धरान/पहिचान र अधिकारको लागि ज्यानको आहुती दिएका शहिद तथा घाइते परिवारले राज्य र पार्टीबाट न न्यायको अनुभूति गरको छन् न त क्षतिपूर्ती नै पाएका छन् ।
[caption id="attachment_59550" align="alignnone" width="979"]
मधेश अान्दाेलनकाे क्रममा घाइते ।[/caption]
साविक इनरुवा–६ हाल ४ का जगरलाल मण्डलको परिवारले न्यायको महसुस अझै गर्न सकेका छैनन् । २०६३ साल माघ ५ गतेदेखि उठेको पहिलो मधेश आन्दोलनको क्रममा माघ १८ गते मण्डलको दाहिने हात, पेटमा गोली लागेको थियो । अहिले मण्डलको दाहिने हातले काम गर्दैन । त्यो बेला हात काटेर फाल्नुपर्छ भनेको थियो । तर, पिता धनपति मण्डलले छोराको बिहेबारी नभएकाले काट्न मानेनन् । एकमहिना कोमामा राखेर उनी जसोतसो बाँचे । उपचारमा सात लाख रुपैया खर्च भयो । तर, न त्यसको क्षतिपूर्ति राज्यपक्षबाट पाएका छन् । न त पार्टीहरुले नै उनलाई राहत दिने कुरा गरेको छ ।
‘पार्टीलाई त कतिपटक रिक्वेष्ट गरे । तर, सुनेन । कम्तीमा राज्यले केही गरिदिए हुन्थ्यो ।’ पिता धनपतिको गुनासो छ, ‘अहिलेसम्म क्षतिपूर्तिसम्म दिएन ।’ उनीहरुले जिल्ला प्रशासनमार्फत् कागजातहरु २०६३ सालमा नदिएका होइनन् । तर, त्यो कागजपत्रहरु कता पुगे त्यसको नाम निशान छैन् । ‘सरकारबाट पनि केही सुनुवाई भएन ।’ घाइते जगरलाल भन्छन्, ‘अव त हामीलाई आशा नै मरिसकेको छ ।’ उनी मात्रै हैन, इनरुवा २, साविकको ८ का रामी महतोको हालत उस्तै छ । उनलाई पनि माघ १८ कै दिन बिहीबारे हटियामा प्रहरीको तर्फबाट फायरिङ हुँदा गोली लागेको थियो । पेट छेडेर गोली निस्कियो ।
[caption id="attachment_59551" align="alignnone" width="918"]
मधेश अान्दाेलनका घाइते ।[/caption]
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई साल उपचार गराए । १५ दिन आइसियु (सघन उपचार कक्ष) मा उपचार गर्नुप¥यो । अहिले गहुंगो भारी बोक्न, काम गर्न सक्दैनन् । काम गरेर खानुपर्ने ज्यान अहिले गोलीकै कारण कुजिएका छन् । ‘हामी केही काम गर्न सक्दिन ।’ उनले भने, ‘कमाएर खाने मान्छेको यस्तो हालत भएको छ ।’ उनले क्षतिपूर्ति त के उपचार खर्च पनि पाएनन् । पाएको उपचार खर्च पनि स्थानीय नेता शिवनारायण (एसएन) मेहताले खाएको उनको आरोप छ । क्षतिपूर्तिको लागि जिल्ला प्रशासनमा संर्घष गरे । पार्टीलाई गुहारे । तर, केही लागेन । त्यसो त, क्षतिपूर्ति पाउँ भन्दै जिल्ला प्रशासनमा निवेदन पनि नदिएका होइनन् । आएको ६० हजार, ६ सय ६६ रुपैया क्षतिपूर्ति पनि तत्कालीन जिल्ला अध्यक्ष मेहताले खाइदिएको आरोप उनको छ ।
‘राज्यबाट आएको थियो, तर, पार्टीले खाइदियो ।’ महतो दुखेसो गर्छन् । राज्यले केही गरिदिए बालबच्चाको गुजारा हुन्थ्यो कि भन्ने आशा त छ । तर, देला भनेर उनलाई विश्वास रत्तिभर छैन् । माघ १८ को आन्दोलनको क्रममा सुनसरीको इनरुवा, दुहवी क्षेत्रहरुमा करिव ७८ जना आन्दोलनकारी, गैरआन्दोलनकारीहरु घाइते भएको इनरुवाका पत्रकार जयकृष्ण यादव बताउँछन् । तर, शान्ति तथा पुनर्निमाण मन्त्रालयले प्रकाशित गरेको पुस्तकमा ३२ जना मात्रै छ । घाइते हुनेहरुले क्षतिपूर्ति कमै मात्रले पाएका छन् । ‘कतिपयले अहिलेसम्म न त राज्यबाट एक रुपैया पाएका छन् । न त पार्टीबाट ।’ उनी भन्छन् ।
त्यसैमध्येका एक इनरुवा–२ का विपिनकुमार साह पनि हुन् । कुनै पार्टीमा संलग्न नभए पनि पार्टीको उर्दीमा उनी आन्दोलनमा सहभागी बनेका थिए । उनको पनि पेटमा गोली लागेको थियो । तर, गोली खाएका साहले तत्कालीन समयमै पनि पार्टीबाट भनेजस्तो सहयोग पाएनन् । क्षतिपूर्तिको त कुरै भएन् । अहिलेसम्म पनि क्षतिपूर्ति त के सोध्नसमेत आउँदैन । ‘पार्टीमा ढाँट्ने प्रवृति हेरियो ।’ उनी भन्छन्, ‘नेताहरुले हामीले युज ग¥यो । आएको क्षतिपूर्ति पनि अध्यक्ष मेहताले खाएको हाँकाहाँकी बताउँछन् । ‘आन्दोलनको नाममा भजाई–भजाई खाएँ ।’ उनी भन्छन् ।
तर, यो आरोपलाई एसएन सिधै नर्काछन् । ‘मैले कसरी खाए, सिडिओ अफिसले तीनपुस्ते डकुमेन्ट हरेर मात्रै कार्यालयले पैसा दिन्छ । कसरी एसएनले खान्छ ?’ एसएनले हाँकाहाँकी भने, ‘हामीले पहल गरिदिने हो । घाइतेलाई नै दिने सिस्टम थियो । यो सबै बदनाम गर्ने नियत हो ।’ उनले जगरलाल र रामीले पाएको सिडियो कार्यालयमा रेकर्डै रहेको दाबी गरे । उनलाई पार्टीसँग चाही कागजपत्रहरु छैनन् ? भन्ने जिज्ञासामा उनले कागजपत्रहरु रहेको तर, कार्यालयहरु परिवर्तन भएकाले सबै कता कता पुगेको बताए । तर, खोज्दा भेटिने प्रस्ट पारे ।
शहिद परिवारको पनि उस्तै
मधेश आन्दोलनको क्रममा साहदत प्राप्त गरेका इनरुवा–२ का हरि मेहताले राज्यबाट प्राप्त गर्ने १० लाख क्षतिपूर्ति त पाए । तर, छोरा गुमाएका पीडित परिवारले राज्य र पार्टीलाई प्रश्न गर्छन्, ‘मेरो छोराको मूल्य १० लाख हो ?’ छोरा शहिद भएको पीरले बुबा बिधिलाल मेहताले पनि केही वर्षपछि मृत्यु भयो । ‘छोरा बितेको सकले गर्दा त्यो दिनदेखि बिरामी भइरहेको थियो ।’ शहिदका आमा तथा विधिकी श्रीमती देवकी मेहता भन्छिन् ।
[caption id="attachment_59552" align="alignnone" width="979"]
सहिद हरि मेहताकी अामा देवकी मेहता अाफ्नाे छाेराकाे शहिद प्रमाण पत्र देखाउँदै ।[/caption]
पार्टीले उनको परिवारलाई आश्वासनको पोका फालेका थिए । राज्यले एकजनालाई जागिर दिन्छ । शिक्षाका सहुलियत दिन्छ । तर, यस्ता आश्वासन हालसम्म पनि प्राप्त भएको छैन् । यतिसम्मकी उनको परिवारले शहिद परिचय पत्रसमेत प्राप्त गरेका छ्रैनन् । त्यसका लागि कागजपत्र सबै बनाएर सिडिओ कार्यालयमा बुझाएका छन् । पटक पटक काम थाती राखेर धाएका छन ्। तर, शहिद परिचय पत्र पनि हात लागेको छैन् । उनीहरुको प्रश्न छ, ‘गरिव दुःखीलाई के दिन्छ ?’ शहिद हुने अर्का श्यामसुन्दर मेहताको परिवारले सबै पाएको उनीहरुको दाबी छ । परिचय पत्र मात्रै हैन, शहिदको नाममा स्कुल राख्ने भनिएको थियो । शहिद गेट पनि राख्ने भनिएको थियो । त्यो चाही बल्ल बनेको छ । त्यसमा पनि हरि मेहता र श्यामसुन्दरको शालिक मात्रै छ । अन्यको त्यसमा अटाइएको छैन् ।
तर, अहिलेसम्म हरि मेहताको पहिचान हुने कुनै स्कुल छैन् । यता श्यामसुन्दरको नाममा स्कुल मात्रै छैन् । परिवारले क्षतिपूर्ति पनि राम्रैसँग पाएको मधेशी नेताहरु नै बताउँछन् । राजनीतिक पहुँचकै कारण पनि शहिद श्यामसुन्दरको परिवारले अन्यले भन्दा बढी सुविधा पाएका थिए । त्यसो त, शहिद श्यामसुन्दरका पिता शिवनारायण राजनीतिमा पहुँच राख्थे । उनी आफै पनि राजनीतिमा सक्रिय थिए । त्यही सक्रियताको कारणले उनले पाउने सुविधाहरुबाट बन्चित बनेनन् । यता हरिका कोही थिएनन् । न त राजनीतिमा नै आवद्ध थिए ।
२०६३ फागुन १५ गते साहदत प्राप्त गरेका दुहवी–६ पुरानोबजारका विस्कुट मियाँको परिवारवले त क्षतिपूर्तीवापतको १० लाख रुपैया बाहेक केही पाएका छैनन् । न उनको नाममा स्कुल भएको छ । न, सालिक नै । न अन्य सुविधा नै । परिचय पत्रको त कुरै छैन् । ‘शहिद परिवारलाई वेवस्ता गरेको छ ।’ शहिदका आमा मुसनी खातुन आँखाभरी आँशु बहाउँदै भन्छिन्, ‘शालिक बनाउन खोजेको थियो । त्यसको लागि यहीँका मान्छेहरुले विरोध गरेँ । त्यसपछि बन्न दिएनन् ।’
शहिद परिवार हो भनेर केही पनि ‘निशाना’ नदिएको मुसनी बताउँछिन् । उनको परिवार मात्रै हैन, २०६४ माघ १३ गते साहदत प्राप्त गरेका छिटाहा–९ दिघियाटोलका अनिल ऋषीदेवको परिवारले राज्यबाट पाउने १० लाख क्षतिपूर्तिसमेत पाएका छैनन् । राज्यसँग न त पार्टीसँगै सिधा पहुँच हुन नसक्दा ऋषीदेव परिवार अहिलेसम्म सुन्य उपलब्धी हासिल गरेका छन् । त्यस्तै २०६४ जेठ १९ गते साहदत भएका रामनगर भुटाहा–२ का गंगादास तत्माले पनि शहिदको नामको १० लाख क्षतिपूर्ति अहिलेसम्म पनि हात लागेको छैन् । स्थानीय नेता एसएन मेहता भन्छन्, ‘ऋषीदेव र तत्माको परिवारले अहिलेसम्म केही पाएको छैन् ।’
एउटा तितो थर्थाथ त के भने, ज–जसले जीवन गुमाए, घाइते भए उनीहरु केही मुद्दाहरुमा सहमत भए पनि उनीहरुको आन्दोलनकारी दलहरुसँग प्रत्यक्ष सम्बन्ध थिएन । मधेश आन्दोलनको क्रममा २०६३ माघ ५ यतादेखि हालसम्म सय भन्दा बढीले साहदत प्राप्त गरिसकेका छन् । तर, अझै ती सहिद परिवारहरुले खोजेजस्तो सपना पूरा हुन सकेको छैन् । मधेशी सहिद रमेशकुमार महतो स्मृति प्रतिष्ठानले २०६९ माघ ५ गते प्रकाशन गरेको ‘स्मारिका बलिदानी’ का सम्पादक तथा अधिवक्ता सनिशकुमार दत्त लेख्छन्, ‘मधेश आन्दोलनको बलले सत्तामा मधेशी पुगे पनि उनीहरुलाई त्यहा पु¥याउन भ¥याङ बनेका र आफ्नो ज्यान बलिदानी दिएका शहिदका परिवारका सदस्यहरु अझै बिचल्लीपूर्ण अवस्थामा छन् ।’
उनी थप लेख्छन्, ‘के राज्य मात्र सहिद घोषणा गरिदिएर आफ्नो दायित्वबाट मुक्त हुन मिल्दछ ? के सहिद परिवारका सदस्यहरुप्रति राज्यको कुनै दायित्व छैन् ? के राजनीति दलहरु उसका नेतृत्वकर्ताको सहिद परिवारप्रति कुनै जवाफदेही हुन्न ?’ तत्कालीन समयमा आन्दोलन परिचालन कमिटी तथा मधेशी जनअधिकार फोरम नेपालका अध्यक्षसमेत रहेका मेहताले पार्टीले पहल गरेकै कारण इनरुवामा सहिद गेट बनेको बताए । तर, सरकार परिवर्तन भइरहने कारणले कतिपयले राहत र क्षतिपूर्ति नपाएको भने स्वीकारे । ‘सरकार चेन्ज भइरहने कारणले पनि यो समस्या भयो । मेरो पद पनि गयो ।’ उनी भन्छन् ।
मधेश आन्दोलनमा क्रममा घाइते, अङभङ भएकाहरु तथा सहिद परिवारले परिचय पत्र किन पाएनन् भनेर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीलाई प्रश्न गर्दा उक्त कार्य शान्ति तथा पुननिर्माण मन्त्रालय अन्तर्गत रहेकाले पनि आफ्नो क्षेत्राधिकार भन्दा बाहिर रहेको बताए । उनले जिल्ला प्रशासनलाई घाइते परिवारको परिचय पत्र दिने अधिकार नभएको प्रष्टाए । यस विषयमा उनले स्थानीय शान्ति समितिलाई बुझ्नको लागि भन्दै शाखा अधिकृत नविन भण्डारीको फोन नम्बर दिए । शाखा अधिकृत भण्डारीले मधेश आन्दोलनको विषयमा आफू पदभार सम्हालेयता कुनै पनि सूचनाहरु नआएको बताए । ‘म आइकन त्यस्तो केही प्नि आएको छैन् ।’ उनले भने ।
मधेश आन्दोलनमा राज्यले पनि विभेद गरेको तर्क नेताहरुको छ । पार्टीहरुले त सिँढीको रुपमा प्रयोग गरेको घाइतेहरु बताउँदै आइरहेका छन् । अव के राज्य र पार्टीले उनीहरुलाई न्याय देला त ?