख) मा बाम गठबन्धनको ८ हजार ९ सय ५४, कांग्रेसको ७ हजार १ सय २६ र संघीयको ३ हजार ८ सय २२ मत प्राप्त गरेको स्थानीय तह निर्वाचनको तथ्यांकले देखाउँछ । सो क्षेत्रमा बाम गठबन्धनबाट एमालेका रमेश पोखरेल, कांग्रेसका केदार कार्की र संघीयका श्यामकुमार कामत उम्मेदवार बनेर निर्वाचन प्रचार प्रसारको अभियानमा भोट माग्न थालेका छन् ।